सरकार : न संसदीय न त कम्युनिष्ट

२०७८ जेष्ठ २८ गते, शुक्रबार

नन्दलाल खरेल

मुलुकको राजनीति यतिखेर धेरै दुषित र फोहोरी भएको छ । यही फोहोरी वछिटाले देशका सबै क्षेत्र तथा  अवयवहरुमाथि नराम्ररी प्रभाव पारेको छ । यद्यपि राजनीति सबै नीतिहरुको मध्ये पनि उच्च नीति हो । राजनीति एउटा  त्याग तथा सेवा हो । तर यहाँ राजनीति सबैभन्दा ठूलो उद्योग भएको छ । राजनीति एउटा विज्ञान हो, सँग सँगै यो एउटा कला पनि हो । राजनीति परिवर्तनको वाहक हो । राजनीतिले नै समाज तथा देशलाई  आमूल परिवर्तन गर्न सक्छ । राजनीतिक वाहेक अन्य विद्याले देशमा परिवर्तन संभव छैन । तर यहाँ राजनीति स्वयं फोहोरी नभएर फोहोरी बनाइएको छ । कुशल राजनीतिज्ञको अभावले अहिले राजनीतिक लडाई यस्तो फोहोरी क्लाइमेक्समा पुगेको छ कि प्रमुख दलका नेताहरु नै पाएसम्म एकले अर्कोलाई सिद्धाउने र समाप्त पारिदिने विध्वंसकारी सोचमा निलिप्त छन् ।

प्रधानमन्त्री ओली केहि वर्षदेखि मुलुकको उच्च आसनमा विराजमान छन् । विगत ३ वर्षदेखि ओली अनेक हिसाबले चर्चा परिचर्चामा छन् । कहिले नक्सा अस्त्र, कहिले संसद विघटन, कहिले ठोरीमा रामको जन्म, कहिले अध्यादेश, कहिले पशुपतिमा स्वर्ण लहरी र अहिले मन्त्रीमण्डलको विस्तार । यी सबैमा उनले संविधान, नियम कानूनलाई बलमिच्याई गरी लोकतन्त्रको सस्थागत विकास गर्नुपर्नेमा ओलीतन्त्रको नयाँ अभ्यास शुरु गरेका छन्  ।एक पटक संसदबाट विश्वासको मत गुमाइसकेको प्रधानमन्त्री ओलीले दोस्रो पटक आफैले ‘संसदको म प्रति विश्वास छैन’ भनेर राष्ट्रिपतिलाई धारा ७६ (५) अनुसार सरकार बनाउन आवह्वान गर्न लगाएका थिए । दुई दुई पटक संसदको विश्वास गुमाएको प्रधानमन्त्रीले फेरी कुन नैतिकताले संसदको म प्रति विश्वास छ भनेर धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दावा गर्न मिल्छ ? यसले के पुटि गर्छ भने ओली संसदीय लोकतान्त्रिक पद्धतिलाई मान्दैनन् त्यतिमात्र होइन उनी संघीयता प्रति पनि इमानदार छैनन् । संविधान र कानून अनुसार प्रदेश र स्थानीय तहलाई सहज रुपमा काम गर्ने वातावरण अहिले सम्म वन्न सकेको छैन । आवश्यक समन्वय र सहजीकरणको अभिभावकत्वबाट विमुख भएको छ ।

वर्तमान लोकतन्त्र अहिले ओली नेतृत्वको चंगुलमा फसेको छ । उनले सत्तारोहणको प्रारम्भमै सम्पती शुद्धीकरण, राष्ट्रिय अनुसन्धान जस्ता निकायलाई आफ्नो कब्जामा लिई संवैधानिक  निकायलाई हुर्मत लिने काम गरे । संवैधानिक परिषद ऐनलाई आफ्नो वदनियतापूर्ण  अभिष्ट पुरा गर्न अध्यादेशमार्फत विस्थापित गरे । संवैधानिक निकायहरुमा आफ्ना चाटुककारहरुलाई भर्ना गरी आफुलाई जयजयकार गर्न लगाए र अझै त्यो उत्कर्षमा पुग्दैछ । हिजो संविधान संशोधनको कुरा कति पनि भुइमा पर्न नदिने ओली आज सत्ता टिकाउने अस्त्रको रुपमा आफैले अड्काएर राखेको नागरिकता संशोधन विधेयकलाई निस्तेज पार्ने गरी नागरिकता संशोधन ल्याए । हिजो उनै नागरिकता चकलेट हो र सिमानामा बसेर वाड्ने ? भनेर कुर्लन्थे । तर आज जसपालाई फुटाई लगभग सबै सांसदलाई मन्त्री बनाई दक्षिणी प्रमुखलाई खुशी बनाई सधैभरी सत्तामा टिकिरहने योजना बनाई अघि वढेका छन् । तैपनि अझै राष्ट्रियता र स्वीधीनताको गीत गाउन छोडेको छैनन्

ओली सरकार काम चलाउ सरकार हो । उनले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएपनि स्वयं भने आफ्नै घोषणा मुताविक चुनाव प्रक्रियामा सामेल भइसकेको छ । यस्तो चुनावी सरकारका निश्चित सीमा र वन्देज हुन्छन् । जसलाई प्रधानमन्त्रीले वुभ्mनुपर्छ । तर उनी त्यो दिशामा गएनन् । वजेट मतदातालाई आर्कषण गर्ने हिसाबले आएको छ । वजेट अत्यन्तै चलाखी पूर्वक अनेकौ झुटका खेतीहरु समावेस गरेको छ ।  महामारीले अर्थतन्त्रका हरेक अवयवहरुमा तहस नहस पारिरहेको छ । तर सरकारले आर्थिक वर्ष २०७८÷७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धि कायम हुने लक्ष्य लिएको छ । यो लक्ष्य नयाँ झुटको कागजी घरहरा हो  ।

‘कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ भने झै महामारीबाट जनतालाई बचाउनु पर्ने बेलामा संसद भंग गरी चुनाव घोषणा गर्नु प्रधानमन्त्रीको वहादुरी  होइन । आम जनता यत्रो महामारीको वीच चुनावको घोषणा भएको देख्दा छक्क मात्र होइन उल्टै आक्रोसित भएका छन्  । सरकारले जे जस्तो ठम्फु बजाएपनि आम जनताले पत्याएका छैनन । चुनाव हुन्छ भनेर । किनकी यो वेला दिनहु हजारौं हजारको संख्यामा संक्रमित भइरहेका छन् । सयौं मानिसको ज्यान गइरहेको छ ।  तेस्रो लहर पुनः आउने भनेर स्वास्थ्यविज्ञले चेतावनी दिइरहेका छन् । यो हाम्रा शासकको मुर्खताको पराकाष्ठ हो । भोली चुनावकै कारण महामारी फैलिएर लाखौ मानिसको ज्यान जाला भन्न सकिन्न । के त्यसको जिम्मेवारी शासकले लेलान ? तानाशाही शासक र शासन व्यवस्थाको आधारभूत चरित्र हो यो । उनीहरुलाई आफ्ना जनताको जीवन र उनीहरुले भोगीरहेको दुःख सँग सरोकार हुँदैन । राज्य किन वन्यो र देश किन बनाइयो भन्ने सिद्धान्तको कसैसँग मतलब हुँदैन

रोम जलिरहेको छ निरो बासुरी बजाइरहेको छ झै भएको छ हाम्रो अवस्था । सन् १९६४ को जुलाईमा रोम शहर एक्कासी आगो दन्कियो । पाँचौ रोमन शासक निरो क्लाउडियस भने भायोलिन बजाएर वसिरहे । आगोको लप्कामा जिउँदै जल्दै गरेका हजारौं नागरिकको चीत्कार शासक निरोको कानसम्म आइपुगेन । नागरिकको विलौना र आर्तनादले उनको मुटु रेट्न सकेन वरु उनी भायोलिनमा तार रेटिरहे नागरिकको आँशुमा हासिरहे । रोम जलेर खरानी वन्यो । आफ्नो सहर मुर्दाघाटमा  रुपान्तरण भइरहँदा पनि निरो सत्ता रापिएन । हाम्रा शासकिय अनुहारमा निरोको प्रतिछायाँ देखिन्छ । नागरिक पिडामा छट्पटाइरहँदा शासक मध्यरातमा जनता सुतिरहेको वेला चुनाव घोषणा गर्छन ।

नेपाली राजनीति अहिले दिशाहीनताको निरीह वन्दी वनेको छ । आजको राजनीतिक संकट यही दलाल पँुजीवादी व्यवस्थाको लगाम कसको हातमा रहने भन्ने लडाईको परिणाम हो । यो लडाई लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायको पक्षलाई संस्थागत विकास कसरी गर्नेपट्टि कदापि होइन । प्रधानमन्त्री ओलीले अहिले पनि आपूmलाई कम्युनिष्ट, राष्ट्रवादी ,विकासप्रेपी भएको झुटको भ्रम वेचिरहेका छन् । तर ओलीमा एउटा संशोधनवादमा हुनु पर्ने तहको समेत व्यवहार देखिदैन । आचरण देखिदैन । देशको कानून र संविधानलाई समेत आफ्नो सनक र उटपट्याङमा लतार्ने लफङ्गगिरी ओलीले देखाएका छन् ।

प्रधानमन्त्री ओली क्रान्तिकारी कम्युनिष्ट भन्दा पनि दक्षिणपन्थी हुन । दक्षिणपन्थी भन्नाले पुरानो विचार सिद्धान्त र समाज व्यवस्थालाई आमूल परिवर्तन नगरी वाहिरी रुपमा मात्र देखावटी सुधारगरी काम चलाउन खोज्नेहरुलाई  दक्षिणपन्थी भनेर चिनिन्छ । यो एक प्रकारको सामान्य सुधारवाद मात्रै हो  । वास्तवमा यो क्रान्तिकारी परिवर्तन र विचारको ठीक उल्टो हुन्छ । मुलुक अहिले ओलीतन्त्र र अराजकताको शिकार भएको छ । ओली विधिको शासन र संविधानले कोरेको मार्गचित्र भन्दा वाहिर रहेर नियन्त्रणको वाटोबाट शासन चलाइरहेका छन् । न उनी संसदीय हुन् न कम्युनिष्ट नै हुन । सबैलाई चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु