नेपालमा विद्यमान गलत राजनीतिक ट्रेण्ड

२०७८ जेष्ठ १६ गते, आईतवार

राजेन्द्र विष्ट ‘परिवर्तन’

विषय प्रवेश

नेपालको राजनीतिक वृत्तमा दुईवटा ट्रेण्ड जबर्जस्त रुपमा स्थापित भएका देखिन्छन् । आधुनिक राजनीतिको शुरुवात काल (२००६) देखि हालसम्म अद्यावधिक कायम नै रहेका छन् । यी ट्रेण्डहरुले बेलाबखत अनपेक्षित तरिकाले राजनीतिक सरगर्मी बढाउन अहम् भूमिका खेलिरहेको भेट्टाइन्छ । सरसर्ती हेर्दा अझ यसो पनि भन्न सकिन्छ कि ! यी दुईवटा ट्रेण्ड वरिपरी भएर नै हाम्रो देशको राजनीतिक इतिहास यहाँसम्म आइपुगेको छ । र, केही समयसम्म यसरी नै अगाडि बढ्ने स्पष्ट छ । यो समय बर्बाद गर्ने, गलत फहमी फैलाउने र राजनीतिलार्ई सिद्धान्ततः मैलो बनाउने कार्यबाहेक अरु केहि पनि होइन । यी दुईवटा गलत ट्रेण्डले राजनीतिक प्रवाहलार्ई उल्टो दिशातिर धकेलिरहेका छन् । आमजनतालार्ई कुहिरोको काग बनाउने काम गरिरहेको देखिन्छ । ढिलै भए पनि नेपालको राजनीतिलार्ई सुल्टो दिशामा प्रवाहित गर्ने प्रयास गर्नु आजको आवश्यकता हो । जुन कार्य आशातित ढंगले अगाडि बढिरहेको छ । क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी धारका युवा पिँढीले यो आवश्यकता बोध गर्नु पर्दछ । व्याप्त भ्रमजालको भण्डाफोरका लागि योजनाबद्ध ढंगले अग्रसर हुनु आफ्नो जिम्मेवारीअन्तर्गतको कार्य बुझ्नु पर्दछ । ती दुईवटा गलत राजनीतिक ट्रेण्ड (१) माक्र्सवाद (कम्युनिष्ट) विरोधी प्रजातन्त्रिक ट्रेण्ड र (२) प्रजातन्त्र विरोधी माक्र्सवादी(कम्युनिष्ट) ट्रेण्ड हुन् ।

१) माक्र्सवाद (कम्युनिष्ट) विरोधी प्रजातान्त्रिक ट्रेण्ड

आपूmलार्ई प्रजातान्त्रिक धारको रुपमा चिनाउन चाहने राजनीतिक दलहरुले जन्मजात कम्युनिष्ट विरोधी ट्रेण्ड विकसित गर्दै आइरहेका छन् । त्यहीअनुसार आफ्ना नीति, कार्यक्रम तय गर्दै आइरहेको पाइन्छ । गतिविधिहरु नियाल्दा यस्तो लाग्छ कि, मानौं कम्युनिष्ट विरोधी पर्चम लहराउनु नै उनीहरुको एक मात्र उद्देश्य हो । यी तथाकथित प्रजातन्त्रिक भनाउँदा तमाम पार्टी, व्यक्तिहरुको अवधारणा सारमा के देखिन्छ भने ! माक्र्सवाद याने कि कम्युनिष्टको विरुद्धमा आपूmलार्ई निःशर्त उभ्याउनु । उनीहरुको दरिद्र मानसिकतामा यहीँ नै प्रजातान्त्रिक आदर्श हो । अर्थात्, यसरी नै प्रजातन्त्रको रक्षा हुन्छ । स्वतन्त्रता, समानता, र सामाजिक न्यायको सुनिश्चतता रहन्छ । यो ट्रेण्डको अगुवाई नेपाली काँग्रेसले गर्दै आइरहेको छ । काँग्रेसका पछाडि–पछाडि पूरक भूमिकामा अन्य गैरकम्युनिष्ट दलहरु पनि आ–आफ्ना आकार–प्रकारअनुरुप देखापरिरहन्छन् । कम्युनिष्ट विरोधी तातो हौवा खडा गर्न कुनै खालको कसर बाँकी नराखी उत्साहजनक तरीकाले लागि परेका हुन्छन् । यो कुनै आश्चर्यजनक विषय होइन । किनकि, उनीहरुलार्ई हेर्दा, सुन्दा र पढ्दा लाग्छ, यो उनीहरुको धर्म नै बन्न गएको छ । यस्तो लाग्छ कि, उनीहरु आफ्नो स्वधर्म पालन गरिरहेका छन् । उनीहरुलार्ई जुन स्वभाविक लाग्छ । आमविषय बनिसकेको छ । वास्तवमा सैद्धान्तिक दृष्टिकोणबाट हेर्ने हो भने यो सर्वथा निन्दनीय विषय हो । एक तरिकाले अक्षम्य राजनीतिक अपराध गरिरहेका छन् । के यी स्वघोषित प्रजातान्त्रिक नामधारीहरुले भन्ने गरेको जस्तो माक्र्सवाद र प्रजातन्त्र एकअर्काका विरोधी विचारधारा हुन् त ? गौण गर्नु पर्ने प्रश्न छ । त्यसका लागि हामीले नेपालको शुरुवातकालीन प्रजातान्त्रिक राजनीतिक परिवेश र तत्कालीन राजनीतिक नेताहरुको चिन्तन शैलीका बारेमा अध्ययन गर्नुपर्ने आवश्यकता बोध हुन जान्छ । नेपालमा प्रजातन्त्रको व्यवस्थित तरिकाले राजनीतिक रुपमा निम्ब हाल्ने काम बीपी कोइरालाले गर्नु भएको हो । माक्र्सवाद र प्रजातन्त्रका बीचको अन्तरसम्वन्ध थाहा पाउन उहाँका विचारहरुको अध्ययन गर्न अनिवार्य छ । उहाँले प्रजातन्त्रको व्याख्या गर्ने काम गर्दा समाजवादविनाको प्रजातन्त्रको जीवन देख्नु भएन । त्यही भएर हुनुपर्छ पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा प्रजातान्त्रिक समाजवादको प्रस्तावना अगाडि ल्याउनु भयो । उहाँ साम्यवादका संस्थापक माक्र्सबाट असाध्यै प्रभावित हुनुहुन्थ्यो । नढाँटीकन भन्नुपर्दा राजनीतिक रुपमा माक्र्सवादबाट अभिप्रेरित हुनुभएको थियो । राजनीतिक दार्शनिकहरूमध्ये तपाईंलार्ई कसले सबभन्दा बढी प्रभावित पारेको छ ? एउटा अन्तर्वार्ताको क्रममा उहाँले विना हिच्किचाहट भन्नु भएको थियो ।

गान्धी, माक्र्स र फेरि गान्धीले नै । (वि.पी. कोइराला ः एक क्रान्तिकारी व्यक्तित्व, भोला चटर्जी) उहाँको स्वीकारोक्ति थियो, “म एक अर्थमा माक्र्सवादी हुँ । किनभने समाजको कसरी विकास हुन्छ भन्ने व्याख्यामा मैले माक्र्सवादी पद्धति स्वीकार गरेको छु ।” (अमृतबजार पत्रिका, कलकत्ता तीर्थकर मुखर्जी) आजका प्रजातान्त्रिक भनाउँदाहरुले जस्तो उहाँले नवउदारवाद, निजीकरण र उदारीकरणको कहिल्यै पनि समर्थन गर्नु भएन । माक्र्सवादी राजनीतिक अर्थशास्त्रद्वारा निर्देशित सामूहिक स्वामित्वसहितको उत्पादन प्रणालीको पक्षधर वि.पी. कोइरालाको विश्लेषण थियो– “…उहाँले (माक्र्सले) मानव समाजमा के–कति कारणले परिवर्तन आउँछन् र त्यसमा मानवको कस्तो विचारधारा, सामाजिक–आर्थिक स्थिति हुन्छ, त्यसको वैज्ञानिक खोज गर्नुभएको छ । माक्र्सले इतिहासको जुन मूल्यांकन गर्नु भएको छ, त्यसले परिवर्तनलार्ई बुझ्ने एक तरिका प्राप्त भएको छ… उहाँले उत्पादन प्रणालीका आधारमा समाजको रुप निर्धारण गर्ने मूल्य प्रणाली बताउनु भएको छ…. समाजको पारस्परिक स्वार्थमा समाजवादी आदर्शको स्थापनाका लागि क्रान्ति गर्नुपर्दछ भन्ने माक्र्सको भनाई पनि आफ्नो जमानाको अनुकूल थियो । त्यसबेला युद्धको माग सामाजिक आवश्यकता थियो । (विसौं शताब्दी र माक्र्सवाद, नेपाल पुकार) वैदेशिक सहायतामा भर परेर देश विकास गर्न सकिँदैन भन्ने उहाँको बुझाई थियो । उहाँको भनाइ थियो, “…हामीहरूको जस्तो अवस्थामा विदेशी सहायताले विकासको प्रक्रियालार्ई मद्दत गर्नुको सट्टा एउटा वर्ग सिर्जना मात्र गर्छ जसको सम्पन्नताले देशको आर्थिक अवस्थासित कुनै सम्बन्ध छैन । त्यो सम्पन्नता केवल बिदेशी सहायतालार्ई आफ्नो खल्तीमा हाल्ने, भ्रष्टाचार गर्ने या अवैध व्यापार गर्ने जस्ता कुरामा आधारित छ । साथै, विकासको मोडेल बाहिरबाट आयातित नभएर आफ्नै मौलिकतामा आधारित हुनु पर्छ भन्ने गर्नु हुन्थ्यो । “हामीहरूको जस्तो गरीव देशको विकासका लागि पश्चिमका विकसित समाजहरूले देखाएको नमूना उचित छैन । विकासको त्यो नमूना अगाडि राखेर हामीले काम गर्नका लागि अत्यन्त ढिलो भइसक्यो । त्यस्तो उच्च स्तरको प्रविधि आयात गरेर हामीलार्ई हुँदैन । हामीलार्ई ठीक हुने प्रविधि त हाल हामीले प्रयोग गरिरहेको भन्दा केही उत्कृष्ट प्रबिधि मात्र हो । हामीलार्ई त्यस्तो प्रविधि चाहिएको छ जसलार्ई हाम्रा आफ्नै मानिसले सञ्चालन गर्न सकून् । हामीले विकासको पश्चिमी ढाँचा अनुकरण गर्दाखेरि खास धनी झन्–झन् धनी र गरीब झन्–झन् गरीब हुँदै गइरहेका छन् । त्यो सम्पन्न वर्गको जरा (आधार) यो देशमा छैन, त्यो वर्गलार्ई यो देशको आर्थिक पुनरूत्थानमा खास रूचि पनि छैन । हुन त बीपी भारत निर्वासनमा छँदा कम्युनिष्ट पार्टीका नेता श्रिपाद अमृत डाँगेको निकट समेत पुगेका थिए । पछि विस्तारै भारतीय नेताहरु जे.पि. नारायण, आचार्य नरेन्द्र देव, राम मनोहर लोहियाको संसर्गका कारण कम्युनिष्टबाट नवउदारवादी समाजवादी कित्तामा स्थानान्तरण भएका हुन् । तत्कालीन विश्व परिवेश राजनीतिक रुपमा दुईवटा धुव्र पुँजीवाद र समाजवादमा विभक्त थियो । यी दुईवटा धुव्रका बीचमा भारतीय नेताहरु असंलग्न नीति अख्तियार गर्न पुगे । त्यहीँ बाटो बीपी ले पनि रोजे । जे भए पनि उनका लेख, रचनाहरुको अध्ययनबाट के प्रष्टायाउन सकिन्छ भने उनी पुराका पुरा माक्र्सवाद विरोधी थिएनन् । बरु माक्र्सवादका करिबी शुभेच्छुक थिए, अघोषित समर्थक थिए । कम्युनिष्ट शव्द सुन्दा साथ धारे हात लगाएर मच्चिइ–मच्चिई गाली गर्ने आजका आफ्ना अनुयायीभन्दा बीपी कोइराला फरक अन्दाजका व्यक्ति थिए । शायद उहाँको राजनीतिक उचाइ र संस्कारले त्यो छूट दिँदैन थियो होला । कम्युनिष्ट नेताहरुप्रति उच्च सम्मान भाव थियो । माओलार्ई त उनले पितातुल्य व्यक्ति भनेर सम्वोधन गरेका छन् । एक पटक भारतीय पत्रकार भोला चटर्जीको दक्षिण एशिया बाहिरको कुन व्यक्तिबाट बढी प्रभावित हुनुभएको छ भन्ने प्रश्नमा उहाँको जवाफ थियो– “चाउ एनलार्ई ! म उनलार्ई ठूलो आदरका दृष्टिले हेर्छु । माओसित मेरो एक पटक मात्र आधा रातमा करिब दुई घण्टा जति भेट भएको थियो । उनी बूढा भइसकेका थिए र एक किसिमले पिताजस्तो व्यक्ति बडो नरम् र सुसंस्कृत व्यक्ति लाग्थे ।” उनी प्रगतिशील विचारका बाहक थिए । परिवर्तनवादी थिए । आमजनताको सवालमा चिन्तित थिए । किसान, मजदुरको हितमा राजनीति हुनुपर्छ भन्ने उनको मुल ध्येय थियो । २०१७ मंसिर २५ गते जनसभालार्ई सम्वोधन गर्दै भनेका थिए, “भूमि उनीहरुको हुनुपर्छ, जो त्यससँग जुध्छन्, खेल्छन् र जोत्छन् । भूमिमाथि सहरमा महल बनाएर मोज गरेर बस्ने मुठ्ठीभर व्यक्तिको हक हुन सक्तैन । जबसम्म भूमिमा जोत्नेहरुको हक कायम हुँदैन, तबसम्म भूमिसम्बन्धी समस्या पनि हल हुँदैन । “प्रधानमन्त्रीका हैसियतले राष्ट्रिय योजना आयोगमा किसानको फोटो राखेर योजना बनाउन निर्देशन दिएका थिए । भनेका थिए, प्रत्येक योजनाले किसानको जीवनमा कुनै बद्लाव ल्याउँछ कि ल्याउँदैन भन्ने कुराको ख्याल पु¥याउनु पर्छ । गैरकम्युनिष्टहरुले अधिनायकवादको बिल्ला भिराउने सर्वहारा अधिनायकवादलार्ई वि.पी. ले सहज रुपमा लिएको पाइन्छ । अझ विशेष गरी वैज्ञानिक साम्यवादलार्ई त प्रजातन्त्रको रुपमा ग्रहण गरेका थिए । अधिनायकवादलार्ई उनी तानाशाहीसित जोड्न चाहँदैनन् । अधिनायकवाद नै माक्र्सवाद हो भन्ने वाहियात प्रचारको खण्डन गर्न पुगे । अधिनायकत्वलार्ई सरकारको अवस्थितिको रुपमा बुझेका छन् । जुन कुरा बीपी कोइरालाकै भनाइबाट प्रष्ट पार्दछ ।” माक्र्सको अन्तिम लक्ष्य भने प्रजातन्त्र नै हो । किनभने माक्र्सले समाजको त्यो अवस्था देखेका छन् जहाँ राज्य या सरकारको अवस्था नै रहँदैन । अन्त्यमा राज्यले स्वयम् आफ्नो विद्रोह गर्दछ । प्रजातन्त्रवादीहरुको सोचाइमा पनि त्यही नै सर्वोत्तम सरकार हो, जसले कमसेकम शासन गर्छ । …हो, माक्र्सले अधिनायकवादको पनि क्षणिक उपयोगिता मानेका छन् । तर, अधिनायकवाद नै माक्र्सवाद होइन । किनभने उनको भनाइअनुसार अधिनायकवाद अन्ततः समाप्त भएर राज्यहीन या सरकारहीन अवस्थामा परिणत हुन्छ । त्यो अवस्था नै कमसेकम शासन गर्ने सरकार भनेर प्रजातन्त्रवादीले भने जस्तै हो । (डा. जयराज आचार्यसितको वार्तालाप, २०३५) आजका कतिपय मान्छेहरुले गान्धीवादका अनुयायीका रुपमा चित्रण गरे जस्तो वि. पी. कोइराला गान्धीवादी थिएनन् । गान्धीका कतीपय पक्षहरुसित सहमत हुनु हुन्थेन । “….यसको मतलब गान्धीजीले भनेका सबै कुराको म समर्थन गर्छु भनेको होइन ।” (अमृत बजार पत्रिका, कलकत्ता, तिर्थकर मुखर्जी) उहाँले २००७ र २०३० मा गरेर दुई पटक सशस्त्र संघर्ष गर्नुभयो । विमान कव्जा गर्नका लागि योजना तयार गरे । वि.पी. एक अन्तर्राष्ट्रियतावादी व्यक्ति थिए । भारतीय स्वतन्त्रता संग्रामको बेला होस् या १९६४ मा इन्दिरा ‘कु’ का विरुद्ध होस् आन्दोलनमा सक्रिय क्रियाशील रहे । कसै–कसैले यसरी प्रधानमन्त्री भइसकेको मान्छे अर्काको देशको आन्दोलनमा सहभागी हुनु मर्यादा विपरीत हो भनेर पनि उनको आलोचना गर्ने गरेको पाइन्छ । समग्रमा, वि. पी. कोइराला माक्र्स र गान्धीका बीचको बाटो हिँड्नु भएको देखिन्छ । उहाँ व्यवहारतः गान्धीवादी कम माक्र्सवादी बढी हुनुहुन्थ्यो भन्ने कुरा उहाँको जीवन व्यवहारले बताउँदछ । न उनी पूर्णतः गान्धीवादी थिए, न त माक्र्सवादी नै । कुरा के पनि हो भने उनले आंशिक रुपमा नै सही माक्र्सवादलार्ई स्वीकार गरेका थिए । माक्र्सवादका विरोधी थिएनन् । आलोचक भने जरुर थिए । आलोचना त उनले गान्धीका कतिपय विचारहरुको पनि गरेका छन् । आलोचना गर्नु र विरोध गर्नु एउटै विषय पनि त होइन । तसर्थ, आलोचनाको विषयलार्ई जसरी आजका प्रजातान्त्रिक कठमुल्लाहरुले विरोधको विषय बनाई दिएका छन्, त्यो सरासर झुठ छ ।

२) प्रजातन्त्र विरोधी माक्र्सवादी (कम्युनिष्ट) ट्रेण्ड

माक्र्सवाद (कम्युनिष्ट) विरोधी प्रजातान्त्रिक ट्रेण्डसँगसँगै नेपाली राजनीतिमा एउटा अर्को गजबको ट्रेण्डसमेत देखापरेको छ । जुन प्रजातन्त्र विरोधी माक्र्सवादी (कम्युनिष्ट) ट्रेण्ड हो । जसको प्रतिनिधित्व वामपन्थीहरुले गरिरहेको पाइन्छ । साधारणतया उनीहरुका मतमा, कम्युनिष्ट वामपन्थीहरु प्रजातान्त्रिक होइनन्, कम्युनिष्ट हुन् भन्ने देखिन्छ । उनीहरुको भनाइबाट के अर्थ लगाउन सकिन्छ भने कम्युनिष्ट, वामपन्थीहरु बाहेकका प्रजातान्त्रिक हुन् । जो कम्युनिष्ट विरोधी हुन्छन् । संसदीय व्यवस्थाका पक्षपाती रहेका हुन्छन् । पुँजीवाद तिनीहरुको मुख्य आधारशीला हो । मुख्यगरी यस्तै–यस्तै तरिकाले प्रजातन्त्रवादीहरुको विरोध गर्ने सिलसिला सुरु हुन्छ । आशय सही होला तर विरोधका यी स्वरुपहरु विलकुल सही मान्न सकिँदैन । सोह्रैआना गलत छन् । किनभने यी शैलीले कम्युनिष्ट प्रजातन्त्रिक शक्ति होइन, प्रजातन्त्रभन्दा टाढाको विचार पद्धति हो भन्ने भ्रम फैलाउन मद्दत पु¥याउँदछ । यस्ता यावत् भ्रम पैदा हुने तरीकाहरुलार्ई यथाशीघ्र सुधार गर्न अति आवश्यक छ । अनि मात्र जनताले सजिलो गरी कम्युनिष्ट सिद्धान्त बुझ्न सक्दछन् । जुन आजको नितान्त आवश्यकता हो । कम्युनिष्टहरुले प्रयोग गर्ने ‘जनवाद’, ‘नौलो जनवाद’, ‘जनताको जनवाद’, ‘जनतन्त्र’, ‘जनगणतन्त्र’ शब्दका अलावा वैज्ञानिक समाजवाद या साम्यवाद र अन्य राजनीतिक दलहरुले प्रचलनमा ल्याइरहेका ‘प्रजातन्त्र’, ‘लोकतन्त्र’, ‘गणतन्त्र’, ‘लोकतान्त्रिक गणतन्त्र’जस्ता शव्द प्रजातन्त्र शव्दकै पर्यायवाची हुन् । संस्कृत भाषाको प्रजातन्त्र शव्दको अर्थ जनताको शासन भन्ने हुन्छ । अर्कातिर नजर लगाउने हो भने पनि ल्याटिन भाषाबाट विकास भएको ‘डेमोक्रेशी’ शब्द दुईवटा शब्द ‘डेमोश’ र ‘क्रेटिया’ मिलेर बनेको छ । ‘डेमोश’को अर्थ जनसाधारण र ‘क्रेटिया’को अर्थ व्यवस्था भन्ने जनाउँदछ । त्यही ‘डेमोश’ र ‘क्रेटिया’ मिलेर बनेको शव्द डेमोक्रेशीलार्ई नै फरक–फरक शब्दको प्रयोग हुँदै आइरहेको छ । स्थान, समय र परिस्थितिले शब्द चयन भइरहेको देखिन्छ । जस्तो, नेपालमै पनि २०४६ सालपश्चात् प्रजातन्त्र शव्दको प्रयोग भयो । २०६२–०६३ को जनआन्दोलनदेखि राजतन्त्र अन्त्यको घोषणा नगर्दाका बखतसम्म लोकतन्त्र र राजतन्त्र अन्त्यको घोषणा यता संघीय लोकतान्त्रिक गणतन्त्र शव्दको प्रयोग भइरहेको छ । शव्दको प्रयोग जसरी भए पनि, सारसंक्षेपमा भन्नु पर्दा यी सबै शव्दको अर्थ जनताको शासन व्यवस्था भन्ने हुन्छ । जनताले, जनताद्वारा, जनताका लागि सन्चालन गरिने शासन व्यवस्था वा सत्ता बुझाउँदछ । जहाँ जनताले सर्वोपरि स्थान ग्रहण गरेको हुन्छ । जनताभन्दा माथि कुनै व्यक्ति वा संस्था विशेषको प्राधिकार रहेको हुँदैन । यस्तो खालको अवस्था कहाँ सिर्जना हुन सक्छ त ? यो अवस्था वैज्ञानिक समाजवाद वा साम्यवादमा मात्र पैदा हुन सक्छ । यसकारण, सही माइनेमा बुझ्ने हो र बुझेर पनि बुझ नपचाइकन सकार गर्ने हो भने वैज्ञानिक समाजवाद, साम्यवाद नै वास्तविक प्रजातन्त्र हो । वैज्ञानिक समाजवाद, साम्यवाद बाहेकका अरु कुनै पनि व्यवस्था पूर्ण प्रजातान्त्रिक व्यवस्था हुन सक्दैनन् । अरु व्यवस्थामा कुनै न कुनै स्वरुपमा नियन्त्रणकारी संयन्त्रको परिकल्पना गरिएको हुन्छ । तर, यसका विपरीत वैज्ञानिक समाजवाद, साम्यवादमा राज्यको क्रमशः अन्तिम समयमा गएर विघटन हुने गर्दछ । राज्यको उपस्थिति नरहनुले जनता पूर्णतया स्वतन्त्रता, समानता र वन्धुत्वयुक्त समाजमा जीवन जिउन पाउँछन् । जहाँ कुनै खालको शोषण, विभेद, उत्पीडन रहँदैन । उच्च विवेक र चेतनाले सिर्जित अनुशासन कायम हुन जान्छ । सम्पूर्ण सम्पत्ति याने कि उत्पादन प्रणाली सामूहिक हुन्छ । क्षमताअनुसारको काम, आवश्यकताअनुसारको मामको सिद्धान्त अनुरुप न्यायपूर्ण वितरण कायम हुन जान्छ । मेरो र तेरो नामको बैरभाव नै हराउँदछ । यहाँसम्मको यात्रा कुनै एक्लो वीर या अमूक पार्टी विशेषले नभएर आमजनसमुदायले नै गर्ने हो । पार्टी विशेषको भूमिका त जनताको चेतना अभिवृद्धि गर्न र संगठन निर्माणमा मद्दतगारको मात्रै रहने गर्दछ । समाज विकासको ऐतिहासिक अध्ययन गर्दा जनता पूर्ण प्रजातन्त्र प्राप्तिको दिशामा निरन्तर संघर्षरत रहँदै आएका छन् । जसको परिणाम विभिन्न समयमा जनआन्दोलन, जनविद्रोह, जनयुद्ध सञ्चालन भएको देखिन्छ । हरेक पुराना समाजलार्ई नयाँ समाजले निषेध गर्दै आएको छ । दास मानव समाजलार्ई सामन्ती समाजले, सामन्ती समाजलार्ई पुँजीवादी समाजले निषेध गर्दै मानव समाज यहाँसम्म आइपुगेको हो । हरेक पुराना समाज शोषणकारी समाज थिए । प्रजातन्त्र विरोधी भएको हुँदा जनता तिनका विरुद्ध उत्रिए । पुँजीवादी समाज पनि पूर्वसमाजहरु जस्तै विभेदकारी समाज हो । पूर्ववर्ती समाजहरुको तुलनामा पुँजीवादी समाज व्यवस्था थोरबहुत प्रगतिशील भए तापनि पूर्णरुपेण प्रजातान्त्रिक मान्न सकिँदैन । त्यसकारण यसको अन्त पनि स्वभाविक छ । जनता विना शोषण, विना विभेद, विना विभाजित समाजको स्थापनाका लागि व्यग्र प्रतिक्षारत देखिन्छन् । अर्थात्, पूर्ण प्रजातान्त्रिक समाजको पक्षमा आफ्ना अभिमत संघर्षका माध्यममार्फत्् अनवरत जाहेर गरिरहेका छन् । संसद्वादी दलहरुले भनेजस्तो गणतन्त्र स्थापना हुनु नै प्रजातन्त्र प्राप्ति गर्नु होइन । यदि त्यसो हुँदो हो त, चीनमा १९१२ मै डा. सन यात्सेनको नेतृत्वमा राजतन्त्र समाप्त भइसकेको थियो । १९४९ सम्म जनयुद्ध लड्नैपर्ने थिएन नि । चिनियाँ जनसंघर्षबाट प्राप्त महत्वपूर्ण शिक्षा के हो भने, गणतन्त्र भन्ने बित्तिकै जनताको सत्ता नहुन पनि सक्छ । प्रजातन्त्र विरोधी पनि हुन सक्छ । क्वोमिन्तांगको नेतृत्वमा च्यांककाई सेकहरुको आगमनले यो कुरालार्ई राम्रोसित पुष्ट्याई गरेको छ । गणतन्त्रका प्रकार एवं चरित्रका विषयलार्ई महान् माओले आफ्नो कृति ‘नयाँ जनवाद’ मा मिहिन ढंगले लेख्नु भएको छ । माओले तीन प्रकारका गणतन्त्रहरूको उल्लेख गर्नुभएको छ । (१) पुँजीपति वर्गको अधिनायकत्वअन्तर्गतका गणतन्त्रहरू, (२) सर्वहारावर्गको अधिनायकत्वअन्तर्गतका गणतन्त्रहरू र (३) सबै क्रान्तिकारी वर्गहरूको संयुक्त अधिनायकत्व अन्तर्गतका गणतन्त्रहरू । हामी पहिलो नम्वरको गणतन्त्रमा छौं । जहाँ दलाल पुँजीपती वर्गको नेतृत्व रहेको छ । जनता शोषणको साधन मात्र बनाइएका छन् । जनतालार्ई पुँजीपतिहरुले एउटा मालसरह बजारमा खरीद–बिक्री गर्दछन् । हरेक मान्छेको उसको शारीरिक कठ काँदीको आधारमा मोल लगाइएको छ । आफ्ना आवश्यकता पूरा गर्न मान्छे बिक्री हुन विवश छन् । जनता यस्तो दयनीय हालतमा बाँचिरहेका छन् । अनि यो व्यवस्था कसरी जनताको व्यवस्था हुन सक्छ ? जनताको निर्णायक भूमिका नरहेको व्यवस्था कुन दृष्टिकोणबाट प्रजातान्त्रिक व्यवस्था ठहरिन्छ ? महान् माओले माथि उल्लेख गरेका क्रमशः तेश्रो र दोश्रो नम्बरका गणतन्त्र मात्र जनताद्वारा दिशा–निर्देशित व्यवस्था हुन् । जनताद्वारा नेतृत्व गरिएको हुँदा ती व्यवस्थालार्ई पूर्ण प्रजातान्त्रिक व्यवस्था भन्न सकिन्छ । पुँजीवादी कित्ताका कारिन्दाहरुले जनतालार्ई कम्युनिष्टबाट अलग्याउने हर हत्कण्डा अपनाउदै आइरहेका छन् । उनीहरुको आरोप छ, वैज्ञानिक समाजवाद, साम्यवाद जनतामाथि अधिनायकवादी स्वरुपको हुने गर्दछ । जुन मिथ्या हो । बरु, उल्टो यसको सट्टा पुँजीवादमा बहुसंख्यक जनता माथि मुठ्ठीभरका पुँजीपतिहरुको अधिनायकत्व रहने गर्दछ । वैज्ञानिक समाजवाद, साम्यवादको शासकीय स्वरुपको बारेमा नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा भनिएको छ, “शासन गर्ने तरिका जनताको जनवादी अधिनायकत्व हुन्छ । जनताका निम्ति जनवाद र साम्राज्यवाद र तिनका दलालहरुका निम्ति अधिनायकवाद हाम्रो सरकारको नीति हुन्छ ।” (पुष्पलालका छानिएका रचनाहरु, पृ. ९, पुष्पलाल स्मृति प्रतिष्ठान २०५५ श्रावण) ।

निष्कर्ष

वैज्ञानिक समाजवाद, साम्यवाद र प्रजातन्त्रका सवालमा खडा भएका अन्तरविरोध निराधार देखिन्छन् । कुनै तथ्य तथा तर्कमा आधारित छैनन् । एक पक्षले अर्को पक्षलार्ई बद्नाम गराउनका लागि वा आपूmलार्ई खाँटी जनसंवाहक देखाउनका लागि सिर्जना गरिएको बखेडा मात्र हो । सिद्धान्तप्रति निष्ठावान् राजनीतिक व्यक्तिहरुमा भने यो झुटो प्रचारबाजी त्यति साह्रो देखिँदैन । नेपालको राजनीतिमा बीपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ श्रेष्ठतम् उदाहरण हुन् । नत्र गैरकम्युनिष्ट हुँदाहुँदै पनि कोइरालाले माक्र्सवादको समर्थन कदापि गर्दैनथे होला । न त पुष्पलालले प्रजातन्त्र स्थापनाका लागि काँग्रेससित संयुक्त आन्दोलनका लागि प्रस्ताव गर्दथे । सिद्धान्तलार्ई रद्दीको टोकरीमा लत्याएर नाफा–घाटाको खेलमा दौडिएका व्यक्तिहरु मात्र यो लज्जास्पद कार्यमा लिप्त देखिन्छन् । राजनीतिलार्ई सेवाभाव नभएर पैसा आर्जनका लागि अपनाइरहेका छन् । उनीहरुका लागि पद, पैसा र पावर तीनवटा जादूगरी हतियार हुन् । जसको प्रयोगबाट जस्तोसुकै नतिजा पनि आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने आडम्बर उनीहरुमा छचल्किने गर्दछ । यो स्वयम् उनीहरुकै निम्ति बिरालोको घाँटीमा घण्टी झुण्ड्याएजस्तै हो । आदिकाल (रोम गण राज्य) देखि वर्तमान (सोभियत संघ हुँदै चीन, क्युवा, भियतनाम, उत्तर कोरिया, लाओस) सम्म प्रजातन्त्र, वैज्ञानिक समाजवाद, साम्यवादको विकासक्रमले प्रजातान्त्रिक सिद्धान्तलार्ई सुदृढ गरेको छ । हाल वैश्विक प्रचलनमा रहेका सिद्धान्तहरु मुख्यतयाः पाँच प्रकारका छन् । जसलार्ई पुँजीवादी वुद्धिजीविहरुले पनि स्वीकार गरेका छन् । (१) प्रजातन्त्रको पुरातन उदारवादी सिद्धान्त, (२) प्रजातन्त्रको अभिजनवादी सिद्धान्त, (३) प्रजातन्त्रको बहुलवादी सिद्धान्त, (४) प्रजातन्त्रको प्रतिभागी सिद्धान्त, (५) प्रजातन्त्रको माक्र्सवादी सिद्धान्त अथवा जनताको प्रजातन्त्रिक सिद्धान्त । प्रजातन्त्रका यी पाँचवटा सिद्धान्तहरु सर्वस्वीकार्य सिद्धान्तका रुपमा मान्न सकिन्छ । अहिलेसम्म विकास भएका सिद्धान्तहरुको आग्रह, पूर्वाग्रहविना अध्ययन गर्नु सबैको उत्तरदायित्व हो । अध्ययन मुताविक सही निष्कर्षमा पुग्नु वस्तुवादी हुन्छ । पाँचवटै सिद्धान्तहरुमध्ये पुराका पुरा जनताको पक्षपोषण गर्ने प्रजातन्त्रको माक्र्सवादी सिद्धान्त अर्थात् जनताको प्रजातन्त्रले नै हो । योबाहेक बाँकी चारवटा प्रजातान्त्रिक व्यवस्था आंशिक हिसावले मात्र जनताको हितमा कार्य गर्ने स्थितिमा हुने गर्दछन् । यस कारण हामी निर्धक्कताका साथ भन्न सक्छौं प्रजातन्त्रको उच्च रुप वैज्ञानिक समाजवाद, साम्यवाद हो । माक्र्सवादी कम्युनिज्म (वैज्ञानिक समाजवाद, साम्यवाद) बाहेकका अरु व्यवस्था प्रजातन्त्रका नाममा छरिएका भ्रम हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु