चुनौती कोरोनाको : घेराबन्दी चीनको

२०७८ जेष्ठ २३ गते, आईतवार

लोकनारायण सुबदी

विश्वमा आज करीब १७ करोड मानिसहरूमाथि महामारी कोरोनाको संक्रमण फैलिएको र तीमध्ये ३५ लाखभन्दा बढी मानिसहरूको इहलीला समाप्त पारिएको सम्वन्धमा फैलिएको प्रचारको कुइरिमण्डल केही महिनापिछ हटेर जाने स्थिति बन्ने देखिँदैछ । यस सम्वन्धमा के चर्चा चलिरहेको छ भने विश्वको अगुवा बनेको अमेरिका चीनको बढ्दो विश्व प्रभावसँग टकराउँदै आएको छ । यो भाइरसको कुरामा चीनलाई फसाउन सकिने कुराहरूको खोजी गर्दै त्यसको निर्णायक स्थितिमा अमेरिका पुग्न थालेको पनि अहिले चर्चा भइरहेको छ । यस कुराका लागि अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकी गुप्तचर एजेन्सीहरूलाइ ९० दिनको समय दिएको कुरा पनि प्रकाशित छ । बितेको बर्षदेखि नै यो एउटा ठूलो बहसको केन्द्रिय बिषय बन्दै आएको थियो । कतिपय पश्चिमेली र भारतीय बिशेषज्ञहरूले पनि यो भाइरस चीनको वुहान ल्याबमा तयार भएको भन्ने सन्देह पनि गर्दै रहेका हुन् । पछिल्लो अमेरिकी कदमले यो बिषयलाई अझ बढी चर्चामा ल्याइदिएको छ ।

चीनले पनि यो अमेरिकी सन्देहप्रति तीब्र प्रतिकृयाका साथ खण्डन गरेको छ । अमेरिकाले चीनविरुद्ध षड्यन्त्र रचिरहेको भनेर चीनले खणडन गरेको मात्र छैन, अमेरिकाका सबै त्यस्ता ल्याबहरूको पनि जाँचबुझ गर्न खोलिनुपर्ने माग पनि चीनले गरेको छ । तर, चीन बिरोधी भारतीय एकथरि बिश्लेषकहरू भने यस पटकको चीनको प्रतिकृयामा तिखोपनको साटो हडबडी बढी छ भनेर चीनका बिरूद्ध मनोबैज्ञनिक दबाब दिइरहेका छन् । यसको एउटा कारण के पनि हुन सक्छ भने गएको बर्षसम्म यस बिषयमा चीनको साथमा खडा हुँदै आएको विश्व स्वास्थ्य संगठनले पनि यो बर्ष यू–टर्न लिन थालेको देखिँदैछ । त्यस संठनका महानिर्देशकले यो भाइरसको उत्पत्तिका बारेमा अझ थप अध्ययन अगाडि बढाइनु पर्ने पश्चिमा देशहरुको मागमा सहमति जनाएर एक किसिमले चीनको “खुट्टामुनिका जमिन धसाइदिने” काम गरेको देखिँदैछ ।

चीनले गएको बर्ष मार्चमा नै विश्व स्वास्थ्य संगठन र आफ्ना देशका बैज्ञानिकहरुका तर्फबाट संयुक्तरुपमा ‘क्लिन चिट’ पाइसकेको हो । त्यस संयुक्त प्रतिबेदनमा भाइरस कुनै ल्याबमा बन्ने संभावना एकदमै कम रहेको बताएर कुन मान्यतालाई बल प्रदान गरेको थियो भने चमेरो जस्तो कुनै संक्रमित पशुपन्छीको सम्पर्कमा आउनाले यो भाइरस मानिसमा फैलिएको हुन सक्छ । तर, अब विश्व स्वास्थ्य संगठनको बद्लेको मनोदशाले चीनको पल्ला अलि कम भएको जस्तो देखिन्छ । अब विश्व स्वास्थ्य संगठनको परिबर्तित मनस्थितिले गर्दा सम्भव छ कि त्यस संगठनले चीनको वुहान ल्याबोरेटरीको छानबिनका लागि नयाँ किसिमले दबाब सिर्जना गरोस् र सबै डाटाहरू छानबिनमा आए भने चीनमाथि लगाइएको फत्तुर सही पनि ठहरिन सक्छ भन्ने एकथरिको अनुमान छ । तर, आफ्नो फत्तुर प्रमाणित नहुने भए पछि चीनले सबै प्रमाणहरु मेट्ने षड्यन्त्र गरिसक्यो होला भन्ने कपोलकल्पित प्रचार पनि उनीहरूले गर्दै रहेका छन् र यस्तो स्थितमा कुनै थप प्रमाण यो छानबिनबाट आउन सक्ने सम्भावना एकदमै कम छ भनिरहेका छन् । तर, यी सबै कुरा भइरहँदा पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनका विरुद्ध ‘नहलमा दहल जोड्ने सही समय छानेका छन्’ भनेर उनीहरू दङ्ग पनि छन् । हुन त बाइडेनका पूर्ववर्ती राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै पहिलादेखि नै यो भाइरस चीनको ल्याबमा तयार गरेर संसारभरि फैलाएको भनेर हल्ला मच्चाइरहेका थिए । त्यतिबेला भने डेमोक्रेटिक खेमाले ट्रम्पको त्यो चीन बिरोधी कुरा गैरजिम्मेवार बक्तब्यबाजी भनेर बिरोध जनाउने गरेको थियो । झूटो बयान र गलत जानकारी फैलाएका कारण ट्रम्पको छबि पहिला नै एक विवादास्पद नेताको जस्तो बनेको थियो । त्यसैले राष्ट्रपति चुनाबमा धाँधलीको आरोपहरू जस्तै चीनलाई कठ्घरामा उभ्याउने कुरामा पनि उनले कुनै सबुत प्रमाणा पेश गर्न सकेका थिएनन् । अहिले डेमोक्रेटिक पार्टीलगायत सबैले उनकै कुरा दोहो¥याइरहेका छन् । त्यसैले ट्रम्पले अरू सबैले उही आफैँले पैरबी गर्ने गरेको कुरा गरेर उनकै कुरामा सही छाप ठोकिरहेका छन् भन्ने मौका पाएका छन् । कुनै बेला उनको कुरा सिधै खारेज गरिदिने ह्वाइट हाउसका प्रमुख बैज्ञाकि सल्लाहकार एन्थोनी फाउचीको राय पनि बद्लिसकेको छ । अब उनले पनि के भन्न थालेका छन् भने कोरोना भाइरसलाई प्राकृतिक मान्ने उनको बिचार शतप्रतिशत सही नहुन पनि सक्छ ।

त्यसकारण छानबिनको एउटा छेउ त्यस प्रश्नसँग पनि जोडिएको छ कि जो बाइडेनको फैसला अमेरिका समेत दुनियाँको बढ्दो दबाबको परिणााम हो या उनको हातमा कुनै बलियो सबुत प्रमाण फेला परेको छ र उनी एकाएक यो मुद्दा उठाउन अग्रसर भएका छन् ? एकथरि बिश्लेषकहरू त चीनमाथि तेश्रो विश्व युद्ध छेड्ने गोप्य दस्ताबेजसँग यस कोरोना भाइरसको सम्वन्ध त छैन भन्ने प्रश्न पनि यतिबेला उठाइरहेका छन् र चीन तेश्रो विश्वयुद्ध गर्ने तयारीमा लागिरहेको जस्तो भान पार्न खोजिरहेका छन् । तिनीहरू के भन्दैछन् भने चीनको कथित विस्तारवादी महत्वाकांक्षाको प्रभाव अमेरिकामा मात्र होइन त्योभन्दा बाहिर अष्ट्रेलिया, क्यानाडा, इजरायल, डेनमार्क, नर्बे, जापान र काेिरया जस्ता १३ प्रमुख देशहरूले पनि नयाँ ढंगले कोरोना भाइरसको छानबिन हुनु पर्छ भन्दै अमेरिकाको पक्षमा खडा भएको कुराले पनि प्रष्ट पार्दछ पनि भनिरहेका छन् । उल्लेखनीय छ कि भारतले पनि कोरोना भाइरसको उद्गमको पुनः छानबिन गर्नु पर्दछ भन्ने कुरा उठाइरहेको छ ।

पछिल्लो समय ब्रिटेनले यो चीनको घेराबन्दी गर्ने कुरामा बिशेष सकृयता देखाइरहेको देखिन्छ । उसले नाटोदेखि लिएर ब्रिटेनका मित्र देशहरूलाई चीनबाट सुरक्षा दिने उदेश्यले आफ्नो नौसेनाको सबैभन्दा शक्तिशाली जहाजी बेडा हिन्द–प्रशान्त क्षेत्रका लागि रवाना नै गरिसकेको छ । त्यस बेडामा ३२ वटा एयर क्र्याफ्टका साथ ३ हजार ७०० नौ–सैनिक सवार रहेको बताइएको छ । यसले आउँदा सात महिनासम्म भू–मध्यसागर र हिन्दमहासागर क्षेत्रमा २ हजार ६०० सामुद्रिक माइलभरिको यात्रा पार गर्ने छ । यो क्षेत्र कब्जा गर्न चीनले आक्रामक शैली अपनाउदै आएको भन्ने उनीहरूको आरोप छ । भनिन्छ कि अब त्यहाँ ब्रिटेनले भारत समेत अरू कयौं देशहरूको साथमा ७० भन्दा बढी युद्ध अभ्यासहरू गरेर चीनका विरुद्ध विश्वका देशहरू लामबद्ध भएको सन्देश दिन खोजिरहेको प्रतीत हुन्छ ।

अनि यसो हुनुलाई भारतले निकै राम्रो ठानिरहेको छ । उसले चीन यसरी घेराबन्दीमा पर्नुलाई ठूलो राहत मानिरहेको जस्तो छ । भारत वरिपरीका प्रायः सबै छिमेकीहरू कि कोरा महत्वाकांक्षाले कि चीनका सामु नतमस्तक हुन विवश भएका कारणले (?) भारतको बिरूद्ध खडा भएको ठान्दछ । कोरोनाको बिपत्तिमा अवसरको खोजी गर्ने षड्यन्त्रमा चीन लागिरहेको फत्तुर पनि भारतले चीनलाई लगाइरहेको छ । कोरोनाको पहिलो लहरका बेला चीनले उत्तरतिरबाट टेढा आँखाले हेर्दै थियो अब दोश्रो लहरका बेला दक्षिण सीमातिरबाट नजर लगाएको कोरा आक्षेप पनि भारतले लगाएको छ । यस सम्वन्धमा उसले श्रीलंकाको हम्बनटाटा बन्दरगाह लीजमा लिए पछि चीनले कोलोम्बो नजिकै एउटा पोर्ट सिटी बनाउन लागिरहेको उदाहरण दिने गरेको छ । यस्तो स्थितिमा बृटेनको ठूलो जहाजी बेडा त्यस क्षेत्रमा तैनाथ गर्दा तनाब र संघर्षको अबस्था खडा होला तर पनि त्यसले चीनमाथि पेच कस्ने काम पनि गर्दछ भनेर भारत खुशी छ । यतिबेला कोरोना भाइरस उद्गमको यो बल भने विश्व स्वास्थ्य संगठनको हातमा छ भन्ने भारतको बिश्लेषण छ । अमेरिकाले त उसको तर्फबाट भाइरस छानबिनको बिगुल चीनका बिरूद्ध बजाइनै सकेको छ । सम्भव छ, ९० दिनभित्र उसका गुप्तचर एजेन्सीहरूले कोरोनाको उद्भवसँग जोडिएका महत्वपूर्ण जानकारीहरू प्रकाशमा ल्याउँदा पनि होलान् । तर, चीनले त्यसलाई सकार्छ भन्ने कुरामा उनीहरूको विश्वास छैन । चीनले त्यसको प्रामाणिकता माग्छ र प्रश्न उठाइरहन्छ भन्ने कुरा पनि उनीहरू पहिलेदेखि नै भनिरहेका छन् । कोरोनाको सत्यता प्रकाशमा आउनका लागि विश्व स्वास्थ्य संगठनले छाप लगाएमा चीनलाई बढ्दो उसको विश्व प्रभावबाट अलग्याउन सकिन्थ्यो भन्ने उनीहरूको योजना रहेको देखिन्छ । कोरोना भाइरसको बहानामा चीनको घेराबन्दी गर्ने चक्रब्यूह यसरी बनेको देखिदैछ ।

प्रतिक्रियाहरु