आज पुष्पलाल स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

२०७८ श्रावण ७ गते, बिहीबार


काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए ।पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् । नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्य साथ उनले कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए ।
तत्कालिन राजाले ०१७ साल पुस १ गते प्रजातन्त्र हत्याएपछि पुष्पलालले लामो भूमिगत र निर्वासित जीवन बिताएका थिए । त्यसपछि पुष्पलालले ०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सारेका थिए । विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु