विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइदै

२०७८ श्रावण १३ गते, बुधबार


काठमाडौँ। आज जुलाई २८ तारिख अर्थात विश्व हेपाटाइटिसविरुद्धको दिवस । यस बर्ष ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने नारासहित मनाइँदैछ । कोरोना सङ्क्रमणसँगै हेपाटाइटिसको जोखिम पनि रहेकाले ध्यान दिन आह्वान गरिएको छ । अरु मौसमभन्दा बर्खामा यो रोग बढी देखा पर्छ । हेपाटाइटिसको भाइरस सङ्क्रमणका कारण कलेजो सुन्निने गर्छ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । त्यसमध्ये हेपाटाइटिस बी सबैभन्दा घातक मानिन्छ ।
पानी, विषाक्त सुईको प्रयोग, असुरक्षित शारीरिक सम्बन्धलगायतका कारण यो रोग एकबाट अर्कोमा सजिलै सर्ने गर्छ । हेपाटाइटिस ए र ई पानी तथा दूषित खानेकुराका कारण सर्ने गर्छ । जसलाई जन्डिस लागेको भनेर बुझ्ने गरिएको छ । त्यस्तै हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३ लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ ।
हेपाटाइटिस ‘बी’ र ‘सी’ लाई मौन महामारी मानिन्छ । यसले मुख्यगरी बालबालिका र सीमान्तकृत समूहलाई बढी सताउने गरेको विज्ञको भनाइ छ ।
धेरैलाई यो रोग लागेको थाहा नहुँने र अरुलाई समेत सार्ने गरेको पाइएको छ । दूषित पानी तथा खानेकुरा नखान, साबुन पानीले बेलाबेला राम्ररी हात धुन, असुरक्षित सुईको प्रयोग नगर्न र असुरक्षित यौन सम्पर्क नगर्न तथा हेपाटाइटिस विरुद्धको खोप लगाउन उपुक्त हुने डाक्टरहरु बताउछन ।

प्रतिक्रियाहरु