पेट्रोलियम ढुवानीमा संलग्न ट्यांकरका चालक- सहचालकलाई खोप लगाइदै

२०७८ असार २ गते, बुधबार

काठमाडौँ । आजदेखि पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाइदै छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच हिजो भएको छलफल अनुसार आजदेखि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउन थालिएको हो ।
चालक र सहचालकलाई खोप लगाउने सहमति भएसँगै निगमको अमलेखगन्ज र थानकोटस्थित डिपोबाट हिजोदेखि नै डिपो अपरेशनको कार्य शुरु भएको छ । योसंगै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले थानकोट र अमलेखगन्जमा खोपका कारण पेट्रोलियम पदार्थको लोड अनलोड तथा बिक्री वितरणमा गर्दै आएको बन्दको कार्यक्रम फिर्ता भएको छ ।
सरकारले सञ्चालन गरेको खोप कार्यक्रमअन्तर्गत निगमको १ नं प्रादेशिक कार्यालय विराटनगर, लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी, भैरहवा, नेपालगन्ज, चारआलीमा ट्रक तथा ट्याङ्कर चालक, सहचालकलाई खोप लगाउने काम सम्पन्न भइसकेको छ ।
निगमको जनकपुर, पोखरा तथा अमलेखगन्ज डिपोमा अहिले खोप लगाउने कार्यक्रम भइरहेको छ । एलपी ग्यास उद्योगी, ग्यास बिक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदूरलाई क्रमिक रुपमा खोप लगाइँदै जाने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु