महासचिव विप्लवद्वारा जनमत संग्रहको कार्यनीतिमा तदारुकताका साथ लाग्न निर्देशन

२०७८ भाद्र १६ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनमत संग्रहको कार्यनीतिमा तदारुकताका साथ लाग्न सम्पूर्ण पार्टी पङ्क्ति र युवाहरुलाई निर्देशन दिएका छन । सो पार्टीनिकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिको भाद्र १४ र १५ गते बसेको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो निर्देशन दिएका हुन ।
महासचिव विप्लवले समाजमा भएका विभिन्न सामाजिक, जातिय, लैङ्गिक विभेदको समस्या र विशेष गरी युवाहरुको समस्याको समाधान नयाँ व्यवस्थाले गर्ने भन्दै त्यो व्यवस्था भनेको वैज्ञानिक व्यवस्था भएको प्रष्ट पार्दै त्यसका लागि आम युवाहरुलाई गोलबन्ध भएर अगाडि बढ्नसमेत निर्देशन दिएका छन । उनले अबको यो चौथो सम्मेलनलाई नेपालको युवायुवतीहरुको समस्या समाधान गर्ने जुझारु नेतृत्व र नीति निर्माण गर्ने सम्मेलनको रुपमा बदल्न सुझाव दिए ।
यसैगरी , नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ ले बैठकमा प्रशिक्षण दिदै एमसीसी नेपालको हितमा नरहेको यसले नेपालीहरुलाई सधैँका लागि साम्राज्यवादको गुलाम बनाउने भएकाले त्यसको विरुद्धको प्रतिरोध युवा संगठन नेपालले अग्रपङक्तिमा गर्नुपर्नेमा जोड दिए ।


यसैगरी , युवा संगठन नेपालका फ्याक्सन इन्चार्ज तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृतिले संगठनको यो दोस्रो बैठकका निर्णयहरुलाई दृढतापूर्वक कार्यान्वयन गर्न कडा निर्देशन दिए ।
महासचिव विप्लवको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकले सामाजिक सांस्कृतिक विकृति विसंगति, चरम आर्थिक अनियमितता तथा एमसीसी सम्झौता लगायत राष्ट्रघाती सन्धी सम्झौताका विरुद्ध चरणबद्ध संघर्ष गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले राष्ट्रिय सम्मेलनलाई टार्गेट गरेर विभिन्न संगठनात्मक कार्यहरु गर्ने निर्णय गर्दै आगामी कात्तिक १३, १४ र १५ गते दाङमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । उक्त बैठक युवा संगठन नेपालका संयोजक पाटन जंगलीको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रियाहरु