बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती

२०७८ असार २ गते, बुधबार


काठमाडौँ । ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गर्न त्रिपक्षीय सम्झौता भएको छ । मंगलबार ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका महानिर्देशक अर्जुन थापाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । कार्यक्रममा महर्जनले स्मार्ट सडकबत्ती जडान गर्न करिब रु १७ करोड ३६ लाख लाग्ने अनुमान गरिएकामा महानगरपालिकाले कूल लागतको ६० प्रतिशत रकम बेहोर्ने बताए । उनले भने , “हामी ललितपुरलाई उज्यालोका साथै सुरक्षित शहर बनाउने अभियानअन्तर्गत यस काममा लागि परेका हौँ । चक्रपथ क्षेत्र हेर्दा आधुनिक अनि आकर्षक देखिए पनि असुरक्षित रहँदा रातमा हुने दुर्घटनामा परी धेरैको ज्यान गएको छ ।” महानगरपालिकाले खर्च गर्ने भनिएको रकममध्ये रु तीन करोड विभागले पनि खर्च गर्ने सहमति भएको महानगरपालिकाले जानकारी गराएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सडकबत्ती प्रभावकारी भएको जनाउँदै आफूहरुले बत्ती जडानमा लाग्ने बाँकी ४० प्रतिशत रकम बेहोर्ने सम्झौता गरेको बताए ।
यसअघि महानगरपालिकाले शहरलाई सुन्दरका साथै भयमुक्त गराउन वाग्मती पुलदेखि जावलाखेल, लगनखेल हुँदै सातदोबाटो, हिमालय होटल, पाटनढोका, अशोक हल, क्वालखु हुँदै मङ्गलबजार लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्काेसम्म ६६९ स्मार्ट सडकबत्ती जडान गरिसकेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु