दया लाग्छ !

झपेन्द्रराज बैद्य २०७८ जेष्ठ १० गते, सोमबार

माधव समूहमा लाग्दा–लाग्दा

कुकुरले हाड छोडे जस्तै

तिमीलाई छोडे प्रचण्ड

केपी वलीको फेरो समात्दा पनि

तिमीलाई कसैले पत्याएन प्रचण्ड

 शक्तिको पूजा हुन्छ ।

 तर तिम्रो शक्ति भएन ।

 विचार छोडेपछि प्रचण्ड

 तारे भीरबाट खस्यौ प्रचण्ड ।

 अहिले कार्टुन बनेका छौ प्रचण्ड

 दया लाग्छ प्रचण्ड,

 बिचार भए पो हुन्छ ।

 बिचार छोडे के हुन्छ ?

 जोक्कर हुन्छ

 दलाल हुन्छ

 अवसरवाद हुन्छ ।

बिचार सही छ सबै हुन्छ ।

 आज छैन घमण्ड, दम्भ र शान

 खान पाए आउँछन् तिम्रो वरिपरि

 न खान पाइन्छ न त सिद्धान्त

 अवसरवादमा के हुन्छ ?

 सिद्धान्तबिना अन्धो मानिस

 बिचारबिना लँगडो हुन्छ ।

 दलाल पुँजीवादले पनि शक्ति हेर्छ ।

 अमेरिकाले शक्ति हेर्छ

 भारतले औकात हेर्छ ।

 युज एण्ड थ्रो गर्छ ।

 दया लाग्छ प्रचण्ड

 कहिले वल्लो डिल कहिले पल्लो ।

 न त बर्ग संघर्ष

 न त बल प्रयोगको शक्ति

 गर्छौं लोकतन्त्रको भक्ति

 संसदीय ब्यबस्था त मरिसक्यो ।

 भिख माग्छौ कति ?

 खोई प्रचण्ड ?

 जनमुक्ति सेना खोई ?

 वाइसिएल खोई ?

 मालेमावाद खोई ?

 तिम्रो धरातल खोई ?

 हुँदै हुँदैन

लासको उपचार हुँदैन

अब केको विप्लव ?

केको किरण ?

विप्लव त एकीकृत जनक्रान्तिमा

आधा धर्ती जितिसके

आउँदछौ र समरमा ?

तिमीले सडकमा फालेको

हँसिया र हथौडाको झण्डा

उठाएर वन–पाखा गाउँ–बस्ती

शहर बजार ढाकिसके ।

वैज्ञानिक समाजवादमा

लामबद्ध भइसके मानिस

जनताको विश्वास जितेर

 आऊ प्रचण्ड

 सहिदका सपना खायौ प्रचण्ड

 सुन्दर सपनाका लागि

 नयाँ बिहानीका लागि

 सत्र हजारको छ बलिदानी

 पचासौं हजार अपाङ्ग

 तिमी आपूm मात्र सवलाङ्ग ?

 अझै छन् आस्थाका खम्बाहरु

क्रान्ति र परिवर्तनका हातहरु

कुनै त पद प्रतिष्ठामा डुबे ।

फोहोर आहालमा फसे

तिम्रो समूहमा पनि त

क्रान्तिकारीहरु छन् ।

तर आँट र साहस छैन ।

तिमीले बाटो बिराए

उनीहरु पनि कुहिरोमै हिँड्ने ?

आउन सक्छौ भने आऊ

फलाम पगाल्न आऊ

जीवन–मरणको

लडाइँमा आऊ

दया लाग्छ प्रचण्ड

जनताको जीत त निश्चित छ ।

किन गोलचक्कर ?

किन आत्मसमर्पण साम्राज्यवादमा ?

राष्ट्रियता, जनतन्त्र र जनजीविका

वैज्ञानिक समाजवादमा हुन्छ

यसैमा सुन्दर नेपाल बन्छ ।

प्रतिक्रियाहरु