वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला !

२०७८ श्रावण १३ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले असारे विकासको नाममा भ्रष्टाचार गरको भन्दै एक वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला लगाएको छ। सो पार्टीको रुकुम पश्चिम सानीभेरी गाउँ कमिटीले पदको दुरुपयोग गरि असारे विकासको नाममा भ्रष्टाचार गरको भन्दै सानीभेरी गाउँपालिका वडा नं. ८ का अध्यक्ष सशिराम बुढाथोकीलाई कालोमोसो र जुत्ताको माला लगाएको हो । वडाध्यक्ष बुढाथोकीले छहरे पानी तल्लो आमडाँरा सिँचाई आयोजना उपभोक्त समितिबाट ३ तीन लाख भ्रष्टाचार गरेको स्थानीयको उजुरी आएको र उक्त उजुरीलाई आधार मानी अध्ययन गर्दा भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले जनगुनासोलाई ध्यानमा राख्दै कालोमोसो र जुत्ताको माला लगाई जनकारबाही गरिएको बताइएको छ । नेकपाले अध्यक्ष बुढाथोकीलाई भ्रष्टाचार गरेको रकम तुरुन्त उपभोक्ता समितिलाई फिर्ता गर्न निर्देशन दिँदै उक्त रकम फिर्ता नगरिए र यस्तै हर्कत जारी राखे थप कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।जिल्लाका सबै स्थानिय तहका जनप्रतिनिधिहरुले गाउँपालिका, नगरपालिकामा चरम भ्रष्टाचार, अनियमितता गर्ने गरेको र राज्यको ढुकुटीलाई दुरुपयोग गरि आगामी निर्वाचनको तयारी गरेको व्यापक जनगुनासो उजुरी आउने क्रम जारी रहेकाले सो उजुरीलाई आधार मान्दै अध्ययन गरि भ्रष्टचार गरेको पुष्टि हुन आएमा जनकारबाही गरिने नेकपा रुकुम पश्चिमले जानकारी दिएको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी सानिभेरी गाउँ समिती रुकुम पश्चिमका सेक्रटरी शिव वि.क ले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ” दलाल संसदीय व्यवस्थाको दुष्चक्र, यसको दुष्प्रभाव र कथित जनप्रतिनिधि भनिनेहरुका असारे तथा डोजरे विकास मोहले कथित विकास निर्माणका नाममा विकृती, विसंगति, व्यथिती, विनाश र भ्रष्टाचार दिनप्रतिदिन बढिरहेको छ। रुकुमका जनप्रतिनिधि भनिनेहरुका पछिल्ला क्रियाकलाप त झन मैमत्त साढे भन्दा कुनै हिसाबमा कम छैनन् भन्ने कुरा रुकुमका राजनैतिक परिदृष्यमा दिनको घाम जति कै छर्लङ्ग छ । फरक विचार र आस्थाप्रती निषेधात्मक प्रतिशोधी अराजनैतिक दुर्व्यवहार गर्नु, सबै जसो विकास निर्माणका कामहरु आफ्नै कार्यकर्ता तथा नलनाताको नेतृत्व र सहभातिमा गर्नु गराउनु, विभिन्न शिर्षक उपशिर्षकमा रकम(कलम हिनामिना गर्नु हालका दिनचर्या नै हुन्।
यसै सन्दर्भमा सानीभेरी गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष शशिराम बुढाथोकीले छहरेपानी तल्लो आमडाँरा सिचाइ आयोजना उपभोक्त समितिबाट ३,००,००० (तीन लाख) भ्रष्टाचार गरेको स्थानीयको उजुरी पश्चात सो विषयमा मिहिन अध्यन अनुसन्धान गर्दा नीज बुढाथोकीले भ्रस्टाचार गरेको पुष्टि हुन आएकोले हाम्रो पार्टी निज बुढाथोकीलाई कालो मोसो र जुता माला लगाई जनकारबाही गरिएको छ। निज बुढाथोकीलाई उक्त रकम तुरुन्त उपभोक्ता समितीलाई फिर्ता गर्न यसै विज्ञप्ति मार्फत चेतावनी मुलक निर्देशन गर्दछौ। उक्त रकम समितीलाई फिर्ता नगरे र यस्तै हर्कत जारी राखे थप कार्वाही गर्न बाध्य हुने व्यहोरा पनि सुचित गराउदछौ।”

प्रतिक्रियाहरु