सुटिङकी कल्पनाद्वारा राष्ट्रिय कीर्तिमान

२०७८ श्रावण १० गते, आईतवार

काठमाडौं। सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६ दशमलब ८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४ दशमलब ५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सागमा उनी चौंथो भएकी थिइन् । राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२ दशमलब २, दोस्रोमा १०५ दशमलब ४, तेस्रोमा १०१, चौंथोमा १०४ दशमलब १, पाँचौमा १०३ दशमब ४ र छैटौं १०० दशमलब ७ अंक जोडिन् । तर, उनी फाइनल चरणमा भने पुग्न सकिनन् । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहिन् ।
छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् । कल्पना वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन् । १२ गते पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री स्टाइलमा र १३ गते मा गौरिका सिंहले त्यही इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछिन । १५ गते एथलेटिक्सकी सरस्वती चौधरीले एक सय मिटर दौडमा भाग लिनेछिन् । त्यस्तै पाराओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले प्रतिस्पर्धा गर्नेछिन् । उनले पदक जित्ने आशा गरिएको छ । ओलम्पिक खेलकुदको शुक्रबार औपचारिक उदघाटन भएको थियो ।
जापानको राजधानी टोकियोमा भएको उदघाटन समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंन, अमेरिकाकी प्रथम महिला जिल बाइडेनलगायत सहभागी भएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु