अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान

२०७८ श्रावण १ गते, शुक्रबार


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको हो । लामो समयको तयारीपश्चात् आजदेखि उक्त प्रणाली जडान गरिएको हो । प्राधिकरणले मोबाइल सेटको आयात पूर्व अनिवार्यरुपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आइएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै मोबालल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएको जनाएको छ ।
प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै एमडीएमएस सिष्टम लागू भए पनि हाल सञ्चालनमा रहेका मोबाइल फोन सञ्चालनमा कुनै अवरोध नहुने जनाएको छ । ‘पहिलो चरणमा व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आइएमइआई रजिष्ट्रेशन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको छ, उक्त प्रणालीलाई क्रमशः पूर्णरुपमा लागू गरी मोबाइलको आयात एवं प्रयोगलाई थप व्यवस्थित, भरपर्दो र सुरक्षित बनाइनेछ’, सूचनामा भनिएको छ ।
एमडीएम प्रणालीले कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने काम गर्छ । एमडीएमएसको सफ्टवेयर तथा हार्डवेयर राख्न प्राधिकरणले चाबहिलस्थित भवन निमार्ण गरेको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार