अखिल (क्रान्तिकारी) रुपन्देहीद्वारा दबाबमूलक कार्यक्रम सम्पन्न

२०७८ श्रावण १० गते, आईतवार


काठमाडौं । अखिल (क्रान्तिकारी) रुपन्देहीले कोभिड–१९ विरुद्धको खोप र जनस्वास्थ्य विषयमा दबाबमूलक कार्यक्रम सम्पन्न गरेको छ ।सो दबाबमूलक कार्यक्रममा सहिद परिवारकी लुम्बिनी ब्युरो संयोजक जया पौडेलले राज्य जनताप्रति जिम्मेवार नभएको भन्दै सम्पूर्ण नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप यथाशिघ्र उपलब्ध गराउन माग गरिन् । उनले हजारौँ घाइते, वेपत्ता तथा सहिदहरूको सपना र रगतलाई लत्याउँदै राज्य जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार बन्नु संसदीय व्यवस्थाको उपज भएको भन्दै दुःख व्यक्त गरिन् । साथै उनले वर्तमान नेपाली राजनीतिमा देखिएको सङ्कटको निकास निर्विकल्प वैज्ञानिक समाजवाद भएको बताइन् ।
अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकले शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएको भन्दै आम नागरिकले निःशुल्क पाउनुपर्ने बताए । उनले राज्यले सम्पूर्ण विद्यार्थीलाई निःशुल्क रुपमा कोभिड विरुद्धको खोप उपलब्ध नगराएसम्म विद्यार्थीहरूलाई कुनै पनि परीक्षामा समाहित नबनाउन अनुरोध गरे । दलाल संसदीय व्यवस्थालाई परास्त नगरेसम्म जनताको हक र अधिकारको सुनिश्चित नहुने भन्दै उनले आक्रोश व्यक्त गरे । विकले आफ्नो पार्टीले अघि सारेको नयाँ कार्यनीति अर्थात् संयुक्त प्रगतिशील सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादको कार्यक्रममा सम्पूर्ण जनताले साथ दिन र सहयोग गर्न अपिलसमेत गरे ।
सङ्गठनकी रुपन्देही जिल्ला अध्यक्ष इन्दु वलीले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनु सम्पूर्ण नागरिकको नैसर्गिक अधिकार भएको भन्दै तत्काल निःशुल्क खोप उपलब्ध गराउन माग गरिन् । उनले शिक्षामा देखिएको विकृति र शैक्षिक अन्यौलताको अन्य गर्न माग गरिन् ।
कार्यक्रममा नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, विद्यार्थी, सञ्चारकर्मी, सुरक्षाकर्मी, व्यापार–व्यवसायी, बुद्धिजीवी लगायतको ठूलो मात्रामा उपस्थिति रहेको सङ्गठनकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रूपा बुढा मगरले बताइन् ।
कार्यक्रमको सञ्चालन सङ्गठनका जिल्ला उपाध्यक्ष पारस राहदी मगरले गरेका थिए ।

प्रतिक्रियाहरु