चीनद्वारा तालिवान सरकारलाई तीन करोड डलर सहयोगको घोषणा

२०७८ भाद्र २४ गते, बिहीबार


काठमाडौँ । चीनले अफगानिस्तानलाई तत्कालका लागि ३ करोड १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ। तालिवान समूहले अफगानिस्तानमा सरकार गठन गरे लगत्तै बेइजिङले यस्तो सहायता घोषणा गरेको हो। अफगानिस्तानका छिमेकी देशहरुको पहिलो वैठकमा सहभागी हुँदै चीनका विदेशमन्त्री वाङ यीले चीनले अफगानिस्तानलाई ३ करोड १० लाख बराबरको खाद्यन्न, लत्ताकपडा, खोप तथा औषधीलगायतको सहयोग गर्ने घोषणा गरेका हुन्। इस्लामावादमा आयोजित सो वैठकमा चीन, पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्केमेनिस्तान, उज्बेकिस्तानका विदेशमन्त्रीहरुको सहभागीता थियो। यी सबै देश अफगानिस्तानका छिमेकी मुलुक हुन्। अफगानिस्तानप्रति सहानुभूती राख्ने अर्को छिमेकी मुलक रसिया भने वैठकमा सहभागी भएन्। विदेशमन्त्री वाङले पहिलो ब्याचमा चीनले अफगानिस्तानलाई ३० लाख कोभिड खोप अनुदान दिने बताए। चीनले अफगानिस्तानलाई अन्य आपतकालिन सामाग्री पनि उपलब्ध गराउने भएको छ। अफगानिस्तानको अर्थतन्त्र तथा समाज पुर्ननिर्माण र अतिवादी समूह तथा लागू पदार्थको गैरकानूनी ओसारपसार नियन्त्रण गर्न चीनले यस क्षेत्रका देशहरुसँग सहकार्य गर्ने जनाएको छ। तालिवान समूहले मंगलबार मुल्लाह मोहमद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको थियो। सरकार गठनलाई चीनले स्वागत गरिसकेको छ।

प्रतिक्रियाहरु