नेपाल कम्युनिस्ट पार्टीद्वारा एमसीसी खारेज गराएरै छाड्ने उदघोष

२०७८ भाद्र २६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गराएरै छाड्ने उदघोष गरेको छ । सो पार्टीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले उक्त उदघोष गरेका हुन् । प्रवक्ता प्रकाण्डले एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन निर्णायक आन्दोलन आवश्यक रहेकाले आफ्नो पार्टी केन्दीय समितिको बैठक रोकेर एमसीसीबिरुद्ध संघर्षमा होमिएको बताउदै भदौ २८ गते काठमाडौँमा बिशाल जनप्रदर्शनसहित जनसभा गर्ने बताए । उनले भदौ २८ गते हुने उक्त जनप्रदशनको नेतृत्व र जनसभालाई सम्बोधन महासचिब विप्लबले गर्ने जानकारी दिदै जनसभामा देशका तमाम क्रान्तिकारी र राष्ट्रवादी दल र नेतालाई समेट्ने प्रयास भै रहेकोसमेत बताए ।


प्रवक्ता प्रकाण्डले एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभए देशको जलस्रोतलगायत अन्य प्रकृति संरक्षणको विषयसमेत रहेको बताउँदै यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताए । उनले एमसीसी संसद्बाट पास गराउने षड्यन्त्र भइरहेको बताउदै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्बाट पास गराउने मूर्खता गरे भने देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी दिए ।
प्रवक्ता प्रकाण्डले एमसीसीलाई समाजका हरेक तप्काले विरोध गर्दै आइरहेको र विरोध गर्न कोही पनि बाँकी नरहेको बताउँदै यस अवस्थामा पनि संसद्बाट पारित गराउने प्रयास भइरहेको बताउदै भने – ‘यहाँसम्म कि एमसीसीको बारेमा सत्तारुढ गठबन्धनमै विवाद भइरहेको छ, उनीहरूकै बीचमा सहमति भएको छैन । यस अवस्थामा पनि त्यसलाई पारित गराउने प्रपञ्च भइरहेको छ’ । उनले जति प्रपञ्च भएपनि नेकपा त्यसको विरुद्धमा उभिने बताउँदै संसदीय दलहरूले विदेशी सामु घुँडा टेकेको ठोकुवा गरे । प्रवक्ता प्रकाण्डले आफ्नो दल एमसीसीको विरुद्ध सङ्घर्षमा रहेको उल्लेख गर्दै एमसीसी पास गरे भने देशमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी समेत दिए ।
प्रवक्ता प्रकाण्डले भने – ‘देश धेरै अप्ठ्यारोमा छ, त्यो अप्ठ्यारो जनताले बनाएको होइन , यी राजनीतिक दलका नेताहरूका कारण देश सङ्कटको भुमरीमा फसेको हो । ‘
प्रवक्ता प्रकाण्डले सरकारसँग तीन बुँदे सहमति गरेको तर त्यो कार्यान्वयन नभएको बताउँदै नेपाली क्रान्तिको विरुद्ध षड्यन्त्र भएको ठोकुवा गरे। उनले तीन बुँदे सम्झौता गरे पनि आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई नछाडेको उल्लेख गर्दै आफ्ना केही नेताहरू जेलबाट कानुनअनुसार रिहा भएको र यसमा सरकारको कुनै सहयोग नरहेको बताए । उनले भने ‘माग सम्बोधन भएन भने एकपटक जनतासँग संवाद गर्छौ र फेरि आन्दोलनमा जान्छौँ । ‘हामीलाई फेरि आन्दोलनमा धकेल्ने प्रयास नगरोस् ।’


यसैगरी प्रवक्ता प्रकाण्डले भने –  ‘जनताको प्रतिनिधित्व गर्ने व्यवस्था नै वैज्ञानिक समाजवाद भएकाले जनताले आफ्नो व्यवस्था चुन्ने अधिकार पाउनु पर्छ ।  त्यसका लागि जनमत संग्रह गरौँ भनेका छौँ, यी कुरा सम्बोधन भएन भने एकपटक जनतासँग संवाद गर्छौ र फेरि आन्दोलनको आँधीबेहरी सिर्जना गर्छौ ।’

प्रवक्ता प्रकाण्डले देशमा संसदीय चुनाव होइन जनमत संग्रहको चुनाव हुनुपर्ने बताउदै संसदीय चुनाव भए देशमा विद्रोहको आगो बल्ने चेतावनी दिए । उनले  संसदीय चुनाव नभई जनमत सङ्ग्रह हुनुपर्नेमा जोड दिँदै जनमत संग्रहबाट वैज्ञानिक समाजवादको विकल्प नभएको ठोकुवा समेत गरे ।

प्रतिक्रियाहरु