‘खरानी बन्छौ तर सहिदका सपना मर्न दिदैनौँ ‘

२०७८ श्रावण ५ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले क्रान्तिमा बलिदान गर्न तयार भएको बताउदै सहिदका सपना कदापि मर्न नदिने प्रतिबद्धता गरेका छन । महासचिव विप्लवले एकीकृत जनक्रान्तिको क्रममा सहादत प्राप्त सहिद परिवारजन र घाइते योद्धाहरुसँगको भेटघाटमा सो प्रतिबद्धता गरेका हुन् । महासचिव विप्लवले पार्टीको प्रस्तावनामा साथीहरु सहिद भएको र यसको जिम्मा पार्टीले लिने पनि बताउदै उनले भने – ‘क्रान्ति नजितेसम्म हामी सँगै हिडाैँला वैज्ञानिक समाजवाद नल्याएसम्म सँगै लडौँला, हामी क्रान्तिमा बलिदान गर्न तयार छौँ बरु हामी खरानी बन्छौ तर सहिदका सपना मर्न दिदैनौँ ।’
महासचिव विप्लवले अगाडी भने, –‘तीन बुँदे सहमति एकीकृत जनक्रान्तिको विजय हो, कम्युनिस्ट आन्दोलन त्यागको आन्दोलन हो, तसर्थ हामी त्यागको लागि अगाडि बढौँ, हामी सबै हिसाबले सहिद परिवारको जिम्मा लिन्छौं हामीले एकीकृत जनक्रान्तिको सहिद घाइतेहरुको मात्रै होइन जनयुद्धका सहिदहरुको, घाइतेहरुको जिम्मा पनि लिन्छौँ ।’
यसैगरी , सोहि कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले बलिदान कहिल्यै नमर्ने बताए । उनले भने, –‘हाम्रा अगाडि थुप्रै चुनौती छन्, ती सबै चुनौतीलाई हामीले जित्नुपर्छ र हामीले क्रान्तिलाई भुल्नु हुदैन ।’
यस्तै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरले भने, –‘आजको कार्यक्रममा हामी सबै भावुक बनेका छौँ तर हामीले सचेत रुपले यो यात्रामा समाहित भएका हौँ । यसर्थ हामीले थुप्रै त्यागहरु गर्नुपर्छ, हामी त यो समाजको रुपान्तरणको लागि हिडेका हौं, यहाँ त्याग समर्पण बलिदान अनिवार्य सर्त हुन् त्यो हामीले हाम्रो परिवारको तर्फबाट पूरा गरेका छौं, साथीहरूले आफ्नो रगतले मुलुकको इतिहासमा लेख्नु भएको छ, यसको लागि हामीले गर्व गर्नुपर्छ, विरोधीहरुले हामी भित्र खेल्ने खोज्छन् हामीले बुझ्नुपर्छ ।’
कार्यक्रममा सहिद परिवारका तर्फबाट उपस्थित सबैले आ–आफ्नो रिपोर्ट, जिज्ञासा र सुझाव राखेका थिए । त्यस्तै घाइते योद्धाहरुले पनि आफ्नो तर्फबाट रिपोर्टिङ जिज्ञासा र सुझाव राखेका थिए ।


सहिद परिवारको तर्फबाट पर्णमाया भण्डारी, कलशा शाही, बिना र घाइतेहरुको तर्फबाट सुरेन्द्र महर्जनले रिपोर्ट राख्दै भने,–‘क्रान्ति निर्मम हुन्छ, हामीले हाम्रो सहयोद्दा गुमायौ तर पनि हामीलाई पश्चताप छैन तर हामीले जित्नै पर्छ हामीले जितेरै छोड्नुपर्छ । दलालहरुले हामीलाई किन्न पनि खोजे तर हामीले स्वीकार पनि गरेनौं ।’
त्यस्तै अर्का घाइते हरिले भने, –‘हामी घाइते भयौं त्यसमा हामीलाई दुःख छैन तर नेतृत्वको गिरफ्तारीमा हामी बेस्सरी रोएका छाैँ । हामीलाई परिवारले धेरै सहयोग गरेको छ । माईला दाइ आएपछि अलि सजिलो भएको छ । अहिलेको कार्यनीतिले हामीलाई सही दिशामा लैजान्छ । नेतृत्वले ख्याल गर्नुपर्छ ।’
यस्तै जीवन ठाकुरले आफूहरुको उपचारमा समस्या भएको अहिले आएर ज्यान पहाड भएको र तराईले विप्लवलाई पर्खिरहेको बताए । कार्यक्रममा सुझाव दिदै महेन्द्रले आन्दोलनमा जीवन दिन तयार रहेको तर पार्टीले धोका हुन नहुने बताए । कार्यक्रममा बुद्ध, रविन, नमराज, रवि गोले लगायतले जिज्ञासा तथा सुझाव राखेका थिए ।
कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ इन्चार्ज माईला लामाले गरेका थिए ।

प्रतिक्रियाहरु