विप्लवद्वारा गोरे दाईप्रति श्रद्धाञ्जली

२०७८ असार २ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका पुर्व केन्द्रीय सल्लाहकार, पुर्व केन्द्रीय सदस्य रोल्पा निवासी पूर्णबहादुर रोकाको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । मङ्गलबार ७३ वर्षको उमेरमा निधन भएका गोरेप्रति श्रद्धाञ्जली वक्तव्य जारी गर्दै महासचिव विप्लवले क्रान्तिकारी आन्दोलनका एक अभिभावक पूर्णबहादुर रोका ‘गोरे दाई’को निधनले आफू स्तब्ध र दुःखी भएको बताएका छन् । गोरे दाई नेपाली क्रान्तिको किल्ला रोल्पा थवाङ मात्र नभई नेपाली कम्युनिस्ट आन्दोलनकै एक महत्वपूर्ण धरोहर भएको भन्दै विप्लवले आजिवन क्रान्ति र मुक्ति आन्दोलनमा निरन्तर अविचलित व्यक्तिको निधनले आफ्नो पार्टी र समग्र आन्दोलनमा अपुरणीय क्षति भएको उल्लेख गरेका छन् ।
महासचिव विप्लवको वक्तव्यमा भनिएको छ –‘रोल्पा जिल्लाको थवाङ गाउँपालिका २ निवासी पूर्णबहादुर रोकाको जन्म वि.सं.२००६ साल भादौ १२ गते भएको थियो । युवा अवस्थादेखि नै पार्टी आन्दोलनमा आबद्ध उहाँ कुशल सङ्गठक हुनुहुन्थ्यो । उहाँले रोल्पा जिल्लाको सङ्गठन निर्माण र विस्तार कार्यमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । थवाङमा भएका राज्यको अनेकौँ दमन र प्रतिरोध सङ्घर्ष, महान् जनयुद्ध र अन्तरसङ्घर्षका क्रममा समेत उहाँ सधै क्रान्तिकारी विचारका पक्षमा दृढतापूर्वक उभिनुभयो । सम्पूर्ण परिवारलाई क्रान्तिमा सहभागी बनाउने उहाँ महान् सहिद क. लली रोकाका दाजु हुनुहन्छ । हाम्रो पार्टी आदरणीय क.पूर्णबहादुर रोका ‘गोरे दाई’ ले नेपाली क्रान्तिकारी आन्दोलनमा पुर्याउनु भएको महत्वपूर्ण योगदानको स्मरण र सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।’

प्रतिक्रियाहरु