‘विपत्तिमा परेका जनताको उद्धार , र राहत , व्यवस्थापन गर ‘

२०७८ असार ४ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले अबिरल बर्षाका कारण देशैभरि बाढी, पहिरो र डुबानले जनजीवन कष्टकर भइरहेका विपत्तिमा परेका जनताहरूलाई तत्काल राहत, उद्धार, व्यवस्थापनका लागि नेपाल सरकारसँग माग गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तब्ध परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल निःशुल्क उपचार गर्न मागसमेत गरेको छ ।
जिल्ला इन्चार्ज अपेक्षा र सेक्रेटरी प्रभातले बिहीबार प्रेस विज्ञप्ति निकाली प्राकृतिक विपत्तिमा राज्यले देखाएको उदासिनताका कारणले जनताहरू जोखिम व्यहोर्न बाध्य भएको बताउँदै तत्कालीन र दीर्घकालिन जोखिम न्युनिकरणका लागि राज्य गम्भीर बन्न नसकेकोले विपतका अवस्थामा सम्पूर्ण पार्टी पङ्क्ति र सम्बन्धित सबै पक्षलाई उद्धार, राहत र व्यवस्थापनका लागि तदारुकताका साथ लाग्न अनुरोध गरेका छन् ।
इन्चार्ज अपेक्षा र सेक्रेटरी प्रभातको विज्ञप्तिमा भनिएको छ, ‘यहीँ जेठ ३१ गतेदेखि अबिरल बर्षाका कारण देशैभरि बाढी, पहिरो र डुबानले जनजीवन कष्टकर भइरहेको छ । पाल्पा जिल्लाको रिब्दिकोट गा.पा वडा नं.४ मन्छिप, रैनादेवी छहरा गाउँपालिका वडा नं.५ बासडाँडा, ओखरबोट लगायतका ठाउँहरूमा पहिरोले थुप्रै घर र गोठहरू भत्काई ठूलो धनजन र पशु चौपायाँको क्षति भई थुप्रै परिवारहरूको विचल्लि भएको छ । पाल्पा रिब्दिकोट गा.पा. वडा नं.४ का १९ बर्षीय मदन भट्टराईको मृत्युु भएको छ । बासडाँडा वडा नं.५ बस्ने रामबहादुर पुन घाइते हुनु भएको छ ।’
इन्चार्ज र सेक्रेटरीको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तब्ध परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । घाइते रामबहादुर पुनको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल निःशुल्क उपचार गर्न माग गर्दछौँ । विपत्तिमा परेका जनताहरूलाई तत्काल राहत, उद्धार, व्यवस्थापनका लागि नेपाल सरकारसँग माग गर्दछौँ ।’
अपेक्षा र प्रभातको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘प्रत्येक बर्ष प्राकृतिक विपत्तिमा राज्यले देखाएको उदासिनताका कारणले जनताहरू जोखिम व्यहोर्न बाध्य छन्, तत्कालीन र दीर्घकालिन जोखिम न्युनिकरणका लागि राज्य गम्भीर बन्न जरुरी छ । यो विपतका अवस्थामा सम्पूर्ण पार्टी पङ्क्ति र सम्बन्धित सबै पक्षलाई उद्धार, राहत र व्यवस्थापनका लागि तदारुकताका साथ लाग्न अनुरोध गर्दछौँ ।’

प्रतिक्रियाहरु