मनसुन सक्रिय : १८ लाख भन्दा बढि मानिस प्रभावित हुने सम्भावना

२०७८ जेष्ठ २९ गते, शनिबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन हिजो दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको बताएको छ । विभागले यो वर्षको मनसुनमा औसत भन्दा बढि पानी पर्ने पूर्वानुमान गरेको छ । जसका कारण यो वर्ष मनसुनजन्य विपद बाढी–पहिरोबाट झण्डै १८ लाख बढि मानिस प्रभावित हुनसक्ने छन् । गत वर्ष औसत बराबरजस्तो पानी पर्दा ४ सय मानिसको मृत्यु भएको थियो भने ११ सयभन्दा बढि परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।
विपद व्यवस्थापन प्राधिकरणले यो तथ्यांक विश्लेषण गर्दा यो वर्ष मनसुनमा १८ लाख भन्दा बढि मानिस प्रभावित हुने अनुमान गरेको हो । प्राधिकरणका अनुसार बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार मानिस प्रभावित हुन सक्नेछन् । यतिवेला देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएको छ ।

प्रतिक्रियाहरु