१७० किलोमिटर लामो, २५ किलोमिटर फराकिलो हिउँको टुक्रा भेटियो !

२०७८ जेष्ठ ६ गते, बिहीबार

काठमाडौं। १ सय ७० किलोमिटर लामो र २५ किलोमिटर फराकिलो हिउँको टुक्रा भेटिएको छ । यो विश्वकै सबैभन्दा ठूलो हिउँको टुक्रा भएको बताइएको छ । यसलाई वैज्ञानिकहरुले यसलाई ए–७६ नाम दिएका छन् । यो आकारमा निकै विशाल छ । यो आइसबर्ग अन्टार्कटिकामा भेटिएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार यो विशाल आइसबर्गको कूल क्षेत्रफल ४ हजार ३२० वर्ग किलोमिटर छ ।
ए–७६ को विशालताको अनुमान त्यहाँ काम गरिरहेका धेरैजसो वैज्ञानिकलाई पनि थिएन । यसका लागि भू–उपग्रह मापन प्रविधिको सहयोग लिइयो । त्यसपछि मात्रै ए–७६ विश्वमा अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा ठूलो आइसबर्ग भएको थाहा भयो । केही अर्थमा यसलाई समुद्रमा तैरिरहेको टापु समेत मान्न सकिन्छ । यो आइसबर्ग अन्टार्कटिकाको रोनी आइस सेल्फबाट टुक्रिएको हो र अहिले वेडेलको समुद्री क्षेत्रमा तैरिइरहेको छ । यसको बारेमा थज जानकारी अबका केही दिनमा आउनेछन् ।
रिपोर्टका अनुसार आकारमा यो न्यूयोर्कको लंग आइल्याण्डभन्दा पनि ठूलो छ । पोर्टोरिकोको कूल क्षेत्रफलको आधा जति छ । वैज्ञानिकहरुका अनुसार अन्टार्कटिकाको आइससिट ग्लोबल वार्मिङका कारण पग्लिरहेको छ र यसैको परिणामस्वरुप यो आइसबर्ग टुक्रिएको हो । केही दिनमा यो आइसबर्ग आफैं पनिसाना साना टुक्रामा विभाजित हुनेछ ।
गतवर्ष अर्को एक आइल्याण्ड ए–६८ए पनि भेटिएको थियो । त्यतिबेला आकारमा त्यही सबैभन्दा ठूलो मानिन्थ्यो । वैत्रानिकका अनुसार कैयौं पटक यस्ता आइसबर्ग समुद्री जीवहरुका लागि खतरा हुन सक्छन् । यसबाट समुद्री सिंह र पेन्गुइनका बच्चाहरु हुर्किने प्रक्रियामा असर पर्छ । एक अनुसन्धानका अनुसार १९८० पछि समुद्री सतह औसत ९ इन्च बढेको छ । यसबाट आइसबर्ग पग्लिएर समुद्रमा खस्ने क्रम झनै बढ्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु