बुद्धकालीन तीन भनाइ माक्र्सवादसँग सम्बन्धित !

२०७८ जेष्ठ १२ गते, बुधबार

नरायण शर्मा

आज बुद्ध पूर्णिमा ! बुद्ध जन्मेको पूर्णिमाको दिन ! त्याग-तपस्या, सेवा-समर्पण, शान्ती-मुक्ती र ज्ञान-गुनका प्रतिमूर्तीको शुभागमन भएको ऐतिहासिक दिन ! यस महान् अवसरमा गौतम बुद्धप्रती हार्दिक स्मरण र श्रद्धासुमन तथा समस्त बुद्धप्रेमी अर्थात् बुद्धका विचार, भावना र कार्यहरुको अवलम्बन र कार्यान्वयन गर्ने जनमनहरुप्रती बुद्धजयन्तिको हार्दिक शुभकामना !
गौतम बुद्धको व्यक्तित्व र कृतित्व पनि पूर्णिमाको चन्द्रमाको जस्तै उज्यालो, चहकिलो, शीतल, शान्त र सौम्य थियो ! उनका उपदेस र शिक्षाहरु जीवन र जगतका लागि धेरै हदसम्म उपयोगी, अनुकरणीय र अवलम्बनीय नै छन् !
उनी मूर्ति पूजाका कट्टर विरोधी र अनिश्वरवादी दर्शनका प्रवर्तक पनि हुन् ! साथै संघका प्रणेता पनि भएकाले “बुद्धम् शरणम् गच्छामी” सँगै “संघम् शरणम् गच्छामी” भन्ने भावधारा र अभियान नै संचालन भयो जो अद्यापी भजनीय मात्र नभएर मननीय र अनुकरणीय समेत भई सर्वत्र संघसंस्था र संगठनका रुपमा कार्यान्वयनमा छन् ! समग्रमा भन्नुपर्दा बुद्धका जीवनदर्शन र कार्यहरु समस्त मानवजाती, जीवजन्तु र प्रकृतिको संरक्षण र सम्बर्द्धनका लागि अलगअलग र इकोसिस्टमका रुपमा स्थायी मार्गदर्शन नै हुन् ! त्यसैले बुद्धधर्मको रुपमा बुद्धका विचार, भावना र योगदानहरु आज उनको जन्म भएको २६ सय बर्षजती पछि पनि संसारभरिका मानवजातिका लागि अनुपम नमूना र आदर्शकै रुपमा स्तुत्य र ग्राह्य छन् ! फलतः बुद्धका यिनै विचार, जीवनदर्शन, उपदेस र कार्यहरुका कारण नै बुद्धवाद आज बुद्धधर्मका रुपमा संसारव्यापी छ र विश्वको सबैभन्दा ठूलो संख्याले बुद्धधर्म अवलम्बन गर्दै बुद्धलाई महामानव र भगवानको रुपमा मान-मर्यादा र पूजा-अर्चना गर्दै आएका छन् ।
बुद्धको प्रथम र अहम महत्वको उपदेस शान्ती र अहिंसा हो भने क्रान्तिकारी महत्वको विचार अनिश्वरवाद हो र युगान्तकारी कार्य मूर्तिपूजाको विरोध हो !
तर एउटा विचित्र र विपरीत विडम्बना आज यो भैरहेको छ कि धर्म, राजनीती, बिज्ञान र सभ्यताका नाममा संसारमा यतिबेला मानवीय द्वन्द्व र हिंसा समेत अत्यधिक हुँदै आएको छ ! यसैगरी अनिश्वरवादी अर्थात् ईश्वर छैनन् भन्ने मान्यताका क्रान्तिकारी युगपुरुष बुद्धलाई नै आज उनका अनुयायीहरुले जानी-नजानी ईश्वर नै बनाएका छन् र संसारमै सबैभन्दा धेरै र ठुला मूर्ति पनि बुद्धकै बनाएर पूजा गरिरहेका छन् ! धार्मिक रुढिवादी र कठमुल्लावादीहरुले आज आफूलाई जतिसुकै बुद्धका भक्त र बुद्धधर्मका अनुयायी बताएर जे जे गरेपनी बुद्धलाई इश्वर बनाउने र उनका मूर्ती बनाएर पूजा गर्ने कार्य, परम्परा र प्रचलनले गर्दा प्रकारान्तरले बुद्धको मान भन्दा अपमान र यथार्थमा उनको पूजा नभएर उनका विचार, मूल्यमान्यता, मर्म र भावनालाई धुजाधुजा पार्नु हुन जान्छ !
तसर्थ आज बुद्ध जयन्तिको यस पुनित र पावन अवसरमा बुद्धका सही र युगीन विचारहरुलाई शान्त र प्रसन्न अनि स्वच्छ र समुन्नत चिन्तन र चेतनाले अनि चित्त र चरित्रले अवलम्बन र कार्यान्वयन गर्नु गराउनु नै वास्तवमा बुद्ध जयन्ती मनाउनु, बुद्धको स्मरण गर्नु, श्रद्धा गर्नु र बुद्धवादलाई संरक्षण, सम्बर्द्धन र संप्रेषण गर्नु हो र हुने छ भन्ने लाग्दछ !

बुद्ध, बुद्ध धर्म र बुद्धवादका बारेमा यी तीन वाक्य–वाक्यांशहरु निकै लोकप्रिय छन्, गेयात्मक छन् र मननीय पनि रहिआएका छन्–

१) बुद्धम् शरणम् गच्छामी !

२) संघम् शरणम् गच्छामी !

३) धर्मम् (धम्मम्) शरणम गच्छामी !

यसरी एकैसाथ बुद्धको शरणमा, संघको शरणमा र धर्मको शरणमा जाने कुरा किन गरिएको होला ? यसबारे केही बुझ्ने प्रयास गरौं !

बुद्ध, संघ र धम्म–धर्मको शरणमा जाने भन्नुको कारण बुझ्नुको सँगसँगै बुद्ध, संघ र धर्म र धम्मबारे पनि स्पष्ट हुनु आवश्यक हुन्छ । बुद्ध, संघ र धर्म–धम्म के हो भन्ने बुझिसकेपछि मात्र तिनको शरणमा वा मार्गमा जाने र किन जाने भन्ने कुरा स्वतः स्पष्ट हुन्छ । त्यसैले अब यसतर्फ लागौं–

बुद्ध भनेको ज्ञान हो, त्याग हो, तपस्या हो र साधना हो । अर्थात् अध्ययन, अनुभव, संघर्ष र समर्पणबाट प्राप्त ज्ञान हो बुद्धत्व ! मूलतः सार र संक्षेपमा बुद्ध भनेको ज्ञान नै हो । ज्ञान प्राप्तिको लागि त्याग र तपस्या अनिवार्यबस् हुनु, गर्नुपर्छ । यो त्याग र तपस्या हुन वा गर्नको लागि पनि सापेक्षित वा छिपछिपे ज्ञान वा चेतना नैसर्गिक वा आर्जित रुपमा हुनु जरुरी हुन्छ, यही सापेक्षित वा छिपछिपे ज्ञान वा चेत नै कुनै कुरा थप जान्ने र बुझ्ने उत्सुकता वा जिज्ञासा हो र यो जिज्ञासा भनेको प्रश्न गर्ने र आलोचना गर्ने सामान्य चेत वा ज्ञान नै हो ।

सिद्धार्थ गौतममा रहेको यही चेतका कारणले उनले जीवन र जगतका बारेमा के होला, कसो होला र किन होला भन्ने प्रश्न गर्न थाले अर्थात् उत्सुकता र जिज्ञासा राख्न थाले । यसै जिज्ञासा अर्थात् थप ज्ञान, स्पष्ट ज्ञान, यथेष्ट ज्ञान र पूर्ण ज्ञान प्राप्तिको लागि जब आफ्नो राजा हुने स्वर्णिम अवसर र राजकीय ऐश्वर्य त्यागेर दुःखकष्टको मार्गमा अविच्छिन्न लागिरहे, पूर्ण ज्ञान प्राप्तिको लागि अध्ययन, बहस, विवाद र अनुभव गर्दै गए । तत्पश्चात् ठूलो र लामो त्याग–तपस्या, लगानी–कुर्वानी र दुःख–कष्टका बीचबाट उनले यथेष्ट, समृद्ध र पूर्णज्ञान प्राप्त गर्न सके । अथवा यसो भनौं बुद्धले शुरुका उनका विविध प्रश्न र जिज्ञासाहरुको मूलतः उत्तर पाए वा भनौं ज्ञान पाए अर्थात् बुद्धत्व प्राप्त गरे । यसरी छर्लङ्ग हुन्छ कि त्याग, तपस्या र ज्ञानको समष्टि नै बुद्धत्व हो । त्यसैले बुद्ध भन्नाले सारसंक्षेपमा ज्ञान नै बुझिन्छ र बुझ्नु पर्दछ ।

यसरी बुद्धम् शरणम् गच्छामी अर्थात् बुद्धको शरणमा जाने भनेको वास्तवमा ज्ञानको शरणमा जाने भनिएको हो । ज्ञान अर्थात् विद्या, बुद्धि र विवेकले नै सबै जटिलता, चुनौती र समस्याहरूको सामना र समाधान गर्ने सामथ्र्य राख्दछ । त्यसैले बुद्धको वा भनौं ज्ञानको शरणमा अर्थात् ज्ञान प्राप्तिको मार्गमा–संगतमा जाने–लाग्ने कुरा भए–गरिएको हो, जो कुरा अत्यन्त वस्तुवादी र बैज्ञानिक मात्र होइन उचित, आवश्यक र स्वाभाविक पनि हो ।

यसरी नै संघ भनेको जनता वा मानिसहरुको समूह, समुदाय वा समाज हो । जब यो समूह, समुदाय वा समाज एउटा निश्चित मूल्य–मान्यता, नीति–विधि, ध्येय–उद्देश्य र लक्ष–आदर्शप्रति अनुबन्धित हुन्छ र त्यसको अनुशासनमा रहेर गतिविधि गर्दछ, तब त्यो ब्यक्ति वा समूह संघमा आबद्ध भएको मानिन्छ । ब्यक्तिभन्दा परिवार शक्तिशाली हुन्छ भने परिवारभन्दा समूह, समुदाय वा समाज बलियो हुन्छ । संघ भनेको विविध क्षेत्र, जाति, लिङ्ग, धर्म, सम्प्रदाय र समाजका मानिसहरुका समूहहरु र समुदायहरु आबद्ध भएको धेरै मानिसहरुको संस्था भएकोले यो कुनै एक निश्चित समुदाय वा समाजभन्दा पनि धेरै नै शक्तिशाली हुन्छ । भनिएको पनि छ,– ‘संघे शक्ति कलियुगे’ अर्थात् कलियुगमा संघमा नै शक्ति हुन्छ । यसरी संघमा नै भौतिक, आत्मिक र नैतिक शक्ति विद्यमान हुने र त्यहाँबाटै वैचारिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, आर्थिक र मानवीय आदि सबै प्रकारका समस्याहरुको समाधान हुने भएकाले मानिसहरुले संघम् शरणम् गच्छामी (म संघको शरणमा जान्छु) भन्ने अवस्था पैदा भएको हो ।

संघ वास्तवमै सत्यको, न्यायको र समानताको, ज्ञानको, ध्यानको र ज्यानको अनि जुक्तिको, भुक्तिको र मुक्तिको पनि श्रोत हो । त्यसैले आफ्ना हर समस्याको समाधानको निम्ति पनि संघमा जाने, संघमा लाग्ने, संघमा प्रतिबद्ध हुने र संघमा कटिबद्ध भएर काम गर्ने कुरा गरिएको हो, जो आवश्यक र स्वाभाविक पनि हो ।

धम्म भनेको धाम हो, पवित्र स्थान हो, यज्ञ हो र अनुष्ठान–प्रतिष्ठान हो । धर्मको केन्द्र वा भनौं धर्म प्राप्तिको मार्ग वा माध्यम हो धाम । धर्म भनेको पनि पुण्य हो र पुण्य भनेको परोपकार हो । भनिएको पनि छ–

अष्टादश पुराणेषु व्यासस्य वचनम् द्वयम् !

परोपकार पुण्याय पापाय परपीडनम् !!

अर्थात् हाम्रो पूर्वीय वाङ्मयमा रहेका अठार पुराणको सार निकाल्दै व्यास ऋषिले भनेका छन् कि परोपकार गर्नु पुण्यरधर्म हो भने अर्कालाई पीडा दिनु पाप हो । यसरी धम्मम् शरणम् गच्छामिको अर्थ, अभिप्राय र सम्बन्ध कल्याणकारी ठाउँमा जाने कुरासँग रहेको देखिन्छ । दुःख, चिन्ता र शोकले सन्तप्त हुँदा त्यसबाट मुक्ति पाउने, निर्वाण वा त्राण पाउने स्थान धाम हो भने त्यो मुक्ति दिलाउने कार्य धर्म हो । यसरी धम्म भनेको धर्मकार्य गरिने स्थान भएकोले धम्म र धर्मलाई समानार्थी शब्दको रुपमा प्रयोग गर्न खोजिएको पाइन्छ ।

जुन ठाउँ, संगत, प्रकृया वा मार्गमा जाँदा सुखशान्ति, मुक्तिप्रगति र जसयश पाइन्छ, त्यही ठाउँ नै धाम हो भने जुन कामबाट कसैको कल्याण हुन्छ, त्यो काम धर्म हो । त्यसैले त्यतातिर जाने कुरा उचित, आवश्यक र वाञ्छनीय मात्र होइन, चित्ताकर्षक पनि रहिआएको हो ।

बुद्ध र बुद्धत्व अर्थात् ज्ञान, संघ अर्थात् समूह–समाज–जनता र धम्म अर्थात् पुण्य–राम्रो कार्य गर्ने स्थल–धाम गवा राम्रो कामजस्ता यी तीन कुराहरुबीच पनि अन्योयाश्रित सम्बन्ध छ र यी एक अर्काका पूरक मात्र नभएर भिन्न वाक्य र पदावलीमा समान अर्थ दिने भनाइहरु नै हुन् भन्ने देखिन्छ ।

माक्र्सवादीहरुले पनि बुद्धत्व अर्थात् ज्ञान–चेतनालाई भौतिक वस्तुपछिको सर्वश्रेष्ठ कुरा मान्दछन् । ज्ञान वा चेतना भएमा सत् र असत, असल र खराब वा सुन्दर र कुरुप छुट्टाउन सकिने, तिनलाई बदल्न वा विकास–विनास गर्न सकिने वा विस्थापित–स्थापित गर्न सकिने मान्दछन् । यसरी माक्र्सवादले बुद्धत्व अर्थात् ज्ञान वा विचारलाई भौतिक जगत संचालन र विकासको एक प्राथमिक र मुख्य शक्तितत्व मान्दै संघ अर्थात् पार्टी–संगठनलाई लक्ष प्राप्तिको एउटा अनिवार्य र महत्वपूर्ण साधन ठान्दछ । त्यसरी नै धर्म, परोपकार अर्थात् मानव जातिको हकहित र मुक्ति प्रगतिको कार्यलाई माक्र्सवादले आफ्नो लक्ष–गन्तव्य मान्दछ । यसरी हेर्दा हिजो भनिएका यी वाक्यहरु– ‘बुद्धम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी र धम्मम् शरणम् गच्छामी’ माक्र्सवादसँग सम्बन्धित छन् । त्यसैले तिनलाई आज माक्र्सम् शरणम् गच्छामी, पार्टीम् शरणम् गच्छामी र मुक्तिम् शरणम् गच्छामी को रुपमा बुझ्नु, बदल्नु र लागू गर्नु उचित र आवश्यक देखिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु