जनमत संग्रह अनिबार्य

२०७८ जेष्ठ २३ गते, आईतवार

काठमाडौँ । देशमा दिनप्रतिदिन राजनीतिक संकट गहिरिँदै गएको छ । संसद्वादी दलहरु १० बर्षे जनयुद्ध र १९ दिने जनाअन्दोलनवाट प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्नुको सट्टा निरंकुश राजतन्त्रलाई समेत माथ गर्ने राष्ट्रघात र जनघात गर्न तल्लिन भएपछि संसदीय व्यवस्था धराशयी हुन पुगेको छ । संसद्वादी दलहरुको हर्कतका कारण संविधान र राज्यका अंगहरु पूर्णतः निस्क्रिय बनिसकेका छन । संसद्वादी दलहरुको यस्तो हर्कतले विगत ७ दशकदेखिको संघर्ष, जनयुद्ध र जनआन्दोलनमा वीर योद्धाहरुको त्याग र बलिदानद्वारा प्राप्त उपलब्धिलाई समाप्त पार्दै जनअधिकारहरू समेत कुण्ठित गर्ने कार्य भएको छ, जसले संसदीय व्यवस्था असफल भैसकेको प्रमाणित गर्दछ । यसरी देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या दिनप्रतिदिन गम्भीर बन्दै गइरहेको विद्यमान अवस्थामा वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अघि बढ्नु जनताको एक मात्र विकल्प बन्न पुगेको छ । जसको वकालत नेपाल कम्युनिस्ट पार्टीले गर्दै आएको छ । यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको सङ्कटको निकास निर्विकल्प रूपले वैज्ञानिक समाजवाद मात्र हुनसक्छ भन्ने विचार सही साबित भएको छ । राज्यको सङ्कटलाई उचित निकास दिन संसद्वादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ र आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमतसंग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसंग्रहको बिकल्प कुनै पार्टी विशेषको विषय नभएर देश र जनताका लागि दीर्घशान्ति, स्थिरता, स्वाधीनता एवम् समृद्धिसँग जोडिएको विषय भएकाले यसका पक्षमा एकताबद्ध भएर उत्रिनु अनिवार्य भएको छ । शान्ति, स्थिरता एवम् समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आउनुमा वर्तमान संसदीय व्यवस्थाको असफलता प्रमाणित भएको छ । २०७३ सालदेखि दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खाँदैन र यो सफल हुँदैन भन्ने नेपाल कम्युनिस्ट पार्टीको निष्कर्ष सही साबित भएको छ । अब पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्ने हो भने समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र सङ्कटमा धकेल्ने चाल मात्र हुने निश्चित छ । संसदीय व्यवस्था असफल हुनुको पछाडि यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्था नै हो र यो सत्ता र व्यवस्थाको सङ्कट सरकारको मात्र असफलता नभएर संसदीय व्यवस्थाकै असफलता हो । तसर्थ वर्तमान दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको सङ्कटको निकास निर्विकल्प रूपले वैज्ञानिक समाजवाद एक मात्र विकल्प हुनसक्छ भन्ने नेपाल कम्युनिस्ट पार्टीको विचार सही साबित भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले उठाएको एजेन्डा आमनेपाली जनताको चाहना, मत र मागसँग जोडिएको उल्लेख गर्दै राज्यको सङ्कटलाई उचित निकास दिन संसद्वादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्ने मत अघि सार्दै आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमतसंग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्ने र जनमतसंग्रहका लागि राजनीतिक पार्टीहरू तयार हुने हो भने त्यसका लागि आफ्नो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको समेत स्पष्ट पारेका छ, जुन देशको वर्तमान संकट समाधानको एक मात्र उचित र दीर्घकालीन बिकल्प हो । राजनीतिक विश्लेषकहरु समेत वर्तमान संकटवाट देश र जनतालाई मुक्त पार्ने हो भने नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको राजनीतिक एजेन्डा जनमत संग्रहको नै उत्तम बिकल्प भएका बताउँछन् । देशमा संसदीय व्यवस्था असफलसिद्ध भइसकेको अवस्थामा जनमत संग्रहमा जान आपूmलाई लोकतन्त्रको पहरेदार भन्ने राजनीतिक दल र नेताहरुले खुट्टा कमाउन नहुने उनीहरुको तर्क रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु