इजरेलद्वारा गाजामा हवाई आक्रमण

२०७८ असार २ गते, बुधबार


काठमाडौँ । इजरेली वायु सेनाले गाजा स्ट्रिपका निशानाहरूमा हवाई आक्रमण गरेको छ। प्यालेस्टिनी सुरक्षा फौज, प्रत्यक्षदर्शीले दिएका विवरणको इजरेली सेनाले पुष्टि गरेका छन्। इजरेलले हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरेलमा पठाएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको उल्लेख गरेका छन्। हमासको एउटा रेडियो स्टेसनले एउटा तालिम केन्द्र पनि निशानामा परेको जनाएको छ। उक्त उग्रवादी समूहले जेरुसलेममा भएका प्रदर्शनका कारण मङ्गलवारलाई ‘आक्रोशको दिन’ भनेको थियो। बुधवार सबेरै गाजामा विस्फोटनका आवाजहरू सुनिएका थिए।
यसअघि आगलागी गराउने क्षमता भएका बेलुन बम पनि भनिने कैयौँ बेलुनहरू गाजाबाट मङ्गलवार इजरेलतर्फ पठाइएका थिए। दुवै पक्ष मे २१ मा लडाइँ अन्त्य गर्दै युद्धविराम गर्न सहमत भएयताको यो सबैभन्दा ठूलो तनाव हो। एउटा विज्ञप्तिमा इजरेली डिफेन्स फोर्सले हमासको खान युनिस र गाजा सिटीमा रहेका सैन्य हाताहरूमा उसका लडाकु जेटहरूले आक्रमण गरेको उल्लेख गरेको छ। ती परिसरमा ‘आतङ्कवादी गतिविधि’ भएको भन्दै उसले आइडिएफ निरन्तर गाजा स्ट्रिपबाट भएका त्यस्ता कार्य रोक्न ‘सबै परिस्थितिका लागि तयार’ रहेको उल्लेख गरिएको छ। हवाई आक्रमणहरूले गराएको हताहातीबारे प्रष्ट भइसकेको छैन। तर गाजामा रहेका बीबीसी संवाददाताले सामाजिक सञ्जालमा उक्त भूभागमा इजरेली ड्रोनहरूको आवाज सुनिएको उल्लेख गर्दै भिडिओ राखेका छन्।
इजरेलको अग्नी सेवाले यसअघि गाजाबाट पठाइएका आगलागी गराउने क्षमताका बेलुनहरूका कारण दक्षिणी इजरेल कम्तीमा २० वटा आगलागी भएका उल्लेख गरेको थियो।
पूर्वी जेरूसलेममा इजरेली राष्ट्रवादीहरूले मङ्गलवार गरेको र्‍यालीको विरोधमा कदम चाल्ने पनि चेतावनी दिएको थियो। उक्त र्‍याली सन् १९६७ मा इजरेलले पूर्वी जेरुसलेम कब्जा गरेको सन्दर्भमा आयोजना गरिएको थियो।
मे महिनाको प्रारम्भमा नै आयोजना गर्ने योजना बनाइएको भएपनि प्रहरीले अनुमति नदिएपछि र हमासको चेतावनी आएपछि केही ढिला भएको थियो। इजरेली प्रहरीसँगको झडपमा ३० भन्दा बढी घाइते भएका छन् र १७ जना गिरफ्तार भएका छन्। र्‍यालीअघि स्थानीय सञ्चारमाध्यमले इजरेलको सेनालाई उच्च सतर्कतामा राखिएको जनाएका थिए। त्यसबाहेक प्यालेस्टाइनबाट हुने सम्भावित रकेट हमलालाई लक्षित गर्दै इजरेलको आरन डोम मिसाइल प्रणालीलाई पनि सक्रिय तुल्याइएको भनिएको थियो।- बीबीसी

प्रतिक्रियाहरु