मेलम्चीको पानी बैशाखसम्म काठमाडौं आउने सम्भावना

२०७८ श्रावण ३२ गते, सोमबार


काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले आफ्नो एकल प्रयासमा मेलम्चीको पानी काठमाडौं ल्याउन सम्भव नहुने बताउदै सबै निकायको सहयोग भए आगामी बैशाखसम्म काठमाडौंमा पानी ल्याउन सकिने बताएको छ । समितिले बाढीले क्षतीग्रस्त मेलम्ची खानेपानी आयोजनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको छ । गत असार १ गते आएको बाढीले क्षती पु¥याएको मेलम्ची खानेपानी आयोजनाबारे जानकारी लिदै प्रधानमन्त्री देउवाले समन्वय गरेर अघि बढ्न निर्देशन दिएको बताइएको छ ।
आयोजनाले दीर्घकालमा समस्या नहोस् भन्नका लागि बाढीको पूर्वसूचना दिने प्रणाली जोड्ने सहित भविष्यमा आउने बाढी नियन्त्रणका लागि माथिल्लो तटमा पूर्वाधार निर्माण र जैविक विधि अवलम्बन गर्नुपर्ने बताएको छ । यदि पानी संंग्लो भएमा अस्थाई बाँध बनाएर डाइभसर्ननबाट सुरुङमा पानी हाल्ने गरी अल्पकालीन कार्ययोजना बनेको छ । यो योजना कार्यान्वयनका लागि पनि आयोजनाको मुहानस्थलसम्म जाने पहुँचमार्ग बनाउनुपर्ने छ । आयोजनाको २ सय १० मिटरको डाइभर्सन टनेलमा भरिएको लेदो हटाउनुपर्ने छ । नदी नियन्त्रणसहतिको काम गर्दा १ अर्ब ८५ करोड थप खर्च लाग्ने अनुमान गरिएको छ । आयोजनाका प्राविधिकहरुका अनुसार मेलम्ची आयोजनाको सुरुङमा पानी हाल्न नदीलाई पुरानै सतहमा फर्काउनुपर्छ ।
मेलम्ची नदीले बगाएर ल्याएको माटोले नदीको सतह १० देखि १५ मिटरसम्म माथि उठेको छ । त्यसैले मेलम्ची आयोजनाको सुरुङ अहिले नदी बगेको ठाउँ भन्दा १५ मिटर गहिरोमा छ । बाढीले पुरिएको भाग सहजै पन्छाउन नसकिने र पन्छाए पनि यसअघि बनेका संरचना काम लाग्छ कि लाग्दैन भन्ने टुंगो छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु