तिम्रो सरहदमा !

बलराम तिमल्सिना २०७८ भाद्र १४ गते, सोमबार

अब तिम्रो सरहदमा कोही

कहिलै नआवस बन्दूक बोकेर

बस्नु नपरोस् दिउँसै तिमीले

अल्लाह जप्दै दैलो ठोकेर !

साम्यवाद भन्दै आउनेले पनि

तिम्रो खुसीलाई झ्यालखानमा हाले

लोकतन्त्र भन्दै आउनेले पनि

तिमीलाई झन धेर सताउन थाले

यो अन्तिम होस बिदाई तिनको

कहिलै नफर्कुन डाकाका झुण्ड

कवुल गर अव काबुल नहोस

निद्रोषहरूको रगतको कुण्ड !

तिम्रो पँखेटा काट्न भनी

कोही नआवस तरवार बोकेर !

बस्नु नपरोस अझै तिमीले

मृत्यु पर्खदै दैलो ठोकेर !!

घरकै पनि परकै जस्ता

खुसीका ज्यानी दुश्मन बन्दा

बुर्काले मुख छोपेर सबै

घरैमा बस चुपचापभन्दा

घरको काँडाले घोचे पनि

बनको काँडाले घोचे पनि

उस्तै दुख्दो हो तिम्रो मुटु

तिमीले आफ्नो सोचे पनि !

तिम्रो शिकार गर्न भनेर

कोही नआवस गुलेली बोकेर

बस्नु नपरोस गुँढमै तिमीले

मृत्युको डरले सासै रोकेर !

जसले भने– घरका हौं हामी

घरका त थिए आफ्ना थिएनन्

जो आए अरु देश देशका फौजी

झन ती त आफ्ना कोही थिएनन्

जो आए लुटे तिम्रो खुसी

जिन्दगी तिम्रो बन्धक बनाए

स्वर्गझैं सुन्दर तिम्रो भूगोल

कङ्कालहरूको थुप्रो बनाए !

युद्धको अन्त्य गर्न भनेर

कोही नआवस युद्ध बोकेर

नगरोस राज कसैले अब

तिम्रा ओठमा ताल्चा ठैकेर !

(बाह्य एवम् आन्तरिक दुवै दमन तथा उत्पीडनबाट आक्रान्त अफगानी जनतामा समर्पित !)

प्रतिक्रियाहरु