१४ राजनीतिक पार्टीबीच कार्यगत एकता : संसदीय व्यवस्थाको विकल्प खोज्ने सहमति

२०७८ जेष्ठ १५ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीलगायत १४ राजनीतिक पार्टीबीच विद्यमान दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद र जनगणतन्त्र स्थापना गर्ने लक्ष्यसहित कार्यगत एकता भएको छ । उक्त कार्यगत एकतामा सम्मिलित १४ राजनीतिक सङ्गठनहरूमा किरण, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला प्रतिनिधि नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी, आहुति, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, गोपाल किराँती, अध्यक्ष, नेकपा (माओवादी केन्द्र), कर्णजित बुढाथोकी, अध्यक्ष, नेकपा (माओवादी केन्द्र), गुणराज लोहनी, संयोजक, राष्ट्रिय जागरण मञ्च, सुभास काफ्ले, संयोजक, जनसमाजवादी पार्टी, रवीन्द्र श्रेष्ठ, नेकपा (बोल्सेबिक), रामहरि पोख्रेल, नेकपा (माक्र्सवादी), नारायाण शर्मा, संयोजक, एमसीसी खारेज अभियान, शम्भु कट्टेल, संयोजक, माक्र्सवादी एकता अभियान र देवीदत्त पाण्डे, संयोजक, समाजवादी राष्ट्रिय मञ्च रहेका छन् ।
कार्यगत एकताको घोषणासँगै १४ राजनीतिक दलले विज्ञप्ति जारी गरी विभिन्न ६ वटा प्रस्ताव सार्वजनिक गरेका छन् । उनीहरुद्वारा विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो देश यतिखेर कोभिड १९ को महामारी, सरकारले गर्न खोजेको निरङ्कुश, चरम विदेशी हस्तक्षेपलगायत समस्याबाट आक्रान्त छ । नेपाली जनता र नेपाल राष्ट्रले यसबाट मुक्ति चाहेका छन् । यसको सही विकल्पको खोजी भैरहेको छ । यसका निम्ति केवल सरकारको मात्र विकल्पको खोजी गर्नु पर्याप्त छैन, यसका निमित्त विद्यमान व्यवस्थाको पनि विकल्प खोजिनु पर्दछ भन्ने निष्कर्षमा पुगेका १४ राजनीतिक पार्टी र सङ्गठनहरूको यही जेठ १४ गते बसेको बैठकले केही नीति र कार्ययोजनाबारे गरेका निर्णयहरूलाई यो विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।’
यस बिषयमा १४ राजनीतिक सङ्गठनहरूले जारी गरेको कार्यगत एकताको विज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो देश यतिखेर कोभिड १९ को महामारी, सरकारले गर्न खोजेको निरङ्कुश, चरम विदेशी हस्तक्षेपलगायत समस्याबाट आक्रान्त छ । नेपाली जनता र नेपाल राष्ट्रले यसबाट मुक्ति चाहेका छन्‌ । यसको सही विकल्पको खोजी भैरहेको छ । यसका निम्ति केवल सरकारको मात्र विकल्पको खोजी गर्नु पर्याप्त छैन, यसका निमित्त विद्यमान व्यवस्थाको पनि विकल्प खोजिनु पर्दछ भन्ने निष्कर्षमा पुगेका १४ राजनीतिक पार्टी र सङ्गठनहरूको यही जेठ १४ गते बसेको बैठकले केही नीति र कार्ययोजनाबारे गरेका निर्णयहरूलाई यो विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
१.नेपाल जुन गम्भीर सङ्कटमा छ, त्यसको समाधानका लागि यो सरकारलाई विस्थापित गर्नु त आवश्यक छ नै तर त्यतिले मात्र पुग्दैन । यसका निमित्त विद्यमान व्यवस्थामै अग्रगामी परिवर्तन ब्याउनु आवश्यक छ । यो व्यवस्थाको रणनीतिक विकल्पका रूपमा जनगणतन्त्र/वैज्ञानिक समाजवादी व्यवस्था दिनेमा सहमति भएको छ।
२.कार्यनीतिक रूपमा सरकार, व्यवस्थापिका, व्यवस्था, यसका प्रक्रिया आदि विकल्पलाई अझ ठोस बनाउनका लागि गृहकार्य गर्ने र बैठक बसी टुङ्गो लगाउने सहमति भएको छ ।
३.अहिलेसम्म पनि कोभिडका बिरामीको उपचार नहुने, अक्सिजन नपाएर बिरामीहरूले मृत्युवरण गर्नुपर्ने अवस्था पैदा हुनु अत्यन्त दुःखद्‌ र लज्जाको विषय हो । फेरि पनि हामी महामारीको निःशुल्क उपचारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न जोडदार माग गर्दछौँ ।
४ कोभिड महामारीलाई नियन्त्रण गर्ने र यसबाट बच्ने एक मात्र उपाय प्रमाणित खोप नै हो । विश्वका विभिन्न राष्ट्रले आफ्ना नागरिकहरूलाई कि खोप दिइसके वा दिइरहेका छन्‌ । मानवजीवनको रक्षा नै पहिलो प्राथमिकता हुनु पर्दछ तर यो गैरजिम्मेवार र भ्रष्टाचारी सरकारले खोपलाई पहिलो प्राथमिकतामा अझै राखेको छैन । तुरुन्त खोप ल्याएर सबै जनतालाई निःशुल्क खोप लगाउने व्यवस्था अविलम्ब गरियोस्‌ ।
५ केपी ओली यतिखेर इन्डो-अमेरिकी गठबन्धनको गोटीका रूपमा काम गरिरहेका छन्‌ र एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन्‌ । सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशीको योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौँ ।
६ क विप्लव नेतृत्वको नेकपासँग ओली सरकारले गरेको २ बुँदे सम्झौताअनुसार उक्त पार्टीका सबै बन्दी नेता /कार्यकर्ताहरूलाई छाडिसक्नुपर्नेमा अहिलेसम्म पनि छाडिसकेको छैन । उक्त पार्टीका नेता क. हेमन्तप्रकाश ओली “सुदर्शन’ लगायत सम्पूर्ण बन्दीलाई अविलम्ब रिहाइका लागि पुन: जोडदार माग गर्दछौँ । “


प्रतिक्रियाहरु