नेपालको सबैभन्दा ठूलो मानवनिर्मित तालमा जेटबोट सञ्चालन !

२०७८ असार ११ गते, शुक्रबार


काठमाडौं । नेपालको सबैभन्दा ठूलो मानवनिर्मित तालमा जेटबोट सञ्चालनमा आएको छ । सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण भएको सो तालमा वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बिहीबार एक कार्यक्रमका बीच सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गरेपछि सो तालमा जेटबोट सञ्चालनमा आएको हो । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वाग्मती–४ मा निर्माण भएको सो मानवनिर्मित तालमा विसं २०७८ वैशाख १ गतेदेखि वाग्मती इन्टरटेनमेन्ट प्रालिले दुईवटा मोटरबोट सञ्चालन गरेको थियो भने बिहीबारदेखि जेटबोट कुदाइएको नगरप्रमुख थापाले बताए ।
सो ताल प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको छ । तालमा विभिन्न ठाउँबाट दैनिक हजारौँ आन्तरिक पर्यटक आउने गरेको पाइएको छ । नगरप्रमुख थापाको विशेष पहलमा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको सो तालकोे कूल गहिराइ ३५ फिट रहेको छ । तालको कूल लागत रु ६० करोड निर्धारण गरिएको छ भने हालसम्म रु ३७ करोड लगानी भइसकेको उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन ।
गर्मी महिनामा मोटरबोट चढेर गर्मी भगाउन र मनोरञ्जन लिन तथा बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक उक्त तालमा आउने गरेका छन् । लगभग १५ देखि १८ मिनेटसम्मको मोटरबोटको यात्रा सकिँदा पोखराको फेवातालभन्दा बढी मनोरञ्जन हुने पर्यटकको भनाइ छ । यस तालमा हंसराज प्रजातिको हाँससमेत पालिएको छ । उक्त हाँसले तालमा पौडी खेलेको दृश्य देख्दा मनै लोभिने गरेको पर्यटक बताउँछन् । तालमा केही समयपछि माछासमेत पालन गरिने नगरपालिकाले जनाएको छ । भरत ताल निर्माणको सम्पूर्ण काम करिब दुई महिनाभित्रमा सकिने नगरप्रमुख थापाले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार