‘नागरिकता अध्यादेशले देशलाई फिजीकरणको बाटोमा धकेल्यो ‘

२०७८ जेष्ठ १५ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एबम अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ले देशलाई अनिष्ठताको ठूलो भूमरीमा धकेलेको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) द्वारा शुक्रबार आयोजित ‘राष्ट्रियता र नागरिकता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोलाले सो ठोकुवा गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोलाले नागरिकता अध्यादेशले देशलाई फिजीकरणको बाटोमा धकेलेको बताउँदै नागरिकतासम्बन्धी कडा नीति अपनाउने गरी यो संविधानको ठाउँमा जनवादी संविधान किन नलेख्ने ? भन्ने प्रश्न उठाए । नेता बास्तोलाले सरकारको यस्ता राष्ट्रघाती कदमले राजनीतिक प्रणालीसहित हरेक बिषयमा नेपाली जनताले फैसला गर्ने जनमत संग्रहको सुनिश्चितता आवस्यक भएको ठोकुवा गर्दै त्यस प्रकारको उच्चतम जनवादका लागि वैज्ञानिक समाजवाद स्थापना गर्न सबै एकजुट हुनुपर्ने बताए ।

उक्त अन्तरक्रिया कार्यक्रममा बरिष्ठ अधिवक्ता एकराज भण्डारी, बरिष्ठ अधिवक्ता तथा नागरिकताका विज्ञ चन्द्रकान्त ज्ञवालीलगायत बिभिन्न बिद्यार्थी संगठनका नेताहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) द्वारा आयोजित ‘राष्ट्रियता र नागरिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले राखेको साझा धारणाहरू यस प्रकार रहेका छन्–

१. राष्ट्रियताको विषय सन् १८१६ को सुगौली सन्धियता निरन्तर छिमेकीको हस्तक्षेपमा पर्दै आइरहेकोमा अहिले सत्ता जोगाउन सरोकारवालासँगको छलफल विना नै जनताको प्रतिनिधि संस्था विघठन पछि अध्यादेशमार्फत् ल्याइनु सत्ता संकट टार्ने औजार मात्र नभएर मालिक रिझाउने कुटिल चाल हो जसले गम्भीर राष्ट्रघात निम्त्याउँछ ।

२. छुटेका सबै नेपाली नागरिकहरूको नागरिकता प्राप्त गर्नु नैसर्गिक अधिकार हुँदाहुँदै पनि सबै राजनैतिक परिवर्तन पछि यो विषयलाई यसरी राजनीतिकरण गरिनु र त्यसमा पनि अंगीकृत नागरिकहरूको मात्र कुरा उठाइनुले राजनैतिक षड्यन्त्र प्रष्ट देखिन्छ ।

३. नागरिकताको विषय हाम्रो साझा समस्या हो र यसको समाधान पनि साझा तरिकाले कोही नछुट्ने र विदेशीहरूले नपाउने गरी समाधान गरिनु पर्दछ, जसमा सरोकारवाला, विज्ञ र राष्ट्रिय सहमति जरूरी छ ।

४. राष्ट्रियता र नागरिकता सधैँ विवादित बन्नु व्यवस्थाको असफलता भएकाले यसको समाधान पात्र र प्रवृत्तिमा खोजिनु विवादको निरन्तरता मात्र भएकाले यसलाई छिनाफानो गर्न व्यवस्था (पुँजीवाद कि वैज्ञानिक समाजवाद) बारे जनमतमा जानु दिगो समाधान हो ।

५. असंवैधानिक तरिकाले अध्यादेश ल्याइनु मुलुकलाई फिजीकरणको बाटोमा धकेल्नु हो ।

६. देश भित्रका सबै राष्ट्रियताले नागरिकता पाउनु पर्दछ र नागरिकहरूको स्वार्थ राष्ट्रहित विरूद्ध हुनु प्रयोग हुनुहुँदैन ।

७. राज्यको नागरिकता परराष्ट्रसम्बन्धी नीति एउटै हुनु पर्दछ यो सरकार पिच्छे फेरबदल हुने हुनुहुँदैन ।

८. सन्धिमार्फत् शासकहरूले सत्ता स्वार्थका लागि ब्रिटिश गोर्खामाथि गरेको चरम विभेदले नेपाली राष्ट्रियता मात्र विभाजित भएको छैन, यसले उनीहरूलाई राजनैतिक, सांस्कृतिक र आर्थिक अधिकारहरूबाट बन्चित गर्दा ब्रिटिश गोर्खाहरूको अस्तित्व संकटमा मात्र पारेको छैन, यसले नेपाललाई अझै पनि भाडाका सिपाही जन्माउने देशको रूपमा चित्रित गरेको छ, जुन सम्पूर्ण नेपालीहरूको लागि राष्ट्रिय लज्जा साथै देश भित्र एउटा जाति समुदाय माथिको अपमान पनि हो त्यसैले राष्ट्रसँग जोडिएका यस खाले सबै सन्धि–सम्झाताहरू खारेज गरिनु पर्दछ ।

९. माथिका यी सबै समस्याहरू र विकल्पहरूलाई कार्यान्वयन देशभक्त नागरिक, प्रगतिशील र वामपन्थीहरूको नेतृत्वमा संयुक्त सरकार बनाइनु पर्दछ, जसले यो महामारीमा–

क. सबैलाई कोरोना भ्याक्सिन सुनिश्चित गर्नुपर्दछ ।

ख. स्वास्थ मापदण्डको ख्याल गर्दै कोरोना परीक्षण जनचेतना र नियन्त्रणमा ध्यान दिन स्वयम् सेवकहरू परिचालन गर्नुपर्दछ ।

ग. जनताको जनजीविकालाई सहज बनाउन राहत क्षतिपूर्ति र रोजगारीको अवसर सृजना गर्नुपर्दछ ।

घ. प्रगतिशील बिकल्पका लागि जनमत बनाउन ध्यान दिनुपर्दछ ।

ड. बैज्ञानिक शिक्षा लागू गर्नुपर्दछ जसले यस्ता महामारीबारे बैज्ञानिक निर्णय गर्न सकोस् ।

नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) द्वारा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला रहेका थिए भने अतिथिमा बरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता तथा नागरिकताका विज्ञ चन्द्रकान्त ज्ञवालीलगायत बिभिन्न बिद्यार्थी संगठनका नेताहरुको सहभागिता रहेको थियो ।

अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सो संगठनका केन्द्रीय महासचिव प्रकाश शाहीले गरेका थिए भने स्वागत मन्तव्य संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले राखेका थिए ।

प्रतिक्रियाहरु