जनप्रगतिशिल मोर्चा यूरोप र अमेरिकाद्वारा जनस्वास्थ्य भवन निर्माण अभियानलाई आर्थिक सहयोग

२०७८ जेष्ठ ३१ गते, सोमबार


काठमाडौँ । नेपाली जनप्रगतिशिल मोर्चा यूरोप र अमेरिकाले नेपाल कम्युनिस्ट पार्टीको पहलकदमीमा कपिलवस्तु स्थित शिवगढीमा निर्माणाधीन जनस्वास्थ्य भवन निर्माणको लागि सहयोग गरेको छ । उक्त निर्माणाधीन भवनको प्रांगणमा आयोजित सभा र यूरोप मोर्चाको प्रायोजनमा संचालित भर्चुल कार्यक्रम द्वारा निर्माणाधीन जनस्वास्थ्य केन्द्र निर्माण समितीलाई रकम हस्तान्तरण गरिएको छ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कपिलवस्तुमा रिकभरी सेन्टर निर्माण गरी कोरोना संक्रमितहरुलाई एकान्तवास बसालेपछि कोरोनाको जोखिम कम भएको जानकारी गराउदै कम्तिमा एकपटकमा ३० जना बिरामी भर्ना हुन सकिने भवन निर्माण हुदै गरेको र आफ्नो पार्टीले यस्तो कामहरु देशैभर गरिरहेको बताउदै पार्टीको पहलमा सामाजिक भवन र स्कूलहरु बनाएको र मानवीय भावनाले सहयोग गर्नेहरु प्रति धन्यवाद व्यक्त गरेका थिए । महासचिव विप्लवले वर्तमान राजनीतिक परिप्रेक्ष बारे राख्दै नेपालमा भएको दलाल पूँजीवाद र वैदेशिक हस्तक्षेपको विरुद्ध लड्नुपर्ने अहिलेको मुख्य आवश्यकता भएकोले परिवर्तन, न्यायको कुरा गर्दा र सबैखाले उत्पीडनका विरुद्ध आवाज उठाउदा आफ्नो पार्टीलाई उग्रवादीको आरोप लाग्ने गरेको बताए । उनले अहिले सम्मका सबै खालका संविधान र शासन व्यवस्थाहरुले जनताका समस्या समाधान गर्न नसक्ने भएकोले जनताले आफ्नो शासन व्यवस्था आफैले चुन्न पाउनुपर्छ भन्दै नेपालको राजनीतिक प्रणाली कस्तो हुने भन्ने बिषय रोज्ने अधिकार जनतालाई दिनु नै उत्कृष्ट लोकतान्त्रिक व्यवस्थाको अभ्यास हो यो भनेको जनमत संग्रह नै भएको ठोकुवा गरे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख कन्चनले सरकारले ग्रामिण इलाकामा बनाएको अस्पतालहरुको तुलनामा यो तीन गुणा ठूलो अस्पताल भएको दावी गरे । उनले नेपाली जनप्रगतिशील मोर्चा यूरोप तथा अमेरिकाले गरेको सहयोगले ठूलो महत्व राख्दछ, घरको आँगन सफा गर्न पनि एनजिओ आइएनजिओहरु हावी हुने बेला विदेशमा रहेका नेपालीहरुबाट यसरी रकम सहयोग जुट्नु भनेको ठुलो उपलब्धि भएको र विदेशमा रहेका नेपालीले जनयुद्धलाई पनि धेरै सहयोग गरेको स्मरण गर्दै नेपालमा क्रान्ति सम्पन्न र शान्ति स्थापनाको लागि बिशेष भूमिका निर्वाह गरेको बताए ।
जनस्वास्थ्य सेवा केन्द्र शिवगढी निर्माण समितिका अध्यक्ष यादव चन्दलाई नेकपाका नेता कन्चनले मोर्चाले सहयोग गरेको १८ लाख १७ हजार ५ सय २९ रुपैया रकमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा यूरोपका अध्यक्ष विष्णु भुजेलले अस्पताललाई सहयोग गरेर जनतालाई उपचारमा सहयोग पुगोस भन्ने विश्वास व्यक्त गरे । यसैगरी नेपाली जनप्रगतिशील मोर्चा बहराइनले पनि ६१ हजार रुपैयाँ सहयोग गरेको थियो । यादव चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपा विदेश विभाग सदस्य खगेश्वर केसीले गरेका थिए ।

प्रतिक्रियाहरु