‘सहिद, बेपत्ता, घाइते र अपाङ्गहरूका सपना र नेपाली जनताका मुद्दाहरू पराजीत भएका छैनन् ‘

२०७८ असार ४ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सहिद, बेपत्ता, घाइते र अपाङ्गहरूका सपनाहरूले नहारेको भन्दै उनीहरूले देखाएको बाटोमा निरन्तर अघि बढ्नुपर्ने बताएका छन् । नेता बास्तोलाले राज्यद्वारा बेपत्ता पारिएका जनयुद्धका सहिद तथा बेपत्ताहरूको स्मरणमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दा उक्त कुरा बताएका हुन् ।
नेता बास्तोलाले सहिद, बेपत्ता, घाइते र अपाङ्गहरूका सपना र नेपाली जनताका मुद्दाहरू पराजीत नभएको बताउदै माआोवादी आन्दोलनलाई नयाँ तरिकाले पुर्नगठित गर्दै नेपाल कम्युनिस्ट पार्टी अघि बढिरहेको बताए। उनले सहिद बेपत्ताहरूले नहारेको बरू माओवादी आन्दोलन पुर्नगठित भएर अघि बढेको ठोकुवा गरे । नेपालमा राजतन्त्रको अन्त हुने र गणतन्त्र स्थापना हुनुमा सहिद बेपत्ताहरूकै बलिदान भएको उनले बताए । उनले भने -‘संसदवादीहरूले जुन उपलब्धी भनेका छन्, त्यो सबै हाम्रा सहिद बेपत्ताहरूको बलमा भएको हो । तर जसले पुरानो सत्ता बचाउन जनताका विरुद्ध लडेका थिए, उनीहरूलाई सहिद घोषणा गरिएको छ । नेपाली जनताका सबै खालका समस्याहरू हल गर्न र सहिदका सपना पूरा गर्नका लागि नयाँ आन्दोलन र नयाँ क्रान्तिहरू भए ।’
कार्यक्रममा बरिष्ठ अधिवक्ता, अधिकारकर्मी तथा बेपत्ता योद्धा विपिन भण्डारीका बुवा एकराज भण्डारीले विपिन भण्डारीको जिवनीको बारेमा चर्चा गर्दै सम्पूर्ण सहिद बेपत्ताहरूले राजतन्त्रको अन्त्यको लागि आन्दोलन गरेको भएपनि उनीहरूको बेवास्ता गरिएको बताए । जसले राजतन्त्रको बचाउ गर्न जनताका छोराछोरीहरूलाई बेपत्ता पारे र हत्या गरे उनीहरूलाई नै सहिद घोषणा गरिएको भन्दै भण्डारीले आज बेपत्ता पारिएकाहरूको अवस्थाको बारेमा सार्वजनिक नगरिएको बताए । जसको कासनमा जनयुद्धमा मानिसहरू सहिद, बेपत्ता, घाइते र अपाङ्ग भएका थिए उनीहरू नै संसदीय व्यवस्थामा छिरेपछि बेपत्ताहरूको अवस्था सार्वजनिक हुन नसकेको बताए । भण्डारीले भने, ‘हाम्रा सन्ततीले लिएको सपना जब पूरा हुन्छ, तब मात्र हामीलाई मनमा शान्ति हुन्छ । बेपत्ता योद्धाहरूको सपना पूरा गर्नलाई जनताको व्यवस्था आउनुपर्ने हुन्छ । माओवादीबाट मारिएकाहरूलाई सामाजिक सुरक्षा गर्यो तर राज्यबाट मारिएकाहरूलाई गरेन । त्यसकारण राज्यद्वारा बेपत्ता पारिएकाहरूको पनि सामाजिक सुरक्षा हुनुपर्दछ ।’
यस्तै नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन र राज्यद्वारा बेपत्तायोद्धा परिवार समाजकी विभागीय इन्चार्ज एवम् जनयुद्धमा बेपत्ता पारिएका बेपत्ता योद्धा विद्यार्थी नेता पूर्ण पौडेलकी जीवनसाथी सावित्रा दुरा ‘आस्था’ ले बेपत्ता योद्धाहरूको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने भन्दै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने बताइन् । साथै सहिद बेपत्ता योद्धाका परिवारहरूलाई राज्यले अभिभावकत्व लिनुपर्ने बताइन् । उनले भनिन्, ‘राज्यले सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्दछ । बेपत्ताहरूको अवस्था सार्वजनिक हुनुपर्दछ । प्रचण्डहरू पटकपटक सत्तामा दोहरीए पनि सहिद बेपत्ताका माग पूरा भएनन्, किनकी सही बिचार बोकेको नेतृत्वले बाटो बिराएपछि सहिद बेपत्ताहरूको माग पूरा भएको हो ।’ अपराधीहरूलाई विनाशर्त कानुनको दायरामा ल्याएर कारवाही गर्नुपर्ने माग गरिन् । सही ठाउँमा उभिएर सही कार्यदिशा सहित अघि बढेको खण्डमा सहिद बेपत्ताहरूको सपना पूरा गर्ने विश्वास व्यक्त गर्दै आस्थाले सहिद बेपत्ता योद्धाहरूका परिवारहरू केही निराश भएपनि आफूहरू आन्दोलनबाट नथाकेको बताइन् ।


यस्तै नेपाल कम्युस्टि पार्टीकी केन्द्रीय सदस्य तथा जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनकी अध्यक्ष एवम् सहिद नन्द न्यौपानेकी जीवन साथी खुमा सुवेदीले वैज्ञानिक समाजवादी व्यवस्थाको लक्ष्य लिएको पार्टीले सम्पूर्ण सहिद बेपत्ताहरूको अभिभावकत्व लिनुपर्ने भन्दै सहिद बेपत्ताहरूको व्यवस्थापनको बारेमा पनि ध्यान दिनुपर्ने बताइन् । सहिद बेपत्ताहरू आन्दोलनका पुँजी भएको कारण जसले यसलाई ध्यान दिन सक्यो उसैको पक्षमा आन्दोलनले गतिलिने बताइन् ।
यस्तै अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले कम्युनिस्ट मूल्य मान्यता र आर्दशलाई शिरोपर गरेर अघि बढ्ने बताउँदै बेपत्ता पारिएका योद्धा साथीहरूलाई स्मरण गर्दै बेपत्ताहरूले लिएको सपना साकार पार्ने बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे । सहिद बेपत्ताहरूले लिएको सपना मेट्ने जुन प्रयत्न गरिँदैछ त्यो नै सबभन्दा खतरनाक भएको उनले भने ।
बेपत्ता विद्यार्थी नेताहरू विपिन भण्डारी, दिलबहादुर राई, रामहरी रुपाखेती, देवराज पौडेल, कृष्णबहादुर बस्नेत र मनमाया पुरी गरी ६ जनालाई तत्कालीन शाही सरकारले २०५९ साल असार ३ गते काठमाडौँका विभिन्न ठाउँबाट गिरफ्तार गरेर बेपत्ता पारेको थियो । बेपत्ताहरूको अवस्था सार्वजनिक होस् भन्ने अभियान अन्र्तगत बिहीबार आयोजना गरिएको भर्चूअल कार्यक्रमको अध्यक्षता बेपत्ता योद्धा विपिन भण्डारीकी आमाले गरेकी थिइन् भने सञ्चालन राम भण्डारीले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु