संयुक्त मोर्चा निर्माण अपरिहार्य

२०७८ असार २७ गते, आईतवार

नारायण शर्मा

माओवादी फुटेर अहिले दर्जन जति टुक्रा परेको छ । धेरै टुक्रा परेर कमजोर भएपछि दयामाया लागेर माओवादी समर्थक जनता, कार्यकर्ताले सबै माओवादीहरु जुटे हुँदो हो भनेर चिन्ता र चासो गर्दै जुट्नको लागि सुझाव, दबाब पनि दिने गरेका छन् । माओवादी एक हुनुका साथै एमालेको खनाल–नेपाल समूहसँग पनि एकता गर्ने कुराले त अझ नेपाली वाम जगतको ध्यान पूरै आकर्षित गरेको छ । सामान्यतया पार्टीहरु जुट्ने र बलियो बन्ने कुरा दलीय व्यवस्थामा अत्यावश्यक नै हुन्छ । पार्टीहरुमा विश्वास बढाउन, राज्यसंचालनमा स्थिरता ल्याउन र देशमा विकास र समृद्धि ल्याउनका साथै सुशासनको लागि पनि पार्टी एकता र सुदृढीकरण अत्यावश्यक कुरा हो । तर, जब पार्टी एकता गर्ने कुरा निश्चित नेता र तिनका गुट–उपगुटहरुका निहित स्वार्थमा केन्द्रित रहेर नितान्त अपारदर्शी, हठात् र बलात् तरिकाले हुन्छन्, तब त्यहाँ विचार, सिद्धान्त र राजनीतिजस्ता प्रमुख कुराहरु ओझेल पर्छन् र नेता, कार्यकर्ताका संकीर्ण स्वार्थ र अदृश्य नियत अनि जनताका सतही भावनाहरु हावी हुन्छन् । त्यो स्थितिमा वास्तवमा त्यो पार्टी एकता विचार र सिद्धान्तमा आधारित एकतै हुँदैन । त्यो त भागबण्डा र लेनदेन अनि तानातान र हानाहानमा सीमित एउटा गठबन्धन मात्र हुन्छ । आज एमाले र माओवादीबीचको अनि मधेशवादी दलहरुबीचको एकता, झगडा र फुटको अवस्थाले यही कुराको पुनर्पुष्टि गरेको छ । हो, माओवादी केन्द्र र एमालेको खनाल–नेपाल समूहसँग एकता गरेपछि त पार्टीलाई विधि, पद्धतिअनुसार चलाउन र सरकार संचालनको अनुभव शेयर गर्न तथा एकअर्का नेतृत्वबीच चेक एन्ड ब्यालेन्स गर्न सक्ने अवस्था उत्पन्न हुने तर्क र आशा गर्ने आधार त देखिन्छ तर प्रथमतः यस्तै आशा र अपेक्षा गरी सिङ्गो माओवादी र सिङ्गो एमालेबीच एकता भएको त आज लोप्वा खाइएको छ भने एमालेको खनाल–नेपाल समूहसँग बादलबिनाको प्रचण्ड माओवादीको एकता प्रथमतः हुँदै नहुने कुरा आजै मात्र पनि एमालेका थिङ्क ट्याङ्क मानिएका नेता बेदुराम भुसालको कान्तिपुर एफएममा आएको अन्तर्वार्ताबाट समेत पुष्टि भएको छ । कथंकदा एकता भइहाले पनि त्यो दुई भिन्न धारा, स्कुल र पृष्ठभूमिबाट अर्थात् एमाले संसदीय पृष्ठभूमिबाट र माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका र विगतमा एकले अर्कालाई समाप्त गर्न हत्यासम्म गर्ने–गराउने प्रक्रियाबाट आएकाले समयक्रममा त्यो पीडा र आक्रोशले एकअर्कालाई पिरोल्छ र निश्चित समय र अवस्थामा एकले अर्कालाई निषेध गर्ने अवस्थामा पुग्ने र अन्ततः फुट्ने प्रबल सम्भावना हुन्छ र पुनः लोप्वा नै खाने अवस्था नआउला भन्न सकिन्न ! त्यसमाथि आ–आफ्ना नेता र समूहहरुबीचका सत्ता र शक्ति प्राप्तिको सोच र संस्कार अनि तिनैमा हुने विदेशी चलखेल पनि कति प्रबल रहेछ भन्ने कुरा अहिलेको ओली र माओवादीबीचको मात्र होइन ओली र खनाल–नेपाल गुटहरुबीचको विवाद र वैमनस्यले समेत स्पष्ट पारेको छ । त्यो अवस्थामा बादलहरुबिनाको माओवादी केन्द्र र खनाल–नेपाल समूहका केही होनहार युवा र केही सिद्धान्तकार मानिने सिनियर नेताहरु ढुल्मुलाइरहेको र एमालेकै एकतामा जोड दिइरहेको सन्दर्भमा माके र खनाल–नेपाल समूहबीच यो एकता भइहालेछ भने पनि दीगो र दह्रो हुने देखिन्न । यसरी यो न त एक नम्बरकै दल बन्न सक्ने सम्भावना हुन्छ, न त सरकारको नेतृत्व गर्न सक्ने हैसियत नै बन्छ । त्यो स्थितिमा पृष्ठभूमि, शैली, संस्कार र मुद्दा नमिल्ने शक्तिसँगको एकता कति भरपर्दो होला र ? अनि त यो एकतामा पनि अझै ठूलो र व्यापक विभाजन र विसर्जन आउनसक्छ । तर, त्यसपछि त नितान्त नयाँ शिराबाट क्रान्तिकारीहरु एकजुट हुने सम्भावना भने अझ टड्कारो बनेर आउँछ । जहाँसम्म योभन्दा पनि प्राथमिकतामा राखेर माओवादी समर्थकहरुले सबै माओवादीहरु एक हुने कुरा गरेका छन्, त्यो त कल्पनासम्म गरेर मनको लड्डु घ्यूसित खाने गर्न त सकिन्छ तर एकता गर्ने वा हुने सम्भावना यथार्थमा परिणत हुन मुस्किल छ । जसरी एमाले नेतृत्वको मोनोपोली, स्वेच्छाचारिता, सर्वसत्तावाद, हुकुम–हैकम र हालीमुहालीले विपक्षी गुटका नेताहरु हेलाहोचो, हैरान–परेसान र पेलानमा परेपछि त्यसभित्रको गुट संघर्षले आपसमा हदैसम्म तिक्तता, विरक्तता, आवेग, प्रतिशोध, प्रत्याक्रमण र निषेधको अवस्थामा पुराएर विष्फोट र विद्रोह बढाउँदै विग्रह र विभाजन भैरहेछ, ठीक त्यसैगरी अपेक्षाकृत सिद्धान्तनिष्ठ, इमान्दार, क्रान्तिकारी, स्वच्छ, स्वाभिमानी र आलोचनात्मक चेत भएका सच्चा क्रान्तिकारीहरुप्रति हदैसम्मको अपहेलना, अन्याय र अत्याचार प्रचण्ड र उनका आसेपासे र गासेदासेहरुबाट बारम्बार हुने गरेपछि विद्रोह र विभाजनको विकल्प रोज्न बाध्य बनेका माओवादीहरुबीच पनि अत्यन्तै तिक्तता, वैमनस्य र प्रतिशोध बढेर नै फुटेकाले सबैका सबै माओवादीहरु जुट्न पनि असम्भव जस्तै छ । कथं जुटिहाले पनि तिनीहरुबीच रैथाने माओवादी र आगन्तुक माओवादी, विचार र रहरका माओवादी र व्यवहार र बाध्यताका माओवादी, माओवादी र खाओवादी अनि माओवादी र गैरमाओवादी जस्ता विभिन्न गुट–उपगुटहरुको द्वन्द्वले त्यो गतिहीन हुनेछ र एकता निरर्थक हुनेछ । फेरि त्यसै द्वन्द्वका बीचमा खेलेर प्रचण्ड र उनको गिरोहले गर्ने मनपरि, अनि कुनै निश्चित जिल्ला, जाति, गुट र व्यक्तिको आधारमा हुने कथित क्षमतावान् र योगदानवाला हस्तीहरुको व्यक्तिवादी र परिवारवादी स्वार्थपूर्तिस्वरुप गरिने हालिमुहाली र अन्य ससाना माओवादी गुट र गैरमाओवादी गुटबीचको भावनात्मक अनेकता आदिले गर्दा पुनः एकीकृत भएको भनिने माओवादी पार्टी पनि न दीगोरुपमा एकताबद्ध हुनसक्छ न त केही गर्ने सामर्थ्य नै राख्छ । त्यसमाथि वैचारिक मात्र होइन, सांस्कृतिक र नैतिकरुपले पतन भैसकेपछि केही गर्न नसक्ने निरीह र निकम्मा हुने कुरा पनि निश्चित नै छ ।

त्यसैले अब आवश्यकता त माओवादी एकताको भावुकता र रहरको होइन, सम्पूर्ण कम्युनिस्ट पार्टीहरुभित्र र बाहिर छरिएर रहेका स्वच्छ, इमान्दार, स्वाभिमानी, स्वविवेकी, स्वनिर्भर, त्यागी, तपस्वी, यशस्वी र तेजस्वी व्यक्ति–व्यक्तित्वहरुसमेतको सच्चा देशभक्त र क्रान्तिकारी कम्युनिष्ट शक्ति, समूह, मञ्च, मोर्चा, अभियान, प्रतिष्ठान आदि बीचको एकता नै आजको क्रान्तिकारी कम्युनिस्ट एकता हो र हुनुपर्छ । यही वास्तविक क्रान्तिकारी कम्युनिष्ट एकता नै अहिलेको हाम्रो टड्कारो आवश्यकता हो भन्ने लाग्छ । यस्तो विचार र आचार, राजनीति र संस्कृति, नीति र नैतिकता, अनि नेतृत्व र नियतबीच सामञ्जस्य भएको नितान्त नयाँ सैद्धान्तिक आधार र व्यावहारिक कार्यभार बोकेको पार्टीले मात्र नेपाली वाम–कम्युनिस्ट जनमतको सम्मान र सम्बोधन गर्न सक्छ । यस्तो कम्युनिस्ट पार्टीले मात्रै राज्य, पार्टी र समाजमा रहेका वर्तमानका अस्थिरता, अस्तव्यस्तता, अराजकता तथा विविध विडम्बनापूर्ण वैमनस्य, वेमेल, विकृति, विसङ्गति, विभाजन र विसर्जनको प्रक्रियालाई समेत रोक्न सक्छ । यस्तो कम्युनिस्ट पार्टीले मात्र राष्ट्रिय स्वाधीनताको पूर्ण रक्षा, अधिक जनअधिकारको प्राप्ति र अत्यधिक विकास र समृद्धि गर्न सक्छ र समाजवाद–साम्यवादको दिशामा अघि बढ्ने हैसियत र विश्वास आर्जन गर्दछ । तर, यस्तो गर्नुको सट्टा वा गर्न नसक्ने हीन र हरूवा मानसिकताका कारण वा कुनै क्षुद्र स्वार्थपूर्तिको लालसाका कारण अथवा उम्किनै नसक्ने गरी संसद्वादमा भासिएका कारण हालका कुनै पनि कम्युनिस्ट नामका पार्टीभित्र रहेर त्यहाँका इमान्दार क्रान्तिकारी र सच्चा देशभक्त नेता–कार्यकर्ताहरुले सम्बन्धित पार्टीभित्र रचनात्मक सुझाव, आलोचना, विरोध र दबाब गर्नुको कुनै पनि अर्थ र औचित्य छैन । यो कुरा त धेरै दलका धेरै इमानदार क्रान्तिकारीहरुले भोग्दै आएको तीतो तर जीवन्त सत्य हो ।

तसर्थ यो स्थितिमा पार्टीका नेता, कार्यकर्तालाई मात्र होइन, राज्य र समाजमा हुकुम–हैकम कायम गरेर शोषण–उत्पीडन गर्ने–गराउने शोषक–शासक वर्ग र व्यक्तिहरुलाई समेत पार्टीभित्र र बाहिरका जिम्मेवार सदस्य र नागरिकहरुले जनस्तरबाटै पार्टी र सत्ताका जनविरोधी, देशविरोधी र क्रान्तिविरोधी तत्व र तिनका गतिविधिहरुका विरुद्धमा खबरदारी गर्ने कुराको भने सैद्धान्तिक रुपले मात्र होइन कि व्यावहारिक रुपले पनि ठूलो अर्थ र औचित्य छ । चीनमा क्रान्ति सम्पन्न भैसकेपछिको लामो अवधिसम्म पनि पार्टीमा र सत्तामा रहेका पुँजीवादपन्थी अवसरवादीहरु र तिनीहरुद्वारा भए–गरेका प्रतिक्रान्तिकारी हर्कतहरु तथा देश र जनविरोधी कृयाकलापहरु अनि पाँच खराबी र तीन खराबीहरुका विरुद्धमा क. माओले नै व्यापक जनता र क्रान्तिकारी नेता–कार्यकर्ता एवं जनमिलिसिया र युवाहरुको परिचालन गरेर महान् सर्वहारा सांस्कृतिक क्रान्ति संचालन गर्दै पार्टी र सत्तामा रहेका पुँजीवादपन्थीहरुलाई सशक्त खबर्दारी र बर्खास्त गरी तत्कालको लागि प्रतिक्रान्तिलाई रोक्नुभएको थियो । त्यसैलाई आधार मानेर नै जनयुद्धकालमा समेत एकातिर पार्टीका पावरफुल नेता–कार्यकर्ता र योद्धाहरुबाट र अर्कातिर आफ्नै निर्माणाधीन नयाँ सत्ता एवं देशका प्रतिकृयावादी र अवसरवादी पार्टी र सत्ताहरुबाट भैरहेका देश, जनता र क्रान्तिविरोधी गतिविधिहरुलाई ठोक्न र रोक्नको लागि प्रचण्डले पनि जनताको प्रत्यक्ष निगरानी, नियन्त्रण र हस्तक्षेपको अवधारणा ल्याएका थिए । तर, विडम्बना के भयो भने यस्तो खबरदारी गर्ने छुट्टै दह्रो र दीगो संयन्त्र निर्माण गर्न नभ्याउँदै माओको निधन भयो भने प्रचण्ड आफैँ प्रतिक्रान्तिकारी दिशामा उन्मुख हुँदा त्यस्तो संयन्त्र निर्माणको न त जनयुद्धकै बेलामा आवश्यकता देखे न त शान्तिकालमै यस्तो संयन्त्रको टड्कारो आवश्यकता भएकोले त्यस्तो संयन्त्र निर्माण र परिचालन गर्ने सहमति माग्दा दिन चाहे । यस्तो प्रस्ताव मैले नै गरेको थिएँ । आखिर त्यस्तो भन्ने र गर्न खोज्ने गरेबाट म प्रचण्ड नेतृत्वको पार्टीमा कि त उनको व्यक्तिगत र पारिवारिक स्वार्थपूर्ति गर्ने गरी उपयोग हुने वा उपेक्षा र उपहासको पात्र भएर निकम्मा र निरीह हुँदै चुप लागेर बस्ने अथवा पार्टीबाटै पाखा लाग्न बाध्य हुने अवस्था आयो । यो कुरा सामान्यतया वर्तमान नेपालका सबै पार्टीमा र विशेषतः कम्युनिस्ट पार्टीमा र मुख्यतः वर्तमान माओवादी केन्द्रका सन्दर्भमा म र लोकेन्द्र बिष्टजस्ता अन्य कुनै पार्टीमा नगएर स्वतन्त्र रहनेका हकमा मात्र होइन, आज एमालेमा जाने वा रहने मणि थापालगायतका धेरैजसो इमान्दार क्रान्तिकारीहरुका हकमा समेत एकदमै सत्य हो । यो अवस्थामा अब त्यहाँ वा त्यस्ता सबै पार्टीमा अझ बढो, बढी र व्यापक विभाजन, बिखराव र बिसर्जन आउने निश्चित छ । त्यसपछि भने नितान्त नयाँ शिराबाट सच्चा इमानदार क्रान्तिकारी कम्युनिस्टहरु एकजुट हुने सम्भावना भने प्रबल नै हुने छ । त्यसैले सबै माओवादीको एकता मात्र भनेर माक्र्सवादबाटै विचलित भएका, क्रान्तिप्रति धोका दिएका र विश्वासघात गरेका, साम्राज्यवादी र विस्तारवादीहरुका गोटी बनेका, दास, दलाल र दम्भी चिन्तन र चरित्र भएका, नामका माओवादी तर कामका खाओ–कमाओवादीहरुबीचको एकताभन्दा देशका सबै पार्टीभित्र वा बाहिर रहेका विचार र आचारमा एकरुपता भएका सच्चा क्रान्तिकारी कम्युनिस्टहरु बीचको बृहत् एकता मात्रै आजको वास्तविक आवश्यकता हो । यस्तो एकता मात्रै दीगो र दह्रो हुनसक्छ र यस्तो कम्युनिस्ट पार्टीले मात्रै देश, जनता र क्रान्तिको सही र सशक्त ढङ्गले नेतृत्व गर्दै सच्चा समाजवादको दिशामा नेपाल र नेपालीलाई अघि बढाउन सक्छ ।

कदाचित शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्नै सकेन भने पनि जनस्तरबाट बृहत् संयुक्त मोर्चाको एउटा संयन्त्र बनाई सत्ता र पार्टीका खराव शक्ति, व्यक्ति र प्रवृत्तिविरुद्ध खबरदारी, हस्तक्षेप र निषेधसम्म गर्ने खालको अभियान संचालनमा लाग्नुको विकल्प छैन । यस विषयमा मैले आजभन्दा दुई बर्ष अघिनै यो कुराको टड्कारो आवश्यकता महसुस गरेर नै प्रचण्डसँग सहमति मागेको थिएँ । तर, अर्का अध्यक्ष ओलीसँग सल्लाह गरेर जवाफ दिन्छु भनेका प्रचण्डले सहमति दिने र पाउने कुरै भएन किनकि सायद त्यसको पहिलो, प्रत्यक्ष र प्रमुख मार उनैहरुमाथि पर्ने खतरा प्रचण्ड र ओलीले देखे । तथापि राष्ट्रियता, जनतन्त्र र जनजीविका जस्ता अहम् आधारभूत मुद्दाहरुलाई लिएर खबरदारी गर्नको लागि स्वनाम साथी, अमिक शेरचन जस्ता स्वच्छ र अनुभवी व्यक्तित्वहरुको नेतृत्वमा सच्चा देशभक्त, जनवादी र क्रान्तिकारीहरुको नागरिक–जनस्तरबाट समेत प्रतिनिधित्व गराई एउटा बृहत् संयुक्त मोर्चा बनाएर सत्ता, पार्टी र नेताहरुबाट हुने देशविरोधी, जनता र जनतन्त्रविरोधी एवं क्रान्तिविरोधी कृयाकलापहरुलाई ठोक्न र रोक्नको लागि सुझाव–दवाव, निगरानी–नियन्त्रण र हस्तक्षेप–निषेधसम्मको अभियान चलाउने प्रयास गरिएको हो ।

यसै दौरानमा सीमा बचाऔं अभियान, एमसीसीस खारेज अभियान, नागरिक आवाज जस्ता संस्थाहरु पनि बने र ती अझै थोरै–धेरै कृयाशील नै छन् । तर, विडम्बना, हाम्रो एउटा खम्बा प्रचण्डको जालमा ¥याल काढेर गण्डकीतिर लाग्नु भो भने त्यसक अर्का धरोहर कालको चालमा पर्नु भो र यो अहिले स्थापित नेतृत्वको खोजीमा छ । यो खोजी गर्ने क्रममा लीलामणि पोखरेल, लोककृष्ण भट्टराई, साध्यबहादुर भण्डारी, अच्युतराज ज्ञवाली, श्याम श्रेष्ठ, युवराज संग्रौला आदिसम्म पुगिएको वा पुगिँदै छ । हेरौं कोबाट कस्तो रेस्पोन्स आउँछ ? त्यसैअनुसार अघि बढेर जनस्तरको खबरदारीलाई संगठित र मुखरित गरी परिणाम निकाल्ने भन्ने सोच र प्रयत्न जारी छ । आशा गरौं यसबारे इच्छित र सबन्धित स्वच्छ, स्वाभिमानी र सचेत सज्जनहरुबाट सक्दो सुझाव, साथ र सहयोग अवश्यै प्राप्त हुने छ, किनकि यस्तो प्रकारको निर्णायक प्रहार गर्न सक्ने शक्तिशाली संयन्त्रबिना जुनसुकै पार्टी, सरकार, व्यवस्था र अवस्थाबाट भएका र हुने भ्रष्टाचार, दुराचार, पापाचारलगायतका जनविरोधी, देशविरोधी क्रान्तिविरोधी गतिविधि र गद्दारीलाई नियन्त्रण र निषेध गर्न अहिलेलाई असम्भव नै देखिएको छ ।

अतः सच्चा क्रान्तिकारी कम्युनिस्टहरुको एकता भएको वा नभएको अवस्थामा अहिले नेपालमा कम्तीमा एउटा शक्तिशाली बृहत् संयुक्त मोर्चाको निर्माण त अनिवार्य आवश्यकता भएको छ । केही महिना अघि किरण, विप्लव, ऋषि र आहुतीहरुको चार दलीय मोर्चाको निर्माण र परिचालनका सन्दर्भमा आमजनता–कार्यकर्ताहरुमा देखिएको हौसला र आन्दोलनमा भएको सहभागिता नै त्यसको प्रत्यक्ष प्रमाण हो । तर, पार्टीका नेताहरुका व्यक्तिगत र गुटगत आदि संकीर्ण स्वार्थका कारण उक्त संयुक्त मोर्चा निस्कृय त भएकै छ र अब पुनः सकृय हुने सम्भावना कमै छ । तसर्थ, यो अवस्थामा पार्टी र मुख्य नेताहरुको प्रत्यक्ष पहल, सहभागिता र नेतृत्वमा भन्दा पनि अलि स्वतन्त्र, स्वाभिमानी, स्वच्छ र साझा व्यक्तित्वको नेतृत्वमा विभिन्न देशभक्त र जनवादी पार्टीहरुका अतिरिक्त विभिन्न संघसंस्था, संगठन, मंच, मोर्चा, अभियान, प्रतिष्ठान र नागरिक समाज आदिबाट संस्थागत रुपमा र नागरिक, सामाजिक र राष्ट्रिय जीवनका लब्धप्रतिष्ठित स्वतन्त्र व्यक्ति र व्यक्तिवहरुको समेत सहभागितामा एउटा बृहत् संयुक्त मोर्चा बनाएर सशक्त र निर्णायक नागरिक खबरदारी र हस्तक्षेप गर्नु आज अत्यन्त जरुरी छ ।

हेरौं देशका विभिन्न क्रान्तिकारी र वामपन्थी राजनीतिक शक्ति र व्यक्ति अनि नेतृत्व र व्यक्तित्वहरु आदिमध्ये को–कोबाट के–कस्तो रेस्पोन्स आउँछ ? त्यसैअनुसार अघि बढेर यो जनस्तरको खबरदारीलाई संगठित र मुखरित गरी परिणाम निकाल्ने भन्ने सोच र प्रयत्न जारी छ । आशा गरौं, यसबारे इच्छित र सबन्धित स्वच्छ, स्वाभिमानी र सचेत सज्जनहरुबाट सक्दो सुझाव, साथ, सहयोग, सहभागिता र नेतृत्व अवश्यै प्राप्त हुने छ, किनकि यस्तो प्रकारको निर्णायक प्रहार गर्न सक्ने शक्तिशाली संयन्त्र बिना जुनसुकै पार्टी, सरकार, व्यवस्था र अवस्थाबाट भएका र हुने भ्रष्टाचार, दुराचार, पापाचारलगायतका जनविरोधी, देशविरोधी र क्रान्तिविरोधी गतिविधि र गद्दारीलाई नियन्त्रण र निषेध गर्न अहिलेलाई असम्भव नै देखिएको छ । त्यसैले सबै माओवादी भनिनेहरु बीचको पार्टी एकता असम्भवप्रायः देखिएको र सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट शक्ति र व्यक्तिहरुको एकता वा संयुक्त मोर्चाले तत्काल मूर्त रुप लिने र कार्यान्वयनमा जाने सम्भावना पनि कमै रहेको आजको यो ठोस अवस्थामा तत्कालै यस्तो संयुक्त मोर्चा निर्माण गरी अघि बढ्न अपरिहार्य भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु