भारतद्वारा नेपाली राजदूतको फोन ट्यापिङ : चीन, पाकिस्तान र इरानका राजदुत पनि निशानामा

२०७८ श्रावण ६ गते, बुधबार


काठमाडौं । भारतले पेगासस नाम गरेको ‘स्पाइवेयर’ को प्रयोग गरेर भारतको नयाँ दिल्लीमा रहेका नेपाली राजदूतको फोनमाथि पनि जासुसी गरेको खुलासा भएको छ । दिल्ली मिसनमा रहेका नेपालसहित चीन, इरान, पाकिस्तान र साउदी अरबियाका राजदूतको फोन गैरकानुनी तरिकाले ह्याक गरेर नियमित जासुसी गरेको खबर बाहिरिएको हो । इजरायली कम्पनी एनएसओले बनाएको जासुसी सफ्टवेयर पेगाससमार्फत संसारभर करिब ५० हजार फोनको जासुसी गरिएको रिपोर्ट सार्वजनिक भएको छ । फ्रेन्च पत्रिका ‘ले मोन्डे’ले भने सन् २०१७ देखि २०२१ सम्म गरिएको फोन ह्याकिङको सम्भावित सूचीमा नयाँ दिल्लीमा रहेका कूटनीतिज्ञ र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्बन्धित एक फोन पनि रहेको दाबी गरेको छ ।
नयाँ दिल्लीको चीन र पाकिस्तानसँग अहिले तनावपूर्ण सम्बन्ध रहेको छ । उनीहरूका कूटनीतिज्ञमाथि भारतले निगरानी गरिरहेकै हुन्छ । तर, फोन ह्याकिङ गरी जासुसी गरिएको सूचीमा भारतसँग निकट मानिएका राष्ट्रहरूका कूटनीतिज्ञहरू पनि रहेको ‘ले मोन्डे’लाई उद्धृत गर्दै ‘द हिन्दु’मा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
‘पाकिस्तानका प्रधानमन्त्री इमरान खान र भारतमा रहेका धेरै राजदूतहरूको नम्बर सम्भावित लक्षितको सूचीमा रहेको छ । यस सूचीमा नयाँ दिल्लीमा रहेका ईरान, अफगानिस्तान, चीन, नेपाल र साउदी अरेबियाका कूटनीतिज्ञ र राजदूत पनि रहेका छन्,’ ले मोन्डेलाई उद्धृत गर्दै द हिन्दुले लेखेको छ । यस सूचीमा भारतका लागि पाकिस्तानका हाई कमिस्नर पनि रहेका छन् ।
सोमबार ‘पेगासस’ को निर्माण गर्ने इजरायली कम्पनी एनएसो ग्रुपबाट कथितरुपमा लिक भएको भनिएको तथ्याङ्क १७ सदस्यीय कन्सोर्टियममा रहेका विभिन्न सञ्चार संस्थानहरूले प्रकाशित गरेका थिए । अमेरिकामा रहेको वासिङ्टन पोस्ट, बेलायतमा रहेको द गार्जियन र भारतमा रहेको द वायरले प्रकाशित गरेको समाचारमा जासुसीको सम्भावित सूचीमा बेलायती उच्च आयोगका अधिकारी, दुई अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का दुई अधिकारी र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारी समेत रहेको उल्लेख छ ।
ले मोन्डेका अनुसार सन् २०१७ को जुलाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायलको भ्रमण गरे लगत्तै ‘पेगासस’ सफ्टवेयरको प्रयोग गर्न सुरु गरिएको थियो । उक्त भेटमा मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच गोप्य छलफल समेत भएको थियो ।
पेगाससको प्रयोग गरेर अजरबैजान, बहराइन, हंगेरी, भारत, काजकिस्तान, मेक्सिको, रुवान्डा, साउदी अरेबिया र यूएईका ५० हजारभन्दा बढी फोन नम्बरमा जासुसी गरेको आरोप छ ।
भारतको सरकारले जासुसी गरेको आरोपलाई खण्डन गरेको छ । यद्यपि, पेगासस स्पाइवेयर खरिद गरेको हो या होइन भन्नेबारे चाहिँ पुष्टि वा अस्वीकार गरेको छैन ।
पेगासस सफ्टवेयरमार्फत कुनै पनि देशका खुफिया र कानून कार्यान्वयन गर्ने निकायले टाढाबाट नै मोवाइलमा रहेका विवरण प्राप्त गर्न सक्छन् । सो सफ्टवेयरको विकास इजरायलका खुफिया एजेन्सीले सन् २०१० मा नै गरेको हो । सो पेगासस सफ्टवेयरमा फोनको क्यामरा र माइक्रोफोनलाई समेत सक्रिय बनाउने बताइएको छ ।

प्रतिक्रियाहरु