‘एमसीसीमार्फत अमेरिकी सेना नेपाल आउन लागेको छ ‘

२०७८ श्रावण २२ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगरले एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीतिको अंग भएको र यो चीन विरोधी समेत रहेकोले यो सम्झौता खारेज गरिनुपर्ने बताएका छन । नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)को आयोजनामा बिहिबार भएको ‘राष्ट्रिय स्वाधीनता र एमसीसी परियोजना’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बुढा मगरले सो कुरा बताएका हुन । नेता बुढामगरले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमार्फत अमेरिकी सेना नेपाल आउन लागेको भन्दै यसलाई जसरी पनि रोक्न पर्ने बताए । ‘हाम्रो पूर्खाहरुको सम्पतीमाथि अमेरिकाले आँखा लगाएको छ ।’ भन्दै उनले भने- ‘नेपालको जल, जमिन र जंगलमाथि हैकम जमाउन अमेरिकी सेना नेपाल आउन लागेको हो । यसलाई जसरी पनि रोक्न पर्छ ।’
यसैगरी , सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी पास भए नेपाल युद्धको अखडामा परिणत हुने र नेपालीहरुको हालत इराक र सिरियाको जस्तै हुने ठोकुवा गरेका छन ।

नेता गजुरेलले एमसीसी सम्झौताको मुख्य उद्देश्य चीनलाई घेरा हाल्नु रहेको ठोकुवा गर्दै चीनलाई घेरा हाल्न नेपाली भूमि प्रयोग गर्ने उद्देश्यले नै एमसीसी सम्झौता सदनबाट पास गराउन अमेरिकाले दबाब दिएको बताए । उनले भित्रभित्रै एमसीसी परियोजना पास गर्ने तयारी भइरहेको तर्फ संकेत गर्दै सच्चा देशभक्त र कम्युनिस्ट क्रान्तिकारीहरुले एकताबद्ध भएर हरहालतमा पास गर्न नदिने स्थिति बनाउनुपर्नेमा जोड दिए । उनले भने – ‘एमसीसी कार्यान्वयन भए हामी खरानी हुन्छौं, कुनै पनि हालतमा पास हुन दिनु हुँदैन ।’
सोहि , कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले एमसीसी चीन विरुद्ध लक्षित रहेकोले चीनले केही गर्ने हो कि भन्ने डरले मात्रै अहिलेसम्म पास हुन नसकेको दाबी गर्दै संसदमा प्रतिनिधित्व गर्ने दलहरु भित्रभित्रै एमसीसी पास गर्न सहमत रहेको बताए । उनले संसदमा टेबल हुने वित्तिकै पास हुने स्थिति रहेको बताउँदै यो राष्ट्रघाती सम्झौता कार्यान्वयन हुन नदिन सबैले जोडदार रुपमा आवाज उठाउनुपर्नेमा जोड दिए ।
यसैगरी , सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमसीसी सम्झौताभित्र रहेका राष्ट्रघाति प्रावधानहरुको बारेमा प्राविधिक विश्लेषण गरेका थिए भने नेकपा (माले)का स्थायी समिति सदस्य सुरेन्द्र ढकालले अमेरिका र भारतले चीनलाई विभाजन गर्न खोजेको र तिब्बतलाई फ्रि बनाएको २४ घण्टाभित्र नेपाललाई सिक्किम बनाउने डिजाइन रहेको दाबी गरेका थिए ।

यसैगरी , एमसीसी खारेज अभियानका संयोजक नारायण शर्माले राष्ट्रघाती एमसीसी परियोजना कुनैपनि हालतमा नेपालमा लागु हुन नहुने धारणा व्यक्त गर्दै पुर्खाले स्वतन्त्र राखेको देशलाई अत्याधुनिक जमानामा पराधिन बनाउने एमसीसीलाई देश र जनताले एकढिक्का भएर खारेज गर्नुपर्ने बताएका थिए ।
यसैगरी , अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले एमसीसी सम्झौता असाध्यै घातक रहेकोले यसलाई कुनै पनि हालतमा पास हुन दिन नहुने बताएका थिए ।
उक्त ‘राष्ट्रिय स्वाधीनता र एमसीसी परियोजना’ अन्तक्र्रिया कार्यक्रमको अध्यक्षता तथा सञ्चालन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजरेलले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु