राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण सुरु

२०७८ असार १ गते, मंगलवार

काठमाडौं । नेपाल भलिबल संघका अनुसार आजदेखि राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण सुरु हुँदैछ। कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगित गरिएको थियो। प्रशिक्षणका लागि टोलीका अधिकांश खेलाडी काठमाडौं आइसकेको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए। संघले बोलाएको ३० खेलाडीमध्ये अहिले २५ खेलाडी प्रशिक्षणका लागि आइपुगेका छन्। अन्य खेलाडी पनि आउने क्रममा रहेको उनले बताए।
संघले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरी प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो। जेठ १४ गते बसेको संघको बैठकले जगदिशप्रसाद भट्टलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ।
संघका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक भट्ट र प्रज्वलबहादुर सिंह सम्मिलित छनोट समितिले खेलाडी छनोट गरेको हो। टोलीको ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठले पाएकी छिन्। आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण थालिएको हो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु