नेपालमा वर्ण र जात व्यवस्थाको सुरुवात

२०७८ असार २१ गते, सोमबार

दयाराम लुवार

भारत र पाकिस्तानको सिमानामा एउटा सिन्धु नदी बग्दछ । त्यही सिन्धु नदीलाई पारसबासी वा इरानीहरुले हिन्दु नदी भन्थे, किनकि उनको बर्णमालामा ‘स’ भन्ने अक्षर थिएन ‘स’ भन्दा ‘ह’ भन्थे त्यसकारण सिन्धु नदीलाई हिन्दु नदी भन्थे । हिन्दु नदी आसपास बसोबास गर्ने मानिसहरुलाई हिन्दु जाति भनियो भने त्यहाँको धर्मलाई हिन्दु धर्म भन्न थालियो । आजभन्दा पाँच हजार वर्ष अगाडि सिन्धु घाँटीमा मोहोन जोधारोको सभ्यता र हरप्पाको सभ्यता लामो समयकालसम्म विकसित रहेको थियो । यो सभ्यता आस्टिक र द्रविण मूलका मानिसहरूले निर्माण गरेका थियो । जसको रङ कालो, पहेलो, रातो वर्णको थियो । उनीहरुको नाक चुच्चो थियो, थेप्चो नभई बुच्चो थियो । संसारमा नाक चार प्रकारका हुन्छन । चुच्चो र बुच्चो नाक भएका मानिसहरुलाई आस्टिक र द्रविण मूलका मानिसहरु भनेर चिनिन्थ्यो । यसै समयमा एउटा आर्यहरुको झुन्ड युरोपबाट यात्रा सुरु गरेर इरान हुँदै सिन्धु घाँटीमा प्रवेश ग¥यो र सिन्धु घाँटीका आस्टिक र द्रविण मूलका मानिसहरू माथि आक्रमणको शृंखला सुरु ग¥यो, त्यो संघर्ष केही वर्ष चल्यो, अन्तिममा आस्टिक र द्रविण मूलका मानिसहरू पराजित भए, आर्यहरु बिजयी भइसकेपछि पहिलोचोटि दक्षिण एसियाको सिन्धु घाँटीमा मालिक र दास व्यवस्थाको सुरु भयो । विजयी भएका आर्यहरु मालिकमा परिणत भए र हारेका द्रविण र आस्टिक मूलका मानिसहरु कमारो र दासको रुपमा परिणत भए । विस्तारै आर्यहरुको जनसंख्या वृद्धि हुँदै जाँदा आर्यहरु पनि विभाजित हुँदै गयो । ती विभाजित आर्य राज्यहरुको बीचमा एकआपसमा युद्ध लड्न सुरु गरे, युद्धमा हारेका आर्य पनि दासमा परिणत भए । यसरी दक्षिण एसियामा मालिक र दासको सुरुवात भयो ।

संसारका अरु भागहरुमा जस्तै जनसंख्याको वृद्धि सँगसँगै श्रम विभाजन स्वभाविक बन्दछ । सिन्धु घाँटीबाट प्रवेश गरेका आर्यहरु विस्तारै गङ्गा मैदानसम्म आइपुग्दा उनीहरुको जनसंख्यामा वृद्धि भइसकेपछि श्रम विभाजन गर्नु आवश्यक भएर आजभन्दा ३५०० वर्ष अगाडि चारवटा श्रमका क्षेत्रहरू तोकेर श्रम विभाजन गरियो । श्रम विभाजन गर्दा एउटा निश्चित मानिसहरूको समूहलाई कामको क्षेत्र यसरी तोकियो, जसले ज्ञान आर्जन गर्ने, आर्जन गरेको ज्ञानद्वारा अरुलाई दीक्षित गर्ने र ईश्वरसँग मानिसहरुलाई सम्पर्क गराउने पुरेत अथवा ब्राह्मणलार्ई तोकियो, क्षेत्रीहरूको एउटा समूहलाई राज्य संचालन गर्ने र प्रशासन संचालन गर्ने कामको क्षेत्र तोकियो । तेस्रोमा वैश्यलार्ई ब्यापार, कृषि र पशुपालन गर्ने भनेर श्रम तोकियो । चौथो श्रम क्षेत्र संगीत, प्राविधि, सेवालगायतका सम्पूर्ण क्षेत्रहरूमा शुद्रहरुका निम्ति भनेर श्रम तोकियो । यो श्रेम विभाजनको प्रारम्भिक मोडेल थियो ।

संसारकै अथवा दक्षिण एसियाको सबैभन्दा पुरानो लिखित ग्रन्थ ऋग्वेद हो । जुन आजभन्दा करिब ३५०० वर्ष अगाडि लेखिएको मानिन्छ । ऋग्वेदको पछिल्लो मण्डलको कुरामा हजारौँ वर्षसम्म आर्यहरुले आफ्नो बीचमा श्रुति परम्पराबाट एउटा पुस्ताले अर्को पुस्तालार्ई दीक्षित पार्दै आइरहेको कुरा हो । जुन गलत छ, भ्रमपूर्ण छ । ३५०० वर्ष अगाडि जब लिपिको आविस्कार भयो । जसमा दशवटा मण्डल र दशवटा अध्याय छन् । त्यसपछि ब्यास भन्ने मान्छेले त्यसलाई संकलन गरेको र त्यसमध्ये दसौं अध्याय ब्यासले लेखेको भनिन्छ । उक्त ब्यासले लेखेको दसौं अध्यायमा के उल्लेख गरिएको छ भने एउटा बिराट पुरुषको मुखबाट ब्राह्मणको जन्म भयो, छातीबाट क्षेत्रीको जन्म भयो र पैदलाबाट शुद्रको जन्म भयो भनेर ऋग्वेदको दसौं मण्डलमा भ्रामक तरिकाले लेखिएको छ । यसैका आधारमा श्रम विभाजन गरी विभिन्न सूत्रमार्फत् प्रचार–प्रसार गर्दै दण्डित गरियो । यसरी श्रम विभाजन गरिसकेपछि लागू हुँदै जाँदा शुद्रहरुलाई जे श्रम तोकिएको थियो । त्यो श्रमको क्षेत्रबाट उ पटक्कै अलग जान पाएन । यस्तो श्रम विभाजन दक्षिण एसियामा मात्रै नभई विश्वका अन्य देशहरूमा पनि गरिए तर यस्तो थिएन, एउटा विधि र पद्धतिमा गरिएका थियो । दक्षिण एसियाको श्रम बिभाजन बंशाणुगत रुपमा अनुलङ्गनीय श्रम विभाजन थियो । आफ्नो बाजे प्रबाजेको पुस्ताले जे काम गरेका थियो, त्यही काम नातिको पुस्ताले पनि त्यही गर्नुपर्ने, छोड्न नपाइने, छोडेमा चरम सजायको भागिदारी बनाइने यो दक्षिण एसियाको श्रम विभाजनको मूल विशेषता थियो ।

जे जिम्मा दिएको छ त्यही काम मात्र गर्नुपर्ने कुनै पढ्न नजान्ने वा नसक्ने ब्यक्ति ब्राह्मणको कुलमा जन्मियो भने उसले पढ्नै पर्ने हलो जोत्न नपाइने, जतिसुकै तीव्र दिमाग लिएर कुनै ब्यक्ति शुद्रमा जन्मियो भने उसले पनि उति बेलाको विद्यालय अथवा गुरुकुलमा जान नपाइने तोकिएको क्षेत्रबाहेक दायाँ–बायाँ जान नपाइने गरी तोकियो । यस्तो खालको श्रम विभाजनका कारणले वैश्य र शुद्रभित्र परेका समुदायको जीवन सधैंभरि पिँधमा परिरह्यो, नारकीय जीवन बाँचिरह्यो । यसरी केही समयकाल लम्बिसकेपछि उनीहरु भित्र बिद्रोह देखापर्न थाल्यो, त्यो स्वाभाविक पनि थियो । त्यस बेलाका मनुस्मृती रचनाहरुमा शुद्रहरु माथि सजाय गर्ने तरिकाहरु वर्णन गरियो । ती दमित समूहहरुका आवाज माथि प्रतिबन्ध गर्नका लागि मनुस्मृतिमा कठोर सजायको व्यवस्था गरियो । बिष्णु पुराण मनुस्मृतिमा के कुरा उल्लेख गरिएको छ भने पशु, शुद्र र ढोललाई जति पिटे पनि हुन्छ भनेर त्यसमा लेखिएको छ । ढोललाई जति पिट्यो त्यति बज्छ, शुद्रलाई जति यातना दियो, त्यति काममा प्रयोग गर्न सकिन्छ, उनीहरुका आवाज दबाउन सकिन्छ र पशुलाई जति पिट्यो त्यति सिधा हुन्छ भनेर उल्लेख गरियो । मनिस्मृतिमा उल्लेख गरिएको सजायको प्रावधानहरुबाट नै स्पष्ट हुन्छ कि त्यतिखेरादेखिनै बिद्रोह सुरु भइसकेको थियो । जति बिद्रोह हुन थाल्छ त्यति दमन नगर्ने हो भने जो माथि रहेका ब्राह्मण र क्षेत्री समूहको राज्य ढल्ने, उनीहरुको हालिमुहाली नचल्ने भइसकेपछि राज्यले ती बिद्रोही माथि सजाय गर्ने प्रक्रिया ग¥यो । सजायस्वरुप बहिस्करण गर्ने प्रक्रिया सुरु भयो । बहिस्करण भनेको अरुले जुन कुवामा पानी खान्छन्, त्यो कुवामा पानी खान नदिने, ब्राह्मण क्षेत्रीहरुले प्रयोग गर्ने बाटो–घाटोमा बन्देज लगाउने, अरु जस्तो सुगम ठाउँमा बस्छन्, त्यो ठाउँमा बस्न नदिने, हुँदा–हुँदा त्यसलार्ई छुदै–नछुने । त्यसकारण यो छुवाछुतको सुरुवात जो छ, बिद्रोहलार्ई दमन गर्ने क्रममा सजायस्वरुप बहिस्करणमा लिएको प्रक्रिया हो । जो जसलाई छुवाछूत गर्न थालियो त्यसलाई पन्चम वर्ण भनेर शास्त्रहरुमा भनिएको छ । चौथो वर्णबाहेकको अर्को वर्ण भनेर छुट्याउँदा पनि छुवाछुत सुरु भएको मानिन्छ ।

नेपालको भूभागमा प्रवेश

नेपालमा वर्ण व्यवस्था वा जात व्यबस्था कहिलेदेखि सुरु भएको हो भन्नका लागि यकिन तथ्यांक त भेटिएका छैनन् तर पनि करिब २६०० वर्ष अगाडि नै नेपालको भूमिसम्म आइसकेको केही तथ्यहरुले देखाउँदछ । गौतम बुद्धका कथाहरु, बौद्ध दर्शनका कथाहरु लेखिएको कथालाई जातक कथा भनिन्छ । जातक कथाहरुमा उल्लेख भएअनुसार त्यतिबेला गौतम बुद्धले एकजना चाण्डल युवतीको हातबाट पानी खाएबापत उहाँको ठूलो आलोचना भएको देखिन्छ । चाण्डल भनेको त्यो जात समूह हो जसले चिहान कुर्ने, मूर्दा ल्याइसकेपछि त्यसको कपडा झिकेर लगाउने, मूर्दा जलाउँदा जे–जे कृया गरिन्छ, त्यसको साक्षी बस्ने, मूर्दा जलाइसकेपछि चिहान पखाल्ने गर्थे तर उनलाई मूर्दा छुन भने दिइदैनथियो । त्यसमध्ये एकजना युवतीको हातबाट पानी खाँदा गौतम बुद्धले ठूलो आलोचना खेप्नु प¥यो । यसको मतलब गौतम बुद्धकाल २६०० वर्ष अगाडि नै नेपालको लुम्बिनीदेखि काशीसम्मको क्षेत्रमा जातीय विभेद फैलिसकेको अनुमान गर्न सकिन्छ । वर्ण व्यवस्था वा जात व्यवस्थाको बारेमा बुझ्ने हो भने नेपालको फरक–फरक समयमा पूर्व, पश्चिम् र दक्षिण गरी तीन तिरबाट जात व्यवस्था नेपालमा भित्रिएको देखिन्छ ।

१) नेपालको तराई

नेपालको तराई मधेश विशेषत कोशी नदीदेखि कपिलवस्तुसम्म त्यो बेला त्यहाँभन्दा उता मानव बस्ती नभएको देखिन्छ । जङ्गल क्षेत्र थियो, कोशीभन्दा पारी कोच सभ्यता थियो, जहाँ जात व्यवस्था जस्तो केही कुरा थिएन । नेपालको तराईमा जात व्यवस्था हेर्दा गौतम बुद्ध मधेशी थिए । उनी पाली भासी थिए । गौतम बुद्धको बंश गङ्गा मैदानबाट फैलिँदै उत्तरतिर बसाइ सर्ने क्रममा लुम्बिनीसम्म आइपुगेका थियो । त्यो काल २६०० वर्ष अगाडि थियो । त्यतिबेला त्यहाँ आवाद भइसकेको थियो । यो सँगसँगै नारायणी पारिको बस्तीमा जात व्यवस्था पनि भारतको केन्द्रिय भूमिबाट फैलिँदै–फैलिँदै आइसकेको थियो । नारायणी पूर्व सप्तरीसम्मको कुरा गर्दा कोशीलार्ई साँध बनाएर मिथिला क्षेत्र बनेको थियो । साँढे चार सय वर्ष अगाडि हरिद्वारबाट एउटा जोगी सिताको विवाहमण्डप खोज्दै आउँदा यही ठाउँ हो भनी ती जोगीले भनेको हुँदा त्यही ठाउँमा जनकपुर बनाएको मानिन्छ । केही अभिलेखहरुमा राजा जनकले ब्रह्मसभा (ब्राह्मणको सभा) बोलाएको देखिन्छ । ब्राह्मणको सभा बोलाउने भनेपछि त्यहाँ अरु पनि थिए भन्ने कुरा थाहा पाउन सकिन्छ । यसरी हेर्दा पूर्वी तराईमा २८०० देखि ३००० वर्षको बीचमा नै यो जात व्यवस्था आइसकेको अनुमान गर्न सकिन्छ । त्योभन्दा पनि अझ ठोस कुरा अथवा लिखित कुरा गर्ने हो भने १०१४ को भेटिएको एउटा सरकारी कागजातमा जातको पञ्जिकरण गर्ने प्रथा त्यहाँ सुरु भैइसकेको देखाउँदछ । मधेशतिर अथवा मिथिलातिर एकजना सहलेश भन्ने राजा थियो, उनले त्यसबेला जातपातको विरुद्ध ठूलो लडाइँ लडेको कुरालार्ई हरेक वर्ष त्यहाँ लोक नाटकको रुपमा सहलेशको कथामा खेलिन्छ । उनको काल १८०० वर्ष अगाडिनै हो भनेर समाजशास्त्रीहरुले बताएका छन् । यसरी हेर्दा पूर्वी तराईमा भारतको केन्द्रिय बस्तीबाट बस्ती सर्दै आउने क्रममा स्वतः जात व्यवस्था आएको कुरा प्रमाणित हुन्छ ।

२) बागमती उपत्यका

बागमती उपत्यकामा किरातहरुले दुई सय वर्ष अगाडि ३२ पुस्ताले शासन गरेका थिए । किरातहरु मुन्धुम परम्पराका थिए । संस्कार गर्दा मुन्धुम परम्परामा गर्थे । गाउनु पर्दा, जीवन दृष्टि, पृथ्वीको उत्पत्ति, मान्छेको उत्पत्ति, मानिसहरुको आपसी सम्बन्ध सबै चीजहरुको बारेमा मुन्धुममा आफ्नै तरिकाले ब्याख्या गरिएको छ । ई.स. १७१ देखि २०० को बीचमा वाग्मती उपत्यकामा भारतको वैशालीबाट आएका हिन्दु लिच्छविहरुले आक्रमण गर्दा किरातहरुले हारे, किरातहरुले हारिसकेपछि उनीहरुलाई लखेटियो । जो किसानहरुको रुपमा थियो तिनीहरु जमिनसँग जोडिएको हुनाले उनीहरु भागेनन्, उनीहरुको निम्ति जो शासक भए पनि धेरै फरक पर्दैन, स्वीकार गरेर बस्छन् । तिनै नभागेका किरातहरु हुन्, अहिलेका नेवार भित्रका ज्यापुहरु र जो किरातहरु भागे तिनीहरु बनेपामा गएर १३ महिनासम्म बसे, फेरि फर्किन सकिन्छ कि भनेर प्रयत्न गरे त्यसपछि पनि नसकेपछि उनीहरुलाई त्यहाँबाट लखेटेर तामाकोशी कटाइयो । यसरी किरातहरुलाई हराइसकेपछि किरात कालको अन्य भयो र लिच्छविकालको सुरुवात भयो । यो काल इ.स. २०० भन्दा पछिको हो । यसरी बैशालीबाट आएका लिच्छविहरुले जात व्यवस्था ल्याएर आएका थिए । वाग्मती उपत्यकामा लिच्छविहरुले ४ वर्ण १८ जातको व्यवस्था गरे । लिच्छविहरुको शासनकाल इ.स. ८७९ सम्म चल्यो । त्यसपछि मल्लकाल सुरु भयो, मल्लकालसम्म पुग्दा वाग्मती उपत्यकाको जनसंख्या वृद्धि भइसकेको थियो । जनसंख्या वृद्धि भइसकेको हुनाले १३०५ पछि राजा बनेका जयस्थिति मल्लले भारतका पाँचजना ब्राह्मणहरु मोहिनाथ भट्ट, श्रीनाथ भट्टजस्ता ब्राह्मणहरुलाई बोलाएर लिच्छविहरुले निर्माण गरेको ४ वर्ण १८ जातलाई थपेर ४ वर्ण ६४ जातको व्यवस्था उनीले निर्माण गरेका थिए । यसरी मल्लकालसम्म पुग्दा वाग्मती उपत्यकामा ६४ जातसहितको समाज व्यवस्था भइसकेको थियो । जहाँ छुवाछुतको परम्परा चलिसकेको थियो । वाग्मती उपत्यका भित्रको जात व्यवस्था मल्लकालसम्म जाँदा नेवार भित्र देखिन्छ । किनकि वाग्मती उपत्यका भित्रको किरात हुँदै यसमा अरु थपिँदै नेवार जातिको निमाण हुन पुग्यो ।

३) डोटेली र जुम्लेली सभ्यता

नेपालको कर्णाली क्षेत्रदेखि डोटी क्षेत्रसम्म डोटेली जुम्लेली सभ्यताको विकास भएको थियो । काठमाडौँको नाम यही सभ्यताको भाषाबाट राखिएको थियो । गोरखनाथको मन्दिरलार्ई काष्ठमन्डप भनिन्थ्यो । काठ भनेको काठ र माणौ भनेको मन्दिर वा थान भन्ने अर्थ लाग्थ्यो, त्यसकारण काठमाडौँ राखियो । डोटेली र जुम्लेली सभ्यता त्यतिबेला निकै अगाडि बढेको थियो, पश्चिम नेपालमा दुईथरि मानिसहरू छन् । एउटा युरोपबाट मध्य एसियाको ककेसस भ्याली हुँदै केही हजार वर्ष बिताएर मानसरोवर हुँदै गङ्गा मैदानसम्म फैलिएको खस जाति छ । जसको तीनवटा विशेषता थिए, एउटा मतवाली (जाँड–रक्सि खाने भनेर चिनिन्छ) जाति अर्को प्राकृतिक पुजक वा मस्टो पूजा गर्ने जसमा १२ भाइ मस्टो, ९ बहिनी र ४८ वटा त्यसका प्रवर हुन्छन् । मस्टो पूजा गर्ने, हिन्दु देवीदेवताको पूजा नगर्ने र अर्को जात व्यवस्था नभएको यी तीनवटा खसहरु ई.स. २०० तिरनै जुम्लादेखि डोटीसम्म आएर बसोबास गरिरहेका इतिहासकार बताउँछन् । त्यो बेला ती खसहरुभित्र जात व्यवस्था थिएन । भारतका शंकराचार्यले पाचौँ शताब्दीमा पश्चिम नेपाल हुँदै मानसरोवरसम्मको यात्रा गरे त्यो यात्रा गर्ने क्रम सँगसँगै उनले हिन्दु धर्मको प्रचार–प्रसार गरे त्यसबाहेक पश्चिम नेपालको विशेषगरी भेरी नदी काटेर पश्चिमतिर गइसकेपछि पश्चिम नेपालका मानिसहरु त्यतिबेलादेखि वा त्योभन्दा अगाडि देखिनै भारतमा मुगलहरुको शासन हुँदा पनि त्यहाँ काम गर्न जाने चलन थियो । मुगलहरुको देश भएकाले त्यस ठाउँलाई मुगलान भनिन्थ्यो । मुगलान शब्द त्यतिबेलादेखि आएको हो र त्यतिबेलादेखिनै पश्चिमका मानिसहरु श्रम गर्न मुगलान जान्थे । मुगलानमा हिन्दुहरु बसोबास गर्ने भएका कारण काम गर्न जाने मानिसहरु त्यसबाट अलिकति प्रभावित थिएनै तर खस समाज त्यति बेलासम्म हिन्दुकरण भइसकेको थिएन । दशौ शताब्दी पछि इरानका नातिर शाहलगायतका थुप्रै मुसलमानहरुले पटक–पटक आक्रमण गरे । यसरी दशौं शताब्दीदेखि चौधौं शताब्दीसम्म पटक–पटक इरानी मुसलमानको आक्रमणमा परेका कारणले त्यहाँका हिन्दु राजाहरु अथवा माथिल्लो वर्णका मानिसहरु उपयुक्त जमिनको खोजीमा उनीहरु क्रमशः फाँटतिर सर्न थाले, यसरी सर्ने क्रममा पश्चिमको कुमाउ, गढवाल हुँदै सतलज नदी पार गरेर बिस्तारै नेपालको खस साम्राज्य भएका राजासम्म आइपुगेका थिए । खसहरुसँग मिलेर जात व्यवस्था निर्माण गरेको देखिन्छ । पहिला एउटै खस समूहमा पर्ने मानिसहरु जात व्यवस्थाको कारणले बिस्तारै कमजोर पक्षलार्ई दमन गर्दै हिन्दुत्वकरण गरी जात व्यवस्थाको सिर्जना गरेको देखिन्छ । जनसंख्याको विकास हुँदै जाँदा पश्चिम नेपालका खस आर्य राज्यहरु फैलिँदै पूर्व धरानको विजयपुरसम्म पुगे । सेन वंशी राजाहरु पाल्पाबाट फैलिँदै नुवाकोटको बेलकोट आइपुगे । जुन–जुन ठाउँमा ती हिन्दु राज्यहरु निर्माण भए, त्यो ठाउँमा जात व्यवस्थामा आधारित समाज निर्माण भयो । यसरी नेपालको फरक–फरक तीनवटा क्षेत्रबाट फरक–फरक समयमा नेपालमा जात व्यवस्था भित्रिएको देखिन्छ ।

पृथ्वीनारायण शाह

यससँगै पृथ्वीनारायण शाहले नेपाललार्ई एकीकरण गरेर एउटै बनाउने उद्देश्यअन्तर्गत सिङ्गो नेपालमा पृथ्वीनारायण शाहको नोल्छे दरबारबाट राजकाज सुरु भइसकेपछि वर्ण व्यवस्था वा जात व्यवस्थाको बारेमा पत्तै नपाएको लिम्बुलार्ई पनि जात व्यवस्था मान्नुपर्ने बनाइयो । योभन्दा पहिला जात व्यवस्था हिन्दुहरुको बीचमा मात्रै थियो, नेवार समुदायको बीचमा मात्रै थियो, मधेशभित्र हिन्दुहरुको बीचमा मात्रै जात व्यवस्था थियो । पृथ्वीनारायण शाहको शासनकालबाट हिन्दु गैरहिन्दु सबैलाई जात व्यवस्था मान्नुपर्ने बनाइयो । त्यसपछि जात व्यवस्था देशभरि ब्यप्त रुपमा फैलिएको देखिन्छ ।

जंगबहादुर राणा

जंगबहादुरको शासनकाल सुरु भइसकेपछि त्यति बेलाका राजा सुरेन्द्रबिक्रम थिए । जंगबहादुरको पालामा जात व्यवस्थालार्ई कानुनी मान्यता दिइयो । त्योभन्दा अगाडि जात व्यवस्था प्रथाको रूपमा मात्रै चलेको थियो । जंग ब. को पालामा १९१० को पहिलो मुलुकी ऐन निर्माण गर्दा जात व्यवस्थाका बारेमा अत्यन्तै घीनलाग्दा कुराहरू ऐनमा राखियो । यो ऐनमार्फत आजसम्मको नेपाली समाजको विभेद र असमानतालाई व्यबस्थित गरेर निर्माण गर्ने प्रयत्न थियो । यो मुलुकी ऐनमा एकले अर्कालाई अथवा ठूलो जात भनाउँदाहरुले सानो जातलाई कसरी विभेद गर्ने, कस्तो ब्यवहार गर्ने कुराहरु बुँदागतरुपमा जबर्जस्त राखिएको देखिन्छ । यो मुलुकी ऐनको पुस्तक भित्र तीनथरि कल्पना गरिएका मानिसहरू छन्, एकथरि मानिसहरु तागाधारी (जनै लगाउने) अर्कोथरि मतवाली जसलाई मासिन्या र नमासिन्या मतवाली गरि दुई भागमा बिभाजन गरियो । मासिन्या मतवाली भनेको त्यसलाई मास्न सकिने, मृत्युदण्ड दिन पाइने, किनबेच गरेर कमारो बनाउन पाइने कुनै कानुन नलाग्ने तामाङजस्ता जनजातिलार्ई मासिन्या मतवाली भित्र राखियो । अर्को पृथ्वीनारायण शाह जसलाई युद्ध जित्नका लागि सहयोग गरेका राई, लिम्बु, गुरुङ, मगरजस्ता जनजातिलार्ई नमासिन्या मतवालीअन्तर्गत राखियो । जाँड–रक्सी खाने भएकाले मतवाली भन्दै कमसल जातको रुपमा राखियो । तेस्रो कोटीमा पानी नचल्ने भनी जसलाई दुई भागमा छुट्याएर राखियो, एउटा पानी नचल्ने तर छोइहाल्यो भनेदेखि सुनपानी वा आगो वा होम गरेर चोखिनु नपर्ने गरी मुसलमान, क्रिश्चियन, नेवारभित्रका किलु, कपाली, खड्की जातिलाई राखियो अर्को पानी पनि नचल्ने यदि छोइहाले पछि होम गरेर हुन्छ कि, सुनपानीले चोख्याएर हुन्छ, जसरी पनि शुद्ध बनाएर प्रयोग गर्नुपर्ने भनी जो आजको दलित जाति छ त्यसलाई राखियो ।

विर्ता

जंगबहादुरको पालामा विर्ता दिने चलन थियो । त्यतिबेला जग्गालार्ई ठूलो सम्पत्तिका रुपमा मानिन्थ्यो । जग्गालार्ई विर्ताका रुपमा आफ्ना नजिकका खलकलाई दिने व्यवस्था कानुनबाट नै सुरु भयो । विर्ता दिँदा अछुत, मासिन्या, नमासिन्या भित्र राखिएका कसैलाई पनि विर्ता दिइएन । विर्ता पृथ्वीनारायण शाह र जंगबहादुर खलकका नजिकका मान्छेहरु, पुरेतहरु, उनका जर्नेलहरु, हाकिमहरु र राजा महाराजाका चार किसिमका श्रीमतीले मात्रै पाए । उतिबेला शासकहरुका चार किसिमका श्रीमती हुन्थ्यो । एउटा ब्याइते भनेर चिनिन्थ्यो, जसलाई राजकुमार जन्माउनका लागि राखिन्थ्यो, अर्की ल्याइते श्रीमती जसले बच्चा त जन्माउने, देखाउने पनि तर राजकुमार हुन पाउने अधिकार नहुने, अर्की भित्रिनीपट्टिकी श्रीमती जसलाई श्रीमती त मान्ने तर बाहिर नदेखाउने र अर्की कोठे श्रीमती जसलाई मनोरञ्जनका रूपमा राखिन्थ्यो । यी चारवटै श्रीमतीबाट जन्मिएका बच्चाहरुलाई विर्ता तोकेर लेखेर दिन्थ्यो । काम केही पनि गर्दैनथे तर किसानहरुले बनाएको सबै जमिनलार्ई सिंहदरबारमा बसेर ताम्रपत्रमा लेख्दै विर्ता दिन्थ्यो । यसरी जिल्ला जिल्ला विर्ता, जङ्गल–जङ्गल विर्ता, डाँडापाखा सबै विर्ता दिन्थ्यो । यो विर्ता सबै क्षेत्री, ब्राह्मणले पाएनन् आफ्ना आमुक नजिकका ब्यक्तिहरुलाई मात्र दिइयो । जसले विर्ता पाए उनी धनी सम्पन्न भए अरु झन् गरिब भए, किसानहरुले बनाएका उब्जाउ जमिन समेत लुटियो । २००७ सालभन्दा पछाडि भएका प्रधानमन्त्रीहरुमध्ये अपवाद (मरिचमान सिंह) बाहेक अरु सबै विर्ता पाउने खलकका मान्छेहरु मात्रै प्रधानमन्त्री र राज्यको उपल्लो तहमा पुगेको देखिन्छ ।

अन्त्यमा, यसरी सिन्धु घाँटीको सभ्यता हुँदै नेपालमा लिच्छवि, जयस्थिति मल्ल, पृथ्वीनारायण शाह र जंगबहादुरले निर्माण गरेको जात व्यवस्थालाई २००७ सालपछिका सासकहरुले संविधानमा केही लेखे पनि ब्यवहारमा विभिन्न बहाना देखाउँदै आधुनिक युगमा पनि जातीय विभेद कायम राखेका छन् । विभिन्न राष्ट्रिय मुक्तिका आन्दोलन होस् कि जातीय मुक्तिको आन्दोलनमा उत्पीडित जाति समुदायले उच्च बलिदानीसहितको महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । पछिल्लो समयमा शिक्षा, विज्ञान र प्रविधिको विकाससँगै मानिसहरूको सोच्ने शैली, ब्यवहार र क्षमतामा केही मात्रामा फरक आएकैछ तर जुन मात्रामा हाम्रो सोच्ने शैली र गर्ने व्यवहारमा परिवर्तन आउनुपर्ने हो । त्यति आएको पाइँदैन अझै पनि जातीय विभेदका कारण धेरै दलितहरू मारिएका छन्, पिटिएका छन्, जातीय विभेदको शिकार भएका छन् । राज्यका सबै निकायहरु राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा उत्पीडित जातिको न्यून मात्रामा पहुँच छ । अहिले पनि राज्यका सबै क्षेत्रमा एउटा विशेष जातिको मात्रै पहुँच र हालिमुहाली छ । अन्य क्षेत्रमा भएको बिकाससँगै जातीय विभेद गर्ने शैलीमा पनि फरक तरिकाले विकास गर्दै डरलाग्दो अवस्थामा पुगेको छ । यो अत्याधुनिक जमानामा हामी एउटा जातीय विभेद जस्तो सानो समस्यालार्ई हल गरेर जान सक्दैनौँ अनि कहाँ विकसित राष्ट्रको रुपमा उदाउन सक्छौ, कसरी नेपाली जनतालाई सुखी र खुसी पार्न सक्छौँ । यो सबै अहिलेसम्मका नेपालका शासक, नेतृत्व, व्यवस्थाको कमजोरी हो । यो व्यवस्थाले नेपाली समाजलाई अग्रगामी भएर कहिल्यै सोच्न दिएन पछाडि मात्रै फर्कायो, एक निश्चितवर्ग वा जातलाई मात्र राज्यको निर्णायक बनायो, उत्पीडित वर्ग समुदायलार्ई राज्यका आर्थिक, सामाजिक, राजनीतिलगायतका क्षेत्रमा जाने बाटो कमजोर बनायो, एउटै जाति समुदायलाई धनी बनायो, गरिबलार्ई झन् गरिब बनायो, अहिलेको समयमा पनि नेपाली समाजलार्ई पुरानै शैलीबाट सोच्ने गरायो, सबै मानिसहरु एउटै हुन भन्ने शिक्षा दिएन त्यसकारण अबको बाटो सम्पूर्ण उत्पीडित र दमित वर्गलार्ई एकताबद्ध गराएर सबै खाले विभेद, उत्पीडनको अन्त्य गर्दै न्याय दिने, राज्यको पहुँचमा स्थापित गर्ने, विकासलार्ई तीव्रता दिने सम्पूर्ण उत्पीडित जनताको मुक्तिका लागि एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवादी व्यवस्थाको बाटोमा एकताबद्ध हुन जरुरी भइसकेकोछ ।

(लेखक ः अध्यक्ष अखिल (क्रान्तिकारी) जिल्ला समिति विशेषका अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु