भारतीय ज्यादतिको प्रतिवाद गरौं

२०७८ श्रावण १७ गते, आईतवार

नेपालको राजनीतिक, आर्थिक, सामाजिक, भौगोलिकलगायत हरेक क्षेत्रमा हस्तक्षेप गर्दै आएको छिमेकी राष्ट्र भारतले पुनः एउटा घृणित कार्य दोहो¥याएको छ । गत शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर एक नेपाली युवालाई महाकालीमा खसालेर बेपता बनाएको छ । एसएसबीले तुइनको डोरी निकाली दिँदा दार्चुला व्यासका ३० वर्षीय जयसिंह धामी नदीमा खसेर बेपता भएका छन् । धामी वैदेशिक रोजगारीका लागि साथीहरुसँगै निस्किएका थिए । उनी साथीहरु तुइनबाट पारी तरेपछि तुइनमा बसेर तर्दै थिए । अचानक एसएसबीले तुइन नै काटिदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भए । उनको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । एसएसबीलाई जयसिंहका साथीहरुले हात जोडेर अनेकौँ बिन्तिभाउ गर्दासमेत कुरै नसुनी तुइनको गाँठो फुकाएर जयसिंह धामीलाई महाकालीमा खसालेको प्रत्यक्षदर्शीको भनाई छ । यसरी तुइन काटेर जयसिंह धामीलाई महाकालीमा खसाल्ने एसएसबीको कार्य अमानवीय, निन्दनीय, घृणित र कुनै हालतमा क्षम्ययोग्य छैन । नेपालको राजनीतिक, आर्थिक, सामाजिक, भौगोलिकलगायत हरेक क्षेत्रमा सधैँ हस्तक्षेप गर्दै आएको भारतसँग ७१ स्थानमा सीमा अतिक्रमण, मिचान र वादविवाद छ । र, यस्तो विवादित क्षेत्रफल ७९ हजार ६ सय ४२ हेक्टर रहेको छ । यीमध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रमा ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लामा ९ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित भएको छ र भारतको यस प्रकारको ज्यादति घट्नुको सट्टा दिनप्रतिदिन बढ्दै गएको छ । त्यसकारण भारतको यी सबै ज्यादतिविरुद्ध आमराजनीतिक दललगायत आमनपाली जनता विरोधमा उत्रनु अनिवार्य भएको छ भने नेपाल सरकारले पनि तत्काल यी तमाम समस्याको हल गर्न भारतसँग कुटनीतिक वार्ता थाल्नु पर्दछ । यदि भारत कुटनीतिक वार्ताबाट समस्याको हल गर्न सहमत नभए यी तमाम विषय लिएर अन्तर्राष्ट्रिय अदालतमा जानु पर्दछ र त्यहीबाट तमाम भारतीय ज्यादतिको निरुपण खोज्नु पर्दछ । आजको आवश्यकता, समयको माग र जनचाहना पनि यही छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

समाजवादका लागि जुटौं

२०८० फाल्गुन २० गते, आईतवार