दार्चुला घटनाको दोषीलाई उम्कन नदेऊ

२०७८ श्रावण २४ गते, आईतवार

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर दार्चुलास्थित व्यास गाउँपालिका मालघाटका ३५ वर्षीय जयसिंह धामीलाई बेपत्ता बनाएको झण्डै १० दिन नाघिसक्यो तर सरकारले यस विषयमा खासै ध्यान दिएको देखिँदैन । सरकारले उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा एक छानबिन समिति बनाएर उक्त घटनालाई त्यतिकै ढाकछोप गर्न लागेको भन्दै चौतर्फी विरोध भइरहेको छ । उक्त छानबिन टोलीको कार्यशैली हेर्दा पनि उक्त घटनालाई फितलो बनाउँदै त्यतिकै सामसुम पार्ने नियत देखिन्छ । जसको पुष्टि छानबिन समितिले अहिले उक्त घटनाको सम्बन्धमा स्थानीय जनता र घटनास्थल नजिकको नेपाली सुरक्षा निकायसँग घटनाको सत्यतथ्य नबुझी भारतीय सुरक्षा निकायसँगको सहयोगमा भारततर्फबाट घटनाको निरीक्षण गर्नुले पनि गर्दछ । त्यसकारण देश र जनतामाथि एसएसपीको यो ज्यादितलाई छानबिन समितिको प्रतिवेदनको नाममा फितलो बनाउँदै ढाकछोप गर्ने कार्य गरे त्यो आमनेपाली जनताको लागि कुनै हालतमा स्वीकार्य हुन सक्दैन । तसर्थ, उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कानुनबमोजिम कडाभन्दा कडा कारवाही गर्नुपर्छ र भारत सरकार, भारतीय सीमा सुरक्षा बलले समेत आगामी दिनमा यस्तो ज्यादित नदोहो¥याउने लिखितरुपमा प्रतिबद्धता जनाउनुपर्छ । अन्यथा भारतको मिचाहा प्रवृत्ति र भारतीय सीमा सुरक्षा बलको ज्यादित र छानबिनको नाममा घटनालाई ढाकछोप गर्ने नेपालको सरकारको कार्यशैलीविरुद्ध आमस्वाभिमानी जनता सडकमा उत्रने छन् र राष्ट्रिय मुक्तिको आन्दोलन छेड्ने छन् । जसबाट भारतीय शासक, एसएसबीको ज्यादति र देश–जनताको रक्षा गर्न नसक्ने नेपाल सरकार दुवैको अस्तित्व मेटिने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु