आजको कम्युनिष्ट आन्दोलन र लिनुपर्ने सही शिक्षा

२०७८ श्रावण ३ गते, आईतवार

लोकनारायण सुबेदी

विश्वमा एक जमाना थियो जतिबोल कम्युनिष्ट आन्दोलन अत्यन्तै लोकप्रिय र आमश्रमजीवि जनताको आशा र भरोसको एक मात्र विकल्प प्रतीत हुन्थ्यो । हुन पनि त्यो आन्दोलन जन नैतिकता, इमानदारीता, जनसवालका हिसाबले मात्रै होइन, सबै किसिमका सामाजिक–साँस्कृतिक तथा अर्थराजनीतिक भेदभाव अर्थात ‘बर्गीय शोषण र सामाजिक उत्पीडन’बाट मुक्तिको जुन दिशाबोध यसले गराएको र स्थापित गरेको थियो, त्यसको सान्दर्भिकता र महत्व आज पनि उत्तिकै छ र अझ बढ्न गएको छ । यद्यपि अहिले यो आन्दोलन ठूलो धक्का र पराजयको घोर बिचलनकारी प्रवृत्तिको नराम्रोसँग शिकार बनेको कालखण्डबाट गुज्रिरहेको छ । अनि जुन उच्चाइको जनताको विश्वासको धरोहर हिजो यो आन्दोलन बन्न सकेको थियो आज त्यो स्थिति छैन । बरु उल्टै कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट बिरोधी पुरानै शोषक शासक वर्गको ताबेदारी गर्ने, त्यही गलत प्रवृत्तिको अनुशरण गर्ने र जनतालाई भ्रमित तुल्याउने परिपाटी प्रबल बनिरहेको स्थिति आज छ ।

यस परिप्रेक्ष्यमा अहिलेम्मको विश्व कम्युनिष्ट आन्दोलनलाई हामीले सरसरी मात्रै पनि हे¥यौँ र केलायौँ भने विश्वस्तरमा मूलतः तीनवटा अत्यन्तै महत्वपूर्ण मोड यस आन्दोलनमा आएको प्रष्टसँग देख्न र उल्लेख गर्न सकिन्छ । त्यस्तो पहिलो उल्लेखनीय र महत्वपूर्ण मोड सबभन्दा पहिला १८४८ मा कम्युनिष्ट पार्टीको घोषणापत्रको प्रकाशन पछि नै विश्वमा आरम्भ भएको थियो । वस्तुतः यसले संसार अर्थात् मानव समाज र प्रकृति दुबैलाई हेर्ने, ब्याख्या गर्ने र फेर्ने एउटा अत्यन्तै महत्वपूर्ण वैज्ञानिक तथा समकालीन विश्वका अरु दर्शनभन्दा भिन्न द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी सामाजिक दर्शन, विचार, दृष्टिकोण र नीति दियो । वस्तुतः कार्ल माक्र्स र फेडरिक एङ्गेल्सले विश्वका सामु प्रस्तुत गरेको त्यो कालभेदी कम्युनिष्ट घोषणापत्रले संसारलाई हेर्ने, बुझ्ने, ब्याख्या गर्ने र फेर्ने एउटा नयाँ र सशक्त आधार र अभूतपूर्ब ऊर्जा प्रदान ग¥यो । यस प्रकार यसले विश्वमा ठूलो हलचल मात्र ल्याएको होइन, अहिलेसम्मको गलत बाटोमा — शोषण, अन्याय, दमन, दबाब र थिचोमिचोको अमानबीय बाटोमा–हिँडिरहेको संसारलाई बदल्न सकिन्छ, युगौँ पुराना जनताका सबै प्रकारका दुःखकष्टबाट पार पाउन सकिन्छ, सबै किसिमका विभेद, अन्याय, असमानताबाट समाजलाई मुक्त गराउन सकिन्छ अनि परस्परमा प्रेमपूर्वक बाँच्न सकिने सुन्दर र सुखमय एउटा सुनिश्चित भविष्य भएको दीगो र गतिमान संसार निर्माण गर्न सकिन्छ भन्ने अत्यन्तै महत्वपूर्ण, सारगर्भित र दूरगामी मानवीय सन्देश विश्वलाई यसले दियो । यसरी वस्तुतः नयाँ किसिमले संसारलाई हेर्ने र फेर्ने त्यो घोषणापत्रकै आधारलाई अघि बढाउँदै लाने क्रममा नै रुसको १९१७ को महान् अक्टोबर सामाजवादी क्रान्तिले सफलता पाएको थियो । पुँजीवाद साम्राज्यवादमा विकसित भए पछि त्यसको सबैभन्दा कमजोर पकड जहाँ हुन्छ त्यो देशमा क्रान्ति सम्भव छ भन्ने विकसित ठोस परिस्थितिको ठोस निष्कर्ष माक्र्सवादकै सिर्जनात्मक विकास र प्रयोगको आधारमा निकालेर लेनिनले सफल पारेको त्यो अपूर्व समाजवादी क्रान्तिले विश्वमा पहिलो पटक मजदुर किसानको अर्थात् पिँधमा परेका शोषित पीडित जनताको शासन सत्ता स्थापना गरेको थियो । यसरी त्यो समाजवादी क्रान्तिको सफलताले नै पहिलो पटक विश्व कम्युनिष्ट आन्दोलनले अर्को या दोश्रो आधारभूत र नयाँ मोड ल्याएको हो । त्यो मोड सर्बहारा क्रान्ति र साम्राज्यवादबीचको संघर्षको मोड थियो र हो । वास्तवमा मूलतः अहिले पनि त्यही क्रान्तिको मूलप्रवाहबाट विश्व कम्युनिष्ट आन्दोलन गतिमान छ अर्थात् त्यो मोडलाई छोडियो भने त्यो कम्युनिष्ट आन्दोलन रहँदैन, अबरुद्ध हुन्छ र त्यसमा विकृति बिसंगतिहरु आउँदछन् । लेनिनको नेतृत्वमा सम्पन्न त्यो पहिलो समाजवादी क्रान्ति पछि नै विश्वका अरु धेरै देशहरुमा सामन्तवाद, साम्राज्यवाद र उपनिवेशवाद विरोधी आन्दोलनको लहर विश्वब्यापीरुपमा पैmलिएको र तिनले सफलता पाएका हुन् भन्ने कुरा इतिहासले सिद्ध गरिसकेको कुरा हो । त्यही क्रममा नै चीन र भारत पनि उपनिवेशवादको पञ्जाबाट मुक्त भएका हुन् । त्यसै क्रममा नै चीनमा कमरेड माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर आज विश्वको अग्रतम आर्थिक शक्तिकोरुपमा चीन स्थापित हुन गइरहेको छ । तर, विश्वले यतिबेला समाजवादी सोभियत संघमै त्यो महान् समाजवादी क्रान्तिका उपलब्धिहरु नजोगिनु र सोभियत समाजवादको पतन हुनुको पछाडिका वस्तुगत र मनोगत कारणहरु सही किसिमले केलाएर सार्थक निष्कर्षमा पुग्नुपर्ने गम्भीरतम आवश्यकता छ– विश्व कहाँ पुगेको छ भनेर हेर्न र यसलाई सही किसिमले फेर्नका लागि गम्भीर अध्ययन, विश्लेषण र संश्लेषणको आवश्यकता वास्तवमा आज अझ बढ्न गएको छ ।

यो विश्व कम्युनिष्ट आन्दोनलको अहिलेको तेश्रो महत्वपूर्ण मोड हो— सोभियत समाजवादले ७० बर्ष चलेपछि १९९० मा खाएको अत्यन्तै गम्भीर धक्का र यसको पतन, जसको ब्यापक असर अहिले पनि विश्वब्यापीरुपमा परिरहेको छ । यसले विश्व कम्युनिष्ट आन्दोलनका गम्भीर प्रकारका कमिकमजोरीहरु केलाउन, यसलाई पुनः सही धरातलमा खडा गर्न र सही दिशामा अघि बढाउन विश्वभरिका कम्युनिष्ट तथा यो शोषण उत्पीडनमा आधारित विश्व समाजलाई समूल रुपमा फेर्न चाहने प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरुले समेत आज गहनरुपमा सोचविचार पु¥याउन पर्ने दूरगामी महत्वको अत्यन्तै गम्भीर कुरा छ ।                 यसरी सर्सरी हेर्दा यसरी हामी प्रष्ट देख्दछौं कि विश्वमा अहिलेसम्म कम्युनिष्ट आन्दोलनका दुईटा चक्रले पूर्णता पाइसकेका छन् भने तेश्रो चक्र अर्थात ठूलो धक्का खाएको कालखण्डमा आजको विश्व समाज रहेको छं । त्यसैले यतिबेला यो धक्काका साङ्गोपाङ्गो कारणहरु केलाएर आन्दोलनको पुनर्समीक्षा गर्दै नयाँ किसिमले अघि बढ्नुपर्ने कालखण्डबाट विश्व समाज अघि बढ्दैछ । यो चरण वास्तवमा घोर बिचलन, सिद्धान्तहीनता, भयंकर धक्का, र आत्मसमीक्षाको अत्यन्तै गम्भीर र महत्वपूर्ण चरण हो । यो कुरालाई नेपाललगायत विश्वभरिका कम्युनिष्ट तथा वाम पार्टीहरुले महसुस गर्नु पर्दछ र गर्दै आएका पनि छन् ।

यस सन्दर्भमा केही वर्ष अगाडि पोर्चुगलको राजधानी लिस्वनमा विश्वका ६१ देशका ७६ कम्युनिष्ट पार्टीहरुको संयुक्त बैठकले एकमतले के निचोड निकालको थियो भने ठूलो धक्का खाए पनि वास्तवमा वैज्ञानिक समाजवाद नै पुँजीवादी संकटबाट मुक्तिको विश्वको आजको पनि एक मात्र सही विकल्प हो । तर, बिगतमा र अहिले पनि समाजवादी सिद्धान्त र ब्यवहारका बारेमा जस्तो किसिमले तोडमोड गरिएका छन्, जस्ता गम्भीर गल्तीहरु दोहो¥याइएका छन् र जसरी समाजवादी आन्दोलनलाई शिथिल र दिशाहीन तुल्याउने खालका गतिबिधि भइरहेका छन् तिनबाट उचित शिक्षा लिएर अघि बढ्न सक्दा मात्र वैज्ञानिक समाजवादका मानवीय, विश्वब्यापी उपलब्धिहरु, समाजवादी प्रणाली र तिनको औचित्यता र आवश्यकताको पुनर्पुष्टि गर्दै अघि बढ्न सकिने आलोचनात्मक सार त्यो संयुक्त बैठकले खिचेको थियो । त्यस बैठकले क्रान्तिको कुनै एउटै मोडेल या नमूना हुँदैन र त्यो दोहो¥याइरहन मिल्दैन र त्यसो गर्न सकिँदैन पनि भन्ने उल्लेख गर्दै तर समाजवादी क्रान्ति सम्पन्न गर्न, जीबन्त समाजवाद निर्माण र त्यसको सही ढंगले ब्यवस्थापन गर्न जनताको अग्रतम र निर्णयक भूमिकालाई सुनिश्चित गरिनु पर्दछ र त्यो सम्भब छ र हुन्छ भन्ने कुरालाई बिशेषरुपमा र दृढतापूर्बक दोहो¥याएको थियो । बर्तमान अन्तर्राष्ट्रिय स्थितिको परिप्रेक्ष्यमा विश्वभरिका कम्युनिष्ट तथा श्रमजीवि जनसमुदायका साथै साम्राज्यवाद विरोधी प्रगतिशील तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरुको ऐक्यबद्धता र पारस्परिक सहयोग नै त्यस्तो शक्ति हो जसले वैज्ञानिक समाजवाद एउटा अजेय विकल्प हो भन्ने कुरालाई मूर्त र ठोसरुपमा चरितार्थ गर्दछ र गर्न सक्दछ भन्ने अर्थपूर्ण निष्कर्ष पनि बैठकले निकालेको थियो । यसका लागि विश्वका बद्लिँदा गतिविधिहरुलाई निरन्तर हेर्ने, केलाउने, परस्पर यस्ता अन्तरक्रिया गर्ने, विचारहरुको आदान–प्रदान गर्ने र समयसापेक्ष र सही क्रान्तिकारी गतिबिधिहरुलाई अघि बढाउन हरतरहले लाग्ने प्रतिबद्धता पनि जनाइएको थियो । यसका लागि बैठकले विश्व समाजवादी आन्दोलनलाई अघि बढाउन समयसापेक्ष विभिन्न नीति र विभिन्न कदमहरु अवलम्बन गर्ने र तिनलाई ब्यवहारमा खरो उतार्ने महत्वपूर्ण निर्णयहरुसमेत लिएको थियो ।

महान् समाजवादी अक्टोबर क्रान्ति हुनु अघिको आधा शताब्दीको कालखण्डलाई हामीले नियालेर हे¥यौँ भने पनि त्यतिबेला कम्युनिष्टहरु राज्यसत्ता सञ्चालन गर्ने अबस्थामा नपुगेको भए पनि त्यो समय उनीहरुको निमित्त बृहत् बहस, अन्तरक्रिया र रचनात्मक प्रकृयाको दृष्टिले अत्यन्तै उर्बर समय थियो । बिशेषगरी यस सन्दर्भमा पेरिस कम्युनको असफलतापछिको कालखण्ड कम्युनिष्ट सिद्धान्त र विचारधाराको समृद्धिका निमित्त आदर्शतम कालखण्ड रहेको औंल्याउन सकिन्छ । वास्तवमा त्यो कालखण्डमा अरुको आलोचना सुन्ने र आफ्नो गल्ती सच्याउने लोकतान्त्रिक र पारदर्शी असल परिपाटी अत्यन्तै प्रबल बनेको थियो । त्यतिबेला माक्र्स र एंगेल्सलाई समकालीनहरुले गरेको आलोचनाहरुबाट उनीहरुले सही शिक्षा लिने गरेको कुरा नै यसको सबैभन्दा ज्वलन्त उदाहरणकोरुपमा लिन सकिन्छ । वास्तवमा त्यो कालखण्डमा आजको जस्तो कम्युनिष्ट आन्दोलनमा त्यस्तो कुनै जालझेल र षड्यन्त्रहरुको गन्धसम्म पनि थिएन । माक्र्सवादी नेता कार्यकर्ताहरुमा पारदर्शीता, इमानदारीता र जनताप्रति शतत समर्पण त्यो बेलाको प्रष्ट चरित्र र उदात्त स्वभाव थियो । वास्तवमा लेनिनको नेतृत्वमा भएको महान् अक्टोबर समाजवादी क्रान्तिको श्रेय मूलतः लेनिनले नवनिर्माण गरेको यही महत्वपूर्ण विशेषता र बस्तुस्थितिलाई दिइनु सर्वथा उचित हुुन्छ ।

आजका पछिल्ला दिनहरुमा समग्र विश्व कम्युनिष्ट अन्दोलन र विभिन्न देशका कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट नैतिकता, निष्ठा, इमानदारिता, आचरण र ब्यवहारको ठाउँमा जालझेल र षड्यन्त्रले तथा उपभोक्तावादले नराम्रोसँग गुण लाउन थाल्यो र यो आन्दोलनलाई भित्रैबाट कमजोर र खोक्रो बनाउन थाल्यो । जालझेल र षड्यन्त्रको यस्तै अनुभूतिले गर्दा होला चीनमा कम्युनिष्ट पार्टीका अध्यक्ष माओले सर्बहारा साँस्कृतिक क्रान्तिकै कालमा आफ्नो जीवनको उत्तराद्र्धमा पुग्दै गर्दा ‘माक्र्सवादको प्रयोग गर संशोेधनवादको होइन, एकजुट होऊ नफुट, खुल्ला र खुलस्त होऊ, जालझेल र षड्यन्त्र नगर’ भन्ने अत्यन्तै महत्वपूर्ण मार्गदर्शन गरेका र निर्देशन दिएका थिए । वास्तवमा यिनै महत्वपूर्ण सारलाई बुझेका तथा विश्व कम्युनिष्ट आन्दोलन र त्यसको एउटा अंग नेपाली कम्युनिष्ट आन्दोलन भित्र पनि भित्रिएको जालझेल र षड्यन्त्रको अनुभव बटुलेका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले पनि ‘राजनीति जालझेल होइन, वास्तविक वस्तुस्थितिको आधारमा वर्गीय विश्लेषणको निचोड हो’ भन्ने दूरगामी र महत्वपूर्ण निष्कर्ष निकालेका थिए र विभिन्न घटना, परिघटनाहरुबाट सही शिक्षा लिनुपर्ने महत्वपूर्ण सन्देश दिएका थिए । वस्तुतः आज पनि समग्र नेपाली जनआन्दोलनलाई र विशेषतः कम्युनिष्ट आन्दोनललाई क्रान्तिकारी नैतिक धरातल प्रदान गर्न र क्रान्तिकारी दिग्दर्शन गराउन यो निष्कर्षको अत्यन्तै ठूलो महत्व छ र रहिरहने छ । देश र जनताको समुन्नति, समानता, समृद्धि शतत शान्ति चाहने सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी र क्रान्तिकारी लोकतन्त्रवादीहरुले आज यी कुरालाई आत्मसात गर्न र सही दिशामा अघि बढ्न सिक्नु, सक्नु र अग्रसर हुनुको कुनै विकल्प छैन । इतिहास र समयले दिएको सारभूत शिक्षा नै यही हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु