विचारको उत्थान र पतन

२०७८ श्रावण ३ गते, आईतवार

शिवराज पण्डित

सामन्तवादकोे अन्त्य र औद्योगिक क्रान्तिले ल्याएको नयाँ संकटहरु समाधानका लागि युरोपमा अनेक विचारहरु जन्मिए । सामन्तवादी युगमा भएका राजनीतिक अधिकारहरुमाथिको हस्तक्षेप र स्वतन्त्रताको हनन्को प्रतिक्रियाका रुपमा व्यक्तिवादी विचारहरु जन्मिएका थिए । व्यक्तिवादी विचारले व्यक्तिका सवै नियन्त्रणहरु मुक्त भए । यो प्रक्रियाले युरोपमा व्यक्तिवादी विचार, राजनैतिक स्वतन्त्रता, खुल्ला र हस्तक्षेपविहीन अर्थतन्त्र विकसित हुँदै गयो । विकसित घटनाक्रमले औद्योगिकीकरण र पुँजीवादलाई प्रश्रय दियो । फलस्वरुप समाजमा नयाँ खालका थप संकटहरु पैदा भए । यसले समाजका तल्लो तहका शोषित र उत्पीडित जनताहरु बढी प्रभावित भए । १९ शताब्दीमा सामाजिक संकट हल गर्ने माध्यमको रुपमा माक्र्सवादी विचारको जन्म भयो ।

माक्र्सवादी विचारको उर्लंदो छाललाई रोक्ने अभिप्रायबाट २० औं शताब्दीको उत्तरार्धतिर व्यक्तिगत स्वतन्त्रता, हस्तक्षेपविहीन अर्थतन्त्र (उदारवाद) र आर्थिक समानता र व्यक्तिको सट्टा सामाजिक हितलाई उच्च प्राथमिकता (समाजवाद) दिँदै युरोपमा लोकतान्त्रिक समाजवादी विचारधारा (नवमाक्र्सवादी विचारधारा) को जन्म भयो । लोकतान्त्रिक समाजवादले पुँजीवाद र समाजवाद दुवैको विरोध गर्दछ । निस्कृय पुँजीलाई शोषणको आधार मान्ने कुरा र सबै खाले सर्वाधिकारवादको विरोध गरयो । मानवलाई नैतिक प्राणीका रुपमा हे¥यो । धर्म र नैतिकतालाई महत्व दियो । आर्थिक क्षेत्रलाई नियन्त्रण गर्ने र व्यक्तिको निजी सम्पत्तिको नियन्त्रणमा जोड दियो । प्रगतिशील कर प्रणाली, उचित ज्याला, सामाजिक न्याय, उद्योगको सामाजिकीकरण आदि लोकतान्त्रिक समाजवादका प्रमुख सैद्धान्तिक मान्यताका साथ अघि बढ्यो ।

१९ औं शताब्दीमा यूरोपमा वैज्ञानिक साम्यवादका रुपमा विकसित भएको विचारधारालाई चीनमा एशियाली, अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा माओत्सेतुङले गरेको प्रयोगलाई नेपालको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले नयाँ जनवादको रुपमा परिमार्जन गर्ने प्रयास गरे । यो विचारलाई मदन भण्डारीले माक्र्सवाद र नौलो जनवादको सिर्जनशीलताको रुपमा नेपाली सन्दर्भमा पुनर्भाष्य गरी २०४६ सालको राजनैतिक परिवर्तनपश्चात संसदीय व्यवस्थाको स्थितिमा उत्पन्न सैद्धान्तिक संकट हल गर्ने र ९० को दशकमा अन्तर्राष्ट्रिय रुपमा आएको कम्युनिष्ट व्यवस्थाप्रति आएको वितृष्णातालाई मत्थर गर्न र माक्र्सवादी सिद्धान्तको रक्षा गर्ने भन्दै बहुदलीय जनवादको नयाँ विचार अघि सारे । बहुदलीय जनवादले संसदीय सर्वोच्चता, मानव अधिकार, विधिको शासन, प्रेश स्वतन्त्रता, शक्तिपृथकीकरण सिद्धान्तलाई महत्व दिन्छ । यद्यपि मदन भण्डारीको बहुदलीय जनवाद विचार नभै कार्यक्रम थियो ।

माओवादीले विकास गरेको भनिएको जनवाद माओत्सेतुङ पे्ररित मध्यअमेरिकाका नववामपन्थहरुले विकसित गरेको, पेरुभियन जनयुद्धमा प्रयोग भएको विचारलाई नेपालको सन्दर्भमा पुनर्भाष्य गरी विकसित राजनैतिक घटनाक्रम वा संकटलाई हल गर्ने सैद्धान्तिक आधारका रुपमा १० वर्षे जनयुद्धको क्रममा विकास गरे । जसलाई उनीहरुले प्रचण्डपथको नामाकरण गरे । शान्ति प्रक्रियासँगै प्रचण्डपथ छाडेका माओवादीले नयाँ जनवादको कुरा गर्दछन् । उत्पीडित, महिला दलित, जनजाति, सिमान्तकृत समुदायलाई समावेशीकरणको सिद्धान्तको आधारमा राज्यको मूल धारमा ल्याउने कुरामा यो विचारधाराले जोड दिन्छ । माओवादीको समावेशीकरणको सिद्धान्त पनि युरोपियन समाजवादको आदर्शबाट अलग छैन ।

युरोपको लोकतान्त्रिक समाजवाद राज्य नियन्त्रित समाजवाद हो । यसको अर्थ हो समाजवादी व्यवस्थाको ढाँचा राज्य नियन्त्रित हुन पर्दछ भन्ने मान्याता हो । युरोपियनहरुले अभ्यायस गरेको यो व्यवस्था एकसय वर्ष पुरानो भयो । अहिले युरोपेली देशका नयाँ पिँढीमा राज्य नियन्त्रित समाजवादप्रति वितृष्णता पैदा हुँदैछ गएको देखिन्छ । राज्य नियन्त्रित समाजवादले युरोपको बढ्दो समाजिक अन्तरविरोधलाई हल गर्न नसक्ने निष्कर्षमा पुगेको देखिन्छ । राज्य नियन्त्रित लोकतान्त्रिक समाजवादी व्यवस्थाको विकल्पको रुपमा नयाँ युवाहरुलाई लक्षित स्थिर, युवा लक्षित, समृद्ध, स्वाधीन देश निर्माण गर्ने राजनैतिक व्यवस्थाको खोजीका लागि नयाँ बहस चल्दै छ । यसरी विचारधाराको विकासका दृष्टिले नेपालका मूलधारका राजनैतिक दलहरुको विचारधारा अघि सारेका विचारहरु मौलिक थिएनन् र छैनन् पनि । मूलधारका पार्टीहरुले अंगाले आएका विचारहरु यूरोप, भारत हुदै नेपालमा पुनर्भाष्य गरिएका विचारहरु हुन । नयाँ शक्ति हुँदै समाजवादी पार्टीको नेतृत्व गरिरहेका बाबुरामको उन्नत भनिएको विचार पनि युरोपियन समाजवादसँग मेल खान्छ ।

 नेपालको राजनीतिक परिवर्तनपछि (२०६२÷०६३) फेरिएको राजनैतिक परिवेश र सामाजिक अन्तर्विरोधको पृष्ठभूमिमा पार्टीहरुले नयाँ विचारको बहस चलाउने अपेक्षा गरिएको थियो । विकसित सामाजिक सम्बन्ध र अन्तरविरोध हल गर्ने सवालमा वीपीको प्रजातान्त्रिक समाजवाद, एमालेको वहुदलीय जनवाद, माओवादीको नयाँ जनवादजस्ता आयातित विचारहरु प्रयोग हुने अवस्था थिएन । समकालीन विश्वमा पुरानो भैसकेका विचारहरु नेपालको लागि नयाँ हुने कुरा पनि थिएन । मौलिक विचारले मात्र नेपाली समाजको अन्तरविरोधहरु हल गर्न सक्दथ्यो । तर, पार्टीहरु विचार निर्माणभन्दा सत्ता र शक्तिको दुरुपयोग गरेर भ्रष्टीकरणको यात्राबाट अघि बढ्न खोजे । विचारको बहस वा अन्तरपार्टी जनवाद जस्ता कम्युनष्टिका सामान्य मूल्य मान्यताबाट विमुख हुँदै गए ।

नेपालका मूलधार र क्षेत्रीयस्तरका सबै पार्टीहरु विचार शून्य जस्तै देखिएका छन् । पार्टीलाई शक्ति र सत्ता आर्जन गर्ने साधनमा मात्र सीमित गरिएको छ । विचारको शून्यताले पार्टी प्रतिको आकर्षण घटदोे छ । नीतिले नेतृत्वलाई निर्देशन गर्नुको सट्टा नेताको फरमान र आदेशबाट पार्टी र सत्ता चलेको छ । विचारविहीनताको प्रभाव तीन तहको सरकार संचालनमा परेको छ । विचार शून्यताको प्रभावका कारणहरु नेताहरु वेलगामको घोडा जस्तै भएका छन् । पार्टी संचालनसम्वन्धी ऐन, विधि र प्रक्रियाअनुसार पार्टी चल्न नसक्दा सानातिना विवादहरु हल गर्न पनि पार्टीहरु अक्षम र असफल देखिए् । पार्टीहरु विवाद समाधान गर्न असफल भएका कारण ससाना विवादहरु हल गर्न नसकेका कारण ती विवादहरुको चाङ्ग अदालत र निर्वाचन आयोगमा लागेका छन् ।

सत्तारुढ दल एमाले भित्रको महाविवाद पनि विचार शून्यताले निम्ताएको संकट हो । माओवादी दुब्लाउँदै जानुको कारण पनि विचारशून्यता नै हो । कम्युनिष्ट भनिएका कार्यकर्तामा आधारित पार्टीहरुको अवस्था अस्तव्यस्तताको बीचबाट अघि बढेका छन् भने मासबेस पार्टी भनिएको काँग्रेसको अवस्था राम्रो हुने कुरा भएन । महाधिवेशन्मूख काँग्रेस अन्यौलता र अराजकताको स्थितिमाबाट अघि बढदैछ । नयाँ वैकल्पिक शक्ति भनिएका पार्टीहरुले पनि नयाँ र मौलिक विचारहरु निर्माण गर्न सकेका छैनन् । तदर्थवादी ढंगले यी दलहरु संचालन भएका छन् । एमाले भित्रको माधवकुमार नेपालको गुटको अलमल र चौबाटोको स्थितिमा छ । यस्तो स्थिति हुनुमा विचारशून्यताले सिर्जना गरेको समस्या हो । ओलीको कित्तामा उभिएका माओवादी नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापाहरु माओवादी पार्टी खारेजीको माग राखेर निर्वाचन आयोगमा उजुरी दिन जानु वैचारिक दरिद्रता र नैतिकहीनताको पराकाष्ट हो । विचारको शून्यताले नेताहरुको नैतिक धरातल कतिसम्म घिर्दछ भन्ने कुरा एउटा यो गतिलो उदाहरण हो ।

‘खाली दिमागमा सैतानको बास हुन्छ’ भने जस्तै विचारशून्य रहेका पार्टीका नेताहरुका क्रियाकलापहरु पनि सैतानी जस्ता देखिएका छन् । विचारविहीनताले गर्दा पार्टीहरु विघठनउन्मुख छन् । यसले सत्ता राजनीतिलाई पनि प्रत्यक्ष प्रभावमा पारेको छ । पार्टीहरुमा विचारको शून्यताको अवस्था जति लम्बिन्छ त्यत्ति नै देशका लागि घातक हुन्छ । हरेक घटना र बस्तुहरु उच्चतम् विन्दुमा पुगेपछि लोप वा विघटन हुन्छन् । लोप वा विघठन सदाका लागि हुँदैन, भ्याकुम (रिक्तता) बाट नयाँ विचारको जन्म हुन्छ । आसा गरौं, यो रिक्तताबाट नयाँ र उन्नत विचार जन्मने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु