‘तमाम समस्याको समाधान वैज्ञानिक समाजवाद’

२०७८ भाद्र १८ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले तमाम समस्याको समाधान वैज्ञानिक समाजवाद भएको ठोकुवा गर्दै महिलाहरु आफ्ना दर्दनाक समस्या बोकी जतासुकै भौतारिए तापनि त्यसको समाधान केवल नेपाल कम्युनिस्ट पार्टी र यसले लक्षित गरेको व्यवस्था वैज्ञानिक समाजवादमा मात्र हुने बताएका छन । अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय समितिको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले आफ्ना सन्तानका पहिलो शिक्षकको रूपमा स्थापित, सिंगो घरव्यवहारका संचालक हरेक महिला वर्गको समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका रहको उल्लेख गर्दै पूँजीवादी व्यवस्थाका कारण गाउँघर, समाज र राष्ट्रमा अन्याय, अत्याचार र उत्पीडनमा परेका महिलाहरुको नेतृत्व गर्दै दलाल संसदीय व्यवस्था उपर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका निमित्त क्रान्तिकारी दृष्टिकोण समात्नुनै बाहिरका अन्य महिलाहरुको तुलनामा नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएका महिलाहरुको गुणात्मक अन्तर रहेको बताए। हिजोका दिनदेखि नै असफल हुँदै आएको पूँजीवादी व्यवस्थाले जनता र देशको निकास गर्न सकिँदैन। एकाध दलाल पूँजीवादी व्यक्तित्वहरू बाहेक हरेक युवा, विद्यार्थी, महिला, किसान, मजदुर, कर्मचारी, बुद्धिजीवी कोही पनि सन्तुष्ट नभएको र यसको विकल्प खोजिरहेको बताए। त्यसैले एकचोटी देश जनमतसंग्रहमा जाने हो भने अवश्य हामीले जित्छौं अर्थात् वैज्ञानिक समाजवादको पक्षमा अधिक मत आउँछ र नेपाल कम्युनिस्ट पार्टीको जीत हुन्छ। यही जनमत तयार गर्नका लागी नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु व्यापक रुपमा जनताको घरदैलोमा पुगि जनताले बुझ्न कठिन विषयवस्तुलाई स्पष्ट पार्नुपर्ने बताए। त्यस्तै वैज्ञानिक समाजवाद स्थापना गर्न, त्यसको रक्षा गर्न, त्यसलाई टिकाउन र साम्यवाद प्राप्तिको एकमात्र मार्ग बनाउन आवश्यक राज्य व्यवस्थाको आधार उत्पादन प्रणाली मजबुद बनाउन वैज्ञानिक समाजवादी अर्थशास्त्रको सिद्धान्तमा टेकेर उत्पादन कार्यमा जोड दिनुपर्ने बताए। त्यस्तै महासचिव विप्लवले एकदिन जरूर क्रान्ति सफल हुन्छ, जनमतसंग्रह मार्फत अथवा एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापना हुन्छ भन्ने कुरामा कुनै शंका उपशंका नगरी दृढ विश्वासका साथ आ-आफ्नो कार्यक्षेत्रमा जुट्न अखिल नेपाल महिला संघ क्रान्तिकारीका सम्पूर्ण केन्द्रिय सदस्यहरूलाई आग्रहसमेत गरेका छन्।
मकवानपुर जिल्लाको मनहरी-३, सुकौरामा बसेको उक्त बैठकले वैज्ञानिक समाजवादी व्यवस्थामा महिलाहरुको अधिकारका विषयहरुमा छलफल गरि निष्कर्ष निकालेको छ। साथै जाँडरक्सी, जुवातास,लागुऔषध, वेश्यावृत्ति तथा महिला हिंसा र बलात्कार विरुद्ध संघर्ष गर्ने, राष्ट्रिय सम्मेलनले पास गरेका नाराहरू वालिङ्ग गर्ने विषय सम्बन्धि निर्णय गरेको छ। यसरी भाद्र १६ गते संगठनका केन्द्रिय अध्यक्ष बन्धु चन्दको अध्यक्षतामा सुरु भएको अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय समितिको दोश्रो पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णयका साथ भाद्र १७ गते समापन भएको हो।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यता बसेको उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आस्था, असल र मकवानपुरका जिल्ला सेक्रेटरी वाटरको समेत आतिथ्यता रहेको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु