युवा संगठनद्वारा आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारविरुद्ध देशब्यापी प्रदर्शन

२०७८ भाद्र २३ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारविरुद्ध देशब्यापी प्रदर्शन गरेको छ । यसैक्रममा युवा संगठन नेपाल उपत्यका ब्यूरोले सरकारले गरेको आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारविरुद्ध काठमाडौँको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेको छ । उक्त विरोध प्रदर्शनमा बोल्दै युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य तथा निवर्तमान उपाध्यक्ष दिनेशले जनताबाट उठेको कर दलाल र भ्रष्टहरुले स्विस् बैङ्कमा लुकाएर राखेको बताए । अहिलेको सरकार र व्यवस्था विदेशीको इसारामा नाच्ने भएको हुँदा देशका जनताले सास्ती भोग्नु परेको बताए । बेरुजु भएको रकम नेता र कार्यकर्ताले मिलिजुली खाएको पनि उल्लेख गरे । दलाल संसदीय व्यवस्था रहेसम्म नेपाली युवाहरु विदेशीको गुलाम बन्नु पर्ने बाध्यता भएका कारण एकीकृत जनक्रान्तिको बाटोबाट जनताको आफ्नै व्यवस्था चुन्नको लागि जनमत संग्रह गर्नु पर्ने यदि राज्यले नमाने लाखौँ युवा र जनता सडकमा उतारी राज्यलाई बाध्य पार्ने चेतावनी दिए ।
सम्पूर्ण युवाहरु भ्रष्टाचार विरुद्धको आन्दोलनमा लाग्न पनि अपिल गरे । एमसीसी सम्झौता यदि सरकारले संसदबाट पास गरे संगठन सडकमा आउने र आन्दोलनको आधिबेहरी सिर्जना हुने चेतावनी दिए । कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने पनि बताए । सयौँ युवाहरुको र्याली रानी पोखरी परिक्रमा गरि शान्तिबाटिकामा गएर कोणसभामा परिणत भएको थियो । कार्यक्रमको संचालन उपत्यका विशेष ब्यूरो तथा ताम्सालिङ ब्यूरो इन्चार्ज सुमनले गरेका थिए ।
यसैगरी, युवा संगठन चितवनले स्थानिय निकायमा अत्याधिक मात्रामा बेरुजु रकम देखिएको भन्दै विरोध प्रदर्शन गरेको छ । महालेखा परीक्षकको कार्यालयले पेस गरेको ५८ औं ०७६र०७७ को आर्थिक प्रतिवेदनमा चितवनका स्थानिय निकायमा अत्याधिक अनियमितता र बेरुजु रकम देखिएको भन्दै भरतपुरको चौबिसकोठीमा विरोध प्रदर्शन सम्पन्न गरेको हो । यसरी कुनै स्रोत बिनै बेरुजु रकम निस्कनु अनियमितता र भ्रष्टाचारको पराकाष्ठा रहेको भन्दै युवा संगठन नेपाल, चितवनले देशब्यापी कार्यक्रम अन्तर्गत चितवनमा पनि विरोध प्रदर्शन गरेको जनाएको छ । विरोध कार्यक्रममा सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रिय सदस्य राम सेढाईले चितवनका विभिन्न सरकारी निकाय र स्थानिय निकायमा अत्याधिक मात्रामा बेरुजु निस्किएको बताउँदै राज्यले जनताले तिरेको करको उचित परिचालन नगरी भ्रष्टाचार र अनियमिततामै केन्द्रित रहेका कारण बेरुजु निस्किएको बताए । उनले विरोध प्रदर्शमा बोल्दै चितवनको एक मात्र महानगरपालिका भरतपुर महानगरपालिका मात्रै १० करोड ४२ लाख ४२ हजार भन्दा बढि बेरुजु देखिएको बताए । त्यसैगरी माडी नगरपालिकामा ३ करोड ३२ लाख ४० हजार, राप्ती नगरपालिका १ करोड ३९ लाख ५ हजार, खैरहनी नगरपालिका २ करोड ८१ लाख ५३ हजार , रत्ननगर नगरपालिकामा ३ करोड ८५ लाख ८९ हजार, कालिका नगरपालिकामा १ करोड ६ लाख १४ हजार र इच्छाकामना गाउँपालिकामा ३ करोड ४४ लाख ९८ हजार बेरुजु देखिएको बताएका छ्न् । साथै नेता सेढाईले तत्काल बेरुजु रकमको सत्यतथ्य सार्वजनिक नगरे भ्रष्टाचारीहरूलाई सडक आन्दोलनबाट घुँडा टेकाएरै छोड्ने चेतावनी दिए । उनले जनताको श्रम र पसिनाबाट राज्यको ढुकुटीमा जम्मा भएको रकम सत्तापक्षका दलालहरूले भ्रष्टाचार गरेको अहिलेको बेरुजु रकमले पनि पुष्टि गरेको बताए । संसदवादी दलका नाइकेहरूले जनताबाट उठाएको करले होटलमा मोजमस्ती गरिरहेको र यसको विरुद्ध आफ्नो पार्टीले देशव्यापी रुपमा सङ्घर्ष गरिरहेको बताए । देश र जनताको पक्षमा आवाज उठाउँदा आफूहरू बरु बलिदान गर्न तयार रहेको तर भ्रष्ट, दलाल, कमिसनखोरका विरुद्ध निरन्तर सङ्घर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बेरुजु रकम तत्काल असुल गर, भ्रष्टचारीलाई कारबाही गर, कालोबजारी नियन्त्रण गर, युवा संगठन नेपाल जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, प्रगतिशील संयुक्त सरकार निर्माण गर, जनमत सङ्ग्रह घोषणा गर लगायतका नाराहरू लगाइएको थियो ।

यता , युवा संगठन नेपाल मकवानपुरले आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार विरुद्ध हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेको छ। मंगलबार भएको कार्यक्रमको सम्बोधन गर्दै युवा संगठन नेपाल मकवानपुरका अध्यक्ष किरण अर्यालले सम्पूर्ण नागरिकका अभिभावक राज्य सरकारले गैर जिम्मेवार ढंगले आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार जस्तो जघन्य अपराध गरिरहेकोले यसका विरुद्धको आम नेपाली युवाहरूका साथै सम्पूर्ण नेपाली जनता एकजुट भई आवाज उठाउनुपर्ने बताए।जबसम्म सरकारले उच्च पारदर्शिता अपनाएर राज्य सञ्चालन गर्दैन तबसम्म विकासले उपयुक्त गति लिन नसक्ने बताए। यसरी जसको नेतृत्त्वमा राज्य सरकार सञ्चालन भए पनि सहि, स्पष्ट र असल नेतृत्व गर्न नसक्नुको कारण यो दलाल संसदीय व्यवस्था नै भएकोले अब यसको वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि आम नेपाली जनता एकजुट भएर एकचोटी जनमतसंग्रहमा जानुपर्ने बताए। यदि जनमतसंग्रहको बाटोबाट जान नपाए एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध हुँदै अघि बढ्नुपर्ने बताए।यसरी राष्ट्रिय जनसरोकार मञ्चका अध्यक्ष उमेश गुणी, मकवानपुरका जिल्ला सचिवालय सदस्य विक्रम सहितको सम्बोधनमा मंगलबार हेटौंडाको बुद्धचोकमा सम्पन्न भएको विरोध कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) मकवानपुरका कोषाध्यक्ष सुबास तामाङले गरेका थिए।
यता, युवा संगठन नेपाल, रुपन्देहीले स्थानीय निकायहरूमा भएको बेरुजु रकम र भ्रष्टाचारका विरुद्धमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार बुटवल उपमहानगर नगर कार्यपालिकाको कार्यालय अगाडि उक्त विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपाका बुटवल नगर सेक्रेटरी विरेन्द्र विकले तत्काल बेरुजु रकमको सत्यतथ्य सार्वजनिक नगरे भ्रष्टाचारीहरूलाई सडक आन्दोलनबाट घुँडा टेकाएरै छोड्ने चेतावनी दिए । उनले जनताको श्रम र पसिनाबाट राज्यको ढुकुटीमा जम्मा भएको रकम सत्तापक्षका दलालहरूले भ्रष्टाचार गरेको अहिलेको बेरुजु रकमले पनि पुष्टि गरेको बताए । संसदवादी दलका नाइकेहरूले जनताबाट उठाएको करले होटलमा मोजमस्ती गरिरहेको र यसको विरुद्ध आफ्नो पार्टीले देशव्यापी रुपमा सङ्घर्ष गरिरहेको बताए ।
युवा संगठन नेपाल, रुपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीले तत्काल बेरुजु रकम असुल नगरे भ्रष्ट जनप्रतिनिधलाई कालोमोसो दलेर कारबाही गर्ने चेतावनी दिए । उनले देश र जनताको पक्षमा आवाज उठाउँदा आफूहरू बरु बलिदान गर्न तयार रहेको तर भ्रष्ट, दलाल, कमिसनखोरका विरुद्ध निरन्तर सङ्घर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बेरुजु रकम तत्काल असुल गर, भ्रष्टचारीलाई कारबाही गर, कालोबजारी नियन्त्रण गर, युवा संगठन नेपाल जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, प्रगतिशील संयुक्त सरकार निर्माण गर, जनमत सङ्ग्रह घोषणा गर लगायतका नारहरू लगाइएको थियो ।
नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, युवा, बुद्धिजीवी, व्यापार, व्यवसायी, सुरक्षाकर्मी, पत्रकार लगायतको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन युवा संगठन नेपाल, रुपन्देहीका जिल्ला उपाध्यक्ष भक्त थापाले गरेका थिए ।
यसैगरी , युवा संगठन नेपाल जनकपुर ब्युरो अन्तर्गत सप्तरी, सिराहा, धनुषा र महोत्तरी लगायतका जिल्लाहरुमा बेरुजु विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ । सप्तरीमा जिल्ला सेक्रेटरी बिमला, युवा संगठन नेपाल सप्तरी जिल्ला संयोजक मोहन कुमार राम कार्तिकले बेरुजु विरुद्ध कोण सभामा सम्पूर्ण उपस्थित युवाहरूलाई बेरुजुबारे प्रष्ट पारेका थिए । सिराहामा दलित मुक्ति मोर्चाका जनकपुर ब्युरो संयोजक राजु विक र युवा संगठन नेपाल जनकपुर ब्यूरो सदस्य देब र राजुले कोणसभालाई सम्बोधन गर्दै दलाल सरकारले अरबौको बेरुजु निकालेर सत्तामा रहेको स्थानीय सरकार र जनप्रतिनिधिहरुले बेरुजुबाट आफ्नो नेताकार्यकर्ता पाल्नकै लागि प्रयोग गरेको बताए ।
धनुषामा भएको विरोधसभालाई युवा संगठन नेपालका चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा जनकपुर ब्यूरो इन्चार्ज विचारमान र धनुषा जिल्ला संयोजक समीरले सम्बोधन गरेका थिए । ब्यूरो इन्चार्ज विचारमानले सम्पूर्ण नेपाली देशभक्ती, क्रान्तिकारी युवाहरु एक जुट भएर दलाल संसदिय व्यवस्थाको विरुद्ध, आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारको विरुद्ध संघर्ष गर्नुपर्ने बताए ।
महोत्तरीमा भएको विरोध प्रदर्शनमा जिल्ला सेक्रेटरी पवन, युवा संगठन नेपाल जनकपुर ब्युरो इन्चार्ज विचारमान, अखिल (क्रान्तिकारी) का जनकपुर ब्युरो संयोजक झलक अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य प्रभात, महोत्तरी जिल्ला संयोजक तिलकको उपस्थिति रहेको थियो । कोणसभामा सम्बोधन गर्दै विचारमानले भ्रष्टाचार र बेरुजुलाई मात्र रोक्नु सके लाखौं युवाहरु खाडीमा भाँडा माज्नु जान नपर्ने बताए । झलकले आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारलाई रोक्नु सके दक्ष जनशक्ति युवा र विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न सकिने सबै नागरिकलाई स्वास्थ्य र शिक्षा निशुल्क गर्न सकिने बताए । अबको सबै दलाल संसदिय व्यवस्थाका कारण बेरुजु, भ्रष्टाचार भएको र यसको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्ने र सम्पूर्ण नागरिक, युवा, विद्यार्थी एक ढिक्का भएर वैज्ञानिक समाजवादको पक्षमा अगाडि बढ्नु पर्ने बताए ।
यसैगरी , युवा संगठन नेपाल जाजरकोटको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा बृहत् बिरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ । उक्त विरोध प्रदर्शन ठाँटिबजारबाट शुरु भई जिल्ला प्रशासन कार्यालय ,गैरिखालि हुँदै पुनः ठाटिबजारमा आई कोणसभामा परिणत भएको थियो । कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा का केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज संगम आरसीले नेपालको राष्ट्रियता संकटमा परिरहेको बताउँदै सम्पूर्ण देशभक्त,राष्ट्रवादी, प्रगतिशिल शक्तिहरु एकठाँउमा उभिनुपर्ने बेला आएको बताए।उनले भने”राष्ट्रिय स्वाधीनतामाथि पटक पटक प्रहार भइरहदा पनि दलाल सरकार मुकदर्शक बनिरहेको बरू उल्टै राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाउनेहरुलाइ नै दमन गरेर सरकारले आफ्नो दलाल रवैया प्रस्तुत गरिरहेको बताए।
यस्तै कार्यक्रममा बोल्दै नेकपाका जाजरकोट जिल्ला सचिव प्रेम चलाउने अनन्तले केही व्यक्तिहरूको निहित स्वार्थको लागि दलाल संसदवादी सरकार राष्ट्रियताको मामिलामा खेलाची गरिरहेको बताउँदै सम्वेदनशिल बन्न अनुरोध गरे। एमसिसि परियोजनाका नाममा अमेरिकी सेना भित्र्याएर नेपालका युरेनियम खानी कब्जा गर्न खोजिएको बताउँदै आफ्नो पार्टीलाई कदापी स्वीकार्य नहुने बताए।
उनले नेपाल कम्युनिस्ट पार्टी जनजिविका र राष्ट्रिय स्वाधिनताको लागि सदैब संघर्ष गर्न तयार रहेको उल्लेख गर्दै जनताको अधिकार र राष्ट्रियताका लागि संघर्ष गर्ने प्रतिवद्धता जनाए।कोणसभालाई सम्बोधन गर्दै युवा संगठन नेपाल जाजरकोटका अध्यक्ष तथा भेक व्युरो सदस्य गोविन्द चन्दले नेपाली युवाहरु अब विदेशीका गुलाम बन्नु भन्दा आफ्नो देशको राष्ट्रियताको रक्षाको लागि एकजुट भएर आवाज उठाउन आह्वान गरे। एमसिसि परियोजनालाई सरकारले आर्थिक उन्नतिको आधार भन्नू भनेको आकासतिर फर्केर थुक्नु जस्तै भएको उनको भनाई थियो।अखिल (क्रान्तिकारी)जाजरकोटका अध्यक्ष विराजन शाहीले सञ्चालन गरेको कार्यक्रममा युवा, विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु