इङ्ल्याण्ड युरोकपको सेमिफाइनलमा प्रवेश

२०७८ असार २० गते, आईतवार


काठमाडौं । इटालीको रोममा गएराति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डलाई सानदार जित दिलाउन कप्तान ह्यारी केनले दुई, ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । कप्तान केनले चौँथौ र पचासौँ, मग्वाएरले ४६औँ र हेण्डरसनले ६३औँ मिनेटमा गोल गरेका हुन् । जितसँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । इङ्ल्याण्डले प्रिक्वाटरफाइनलमा जर्मनीलाई २–० गोल अन्तरले हराएको थियो । अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।
गएराति नै भएको खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो । अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरे । डेलानेले खेलको पाँचौ र डोलवर्गले ४२ औं मिनेटमा गोल गरेका हुन् । चेक गणतन्त्रका लागि प्याट्रिक सिकले ४९औँ मिनेटमा एक गोल फर्काए । डेनमार्कविरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोकपमा ५ गोल पूरा गरेका छन् । यससँगै प्याट्रिकले गोल्डेन बुटको दाबेदारमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् ।

डेनमार्क सन् १९९२ पछि पहिलो पटक युरो कपको सेमिफाइनलमा पुगेको हो । डेनमार्कले प्रिक्वाटरफाइनलमा वेल्सलाई ४–० ले हराएको थियो । गएरातिका खेलसँगै युरोकपको सेमिफाइनल समिकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि आगामी बुधवार राति इटाली र स्पेन तथा विहीवार राति डेनमार्क र इङल्याण्ड भिड्नेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु