अविरल बर्षा र बाढी पहिरोको बितन्डा

२०७८ असार २ गते, बुधबार


काठमाडौँ । अविरल बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु बजार क्षेत्रमा आएको बाढीका कारण ७ जना बेपत्ता भएका छन् । हेलम्बुमा रहेको नेपाली सेना, नेपाल प्रहरीको क्याम्प, मेलाम्ची खानेपानी आयोजनास्थल लगायतमा क्षति पुगेको र सातजना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रकाश सापकोटाले संसारन्युजलाई जानकारी दिएका छन् । ‘अहिलेसम्म ७ जना बेपत्ता भएको जानकारी आएको छ । अन्य क्षतिको विवरण संकलन गरिरहेका छौं ।’ सापकोटाले भने ।
मेलाम्ची खानेपानीको मुहान अम्बाथानबाट उर्लेर आएको बाढीले आयोजनामा कार्यरत चिनिया कामदारको क्याम्प तथा आयोजनाको सुरक्षामा खटिएका प्रहरीको क्याम्पमा समेत क्षति पुगेको हो । इन्द्रावती र मेलाम्ची नदीमा आएको बाढीले मेलाम्ची बजारको बसपार्क क्षेत्रमा क्षति पुर्याएको छ । बाढीका कारण पुल, पार्क, कर्भड हल लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ । मंगलबार रातिदेखि बाढी र पहिरो झर्न थालेपछि स्थानीय किउल, ग्यालथुम, तिपेनी, तालामाराङ, लगायतका स्थानीयबासीहरु घर छोडेर सुरक्षित स्थानमा बसेका छन् ।जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बजार क्षेत्रको एउटा घर ढल्दा सोहि घरले पुरिएका २ जनाको उद्धार गरेर काठमाडौं लैजान लागिएको जानकारी दिए । उनले क्षतिको एकिन विवरण आइ नसकेको बताए ।


यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङले सिन्धुपाल्चोकको मेलाम्ची बजार क्षेत्रमा आएको बाढीले प्रभावित भएकाहरुको उद्धार तथा राहतमा जुट्न सबैलाई अपिल गरेका छन् । मन्त्री तामाङले मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याममा समेत क्षति गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको बताउँदै प्राकृतिक बिपत्तिमा सबैलाई संयमतापूर्वक उद्दार र राहातमा जुटन समेत अपिल गरेका हुन् ।
‘यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण बगाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । सामाजिक संजालमार्फत् अपिल गर्दै उनले भनेका छन्, ‘स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु,’ अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु । मलाई सम्पर्क गर्न ९८५१०४०८२१ मा गर्नुहोला । मेरो स्वकिय निर्मल बन्जारा ९८५११७५३१० हो स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनुहोला । आजै निरिक्षण हुने जानकारी गराउँदछु । खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।’
यता , अबिरल बर्षाका कारण आएको बाढीले मनाङको सदरमुकाम चामेमा ६ वटा घर बगाएको छ । चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर बगाएको हो । बाढीले चामे बजारका अन्य घरमा पनि क्षति पु¥याएको छ । सोमबारदेखि परेको अविरल वर्षाले मनाङको जनजीबन प्रभाबित भएको छ । खोलाका बीचमा रहेका सरकारी कार्यालयदेखि निजी घर जोखिममा परेका छन् । चामेस्थित जिल्ला प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको कार्यालय र केही निजी घर बाढीको बीचमा परेका छन । मनाङको ताल गाउँका आधा घर पनि डुबानमा परेका छन् ।

बाढी र पहिरोले राष्ट्रिय प्रसारण लाइनका पोलहरु पनि बगाएको छ । बाढीले चामे जलविद्युत आयोजनाको कुलो पनि बगाएको छ भने तिमाङ लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । बाढीले तिमाङको बेलीब्रिज समेत बगाएको छ । बाढी र पहिरोबाट मावनीय क्षति हुन नदिन प्रहरी र सेना परिचालन गरिएको प्रशासनले जनाएको छ ।

यसैगरी , तीन दिनदेखिको अविरल वर्षाका कारण खसेको पहिरोले लुम्बिनी प्रदेशका दर्जन बढी सडकहरु अवरुद्ध भएका छन् । बुटवल-नारायणगढ खण्डको देवदह नजिकै डाइभर्सन बगाउँदा मंगलबारदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग बुधबार पनि खुल्न सकेको छैन । निरन्तर वर्षा जारी रहेका कारण वैकल्पिक सडक बनाउन नसकिएकाले बुधबार साँझसम्म पनि राजमार्ग खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लिनारायण पाण्डेयले बताए । यस्तै सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो खस्दा उक्त सडक पनि मंगलबारदेखि नै पूर्णरुपमा अवरुद्ध छ । यो खण्डको तिनाउ-५ कालिमाटी, तानसेन-८ को गौडापुल, जरेपिपल तथा तानसेन-१४ गाईघाटमा पहिरो गएको छ ।
गौडापुलमा पहिरोले ५० मिटर सडक भत्काइदिएको छ । जसले गर्दा बुटवलदेखि पाल्पा हुँदै स्याङजा पोखरा र गुल्मी बागलुङतर्फको यातायात सेवा सुरु हुन केही दिन लाग्ने डीएसपी पाण्डेले बताए।
यस्तै तानसेन-रिडि खण्डको हार्थोक, मालमुल लगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस्तै रिडी-तम्घास र रिडी-वामीटक्सार खण्डमा पनि ठाउँठाउँमा पहिरो खसेका कारण ती सडक पनि अवरुद्ध भएका डीएसपी पाण्डेले बताए । पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा-४ हुमिन, बगनासकालीको शेरालगायतका क्षेत्रमा पनि पहिरोका कारण आर्यभन्ज्याङ-रामपुर सडक अवरुद्ध छ ।
यस्तै गोरुसिङ्गे-सन्धिखर्क सडकको फुदवाङ, प्युठान-भालुवाङ सडकको सरुमारानी-४ खहरेखोलामा पहिरो जांदा ती सडक पनि बन्द हुँदा रोल्पा, प्युठानको यातायात सेवा विच्छेद भएको डीएसपी पाण्डेले बताए । बुटवल-नेपालगन्ज राजमार्ग भने सुचारु रहेको उनले बताए । भारी वर्षा नरोकिएकाले यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार