बर्तमान राजनीतिक संकटको समाधान जनमत संग्रह

२०७८ भाद्र २० गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकटको समाधान जनमत संग्रहमात्र भएको ठोकुवा गरेका छन। नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समितिको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले जनताले आफ्नो राजनीतिक अधिकारको उपयोग गर्दै राजनीतिक व्यवस्था र शासन प्रणाली रोज्न पाउनु नै लोकतन्त्रको उच्चतम रुप भएको उल्लेख गर्दै जनमत संग्रहमार्फत दलाल संसदीय व्यवस्था ठिक कि बैज्ञानिक समाजवाद ठिक भन्ने फैसला जनतालाई गर्न दिनुपर्ने बताए । उनले देशको विद्यमान संकटपूर्ण परिस्थितिवाट देश र जनतालाई मुक्त पार्न आफ्नो पार्टीले जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने नीति अघि सारेको बताए । प्रवक्ता प्रकाण्डले कम्युनिस्ट पार्टी, बास्तबिक रुपमा नै कम्युनिस्ट पार्टी हुनुपर्ने बताउदै नाम मात्रका कम्युनिस्ट पार्टी र संसदीय अराजकतावादीका कारण देश र जनता संकटमा परेको ठोकुवा गरे।


प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीलाई एकीकृत जनक्रान्तिवाट बिमुख गराएर युद्धमा होम्न खोज्ने योजना र योजनाकारहरुलाई असफल पारेपछि उनीहरु अत्तालिन थालेको समेत ठोकुवा गरे । उनले आफ्नो पार्टीको बिरोध , जनताको साथ र सहयोगले संसदवादी दलहरु नेकपासंग वार्ता र सहमति गर्न बाध्य भएको उल्लेख गर्दै पार्टीको लक्ष्य बैज्ञानिक समाजवाद टाढा नरहेको बताएका थिए ।
प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा भएको उक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा फ्र्याक्सन इन्चार्ज मिलनको उपस्थिति र जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समितिका अध्यक्ष रत्न मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त बैठकले विभिन्न बिषयमा महत्वपूर्ण निर्णयहरु समेत गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु