नेकपा बाँकेद्वारा स्वास्थ्य आपत्काल क्षेत्र घोषणा गर्न माग

२०७८ जेष्ठ ३ गते, सोमबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी बाँकेले मुलुककै सर्वाधिक कोरोना सङ्क्रमति जिल्ला बाँकेमा स्वास्थ्य आपत्काल क्षेत्र घोषणा गरी सङ्क्रमतिहरुको अविलम्ब उपचार गर्न माग गरेको छ । जिल्ला इन्चार्ज दीपक र सेक्रेटरी अनिलले वक्तव्य जारी गरी सबैभन्दा पहिलो प्राथमिकतामा रहेको अक्सिजन आपूर्तिका लागि एक महिनाभित्र पूरा गर्ने गरी प्रत्येक प्रदेशमा सरकारी स्तरबाटै कम्तीमा एउटा अक्सिजन प्लान्टको निर्माण यथाशीघ्र आरम्भ गर्न र तत्कालका लागि देशभित्र र बाहिरका सहयोगी निकायहरूबाट आपूर्तिको पहल गर्न पनि माग गरेका छन् ।
प्रेस वक्तव्यमा भनिएको छ, ‘कोरोना आक्रमणको दोस्रो लहर भनिएको महाव्याधिले देशको अधिकांश भाग लपेटिसकेको छ । यो फैलावट दैनिक बढिरहेको छ । एकातिर सङ्क्रमण गाउँ–टोल र सम्भवतः घर–घर फैलिइरहेको छ भने अर्कोतिर अस्पतालमा भर्ना भएका बिरामीहरूले अक्सिजनको अभावमा ज्यान गुमाउनु परिरहेको कहालीलाग्दो अवस्था छ । निजी अस्पतालहरूले अक्सिजन र बेडको अभाव देखाएर उपचार गर्न नसकिने घोषणा गरिरहेका छन् । यो अत्यन्त सङ्कटपूर्ण घडीमा राज्य निजी अस्पतालहरूलाई अक्सिजन प्लान्ट निर्माण गर्न उर्दी जारी गरेर जनताप्रतिको उत्तरदायित्वबाट पन्छिएको छ । उता यही बेला कैयौँ निजी अस्पतालहरूले बिरामीबाट सकेजतिको चर्को असुली गरिरहेका छन्, लुटिरहेका छन् ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘हालसम्मको परिणामअनुसार बाँके देशभरिकै सबैभन्दा उच्च सङ्क्रमित र मृत्यदर भएको जिल्ला बन्न गएको छ । सम्भवतः यहाँका अधिकाधिक जनतामा सङ्क्रमण फैलिइसकेको छ । सङ्क्रमण पुष्टि भएका अधिकांश जनता घरमै आइसोलेसनमा छन् । तर त्योभन्दा कैयौँ गुणा ठूलो सङ्ख्या पीसीआर जाँचबिना नै घर–घरमा रहेका देखिन्छन् । यो अवस्थामा बाँके जिल्ला र समग्र देशको अवस्थालाई ध्यानमा राखेर सरोकारवाला सबैमा गम्भीर ध्यानाकर्षणका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।’
वक्तव्यमार्फत अघि सारिएको ११ बुँदे माग र सुझाव यसप्रकार रहेका छन् :
१) सबैभन्दा पहिलो प्राथमिकतामा रहेको अक्सिजन आपूर्तिका लागि एक महिनाभित्र पूरा गर्ने गरी प्रत्येक प्रदेशमा सरकारी स्तरबाटै कम्तीमा एउटा अक्सिजन प्लान्टको निर्माण यथाशीघ्र आरम्भ गरियोस् । तत्कालका लागि देशभित्र र बाहिरका सहयोगी निकायहरूबाट आपूर्तिको पहल गरियोस् ।
२) कोरोनासँगको यो महायुद्धमा आफ्नो जीवनको बाजी थापेर उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी र अन्य स्वयम्सेवकहरूको प्रोत्साहन भत्ता अविलम्ब उपलब्ध गरियोस् । साथै कर्तव्य पालनाको सिलसिलामा कसैको ज्यान गएमा निजका परिवारको सम्पूर्ण जिम्मेवारी राज्यले लिने नीति तत्काल घोषणा गरियोस् ।
३) कोरोनाबाट मृत्यु हुन गएका व्यक्तिको सम्पूर्ण उपचार खर्च राज्यद्वारा उपलब्ध गराइयोस् ।
४) सम्पूर्ण निजी अस्पतालहरूको राज्यले अविलम्ब जिम्मा लिई उपचार व्यवस्था प्रभावकारी र सुलभ गरियोस् ।
५) एम्बुलेन्स (हवाई तथा गाडी) भाडा देशभरि निःशुल्क गरियोस् ।
६) पीसीआर जाँच निःशुल्क गर्नुका साथै घुम्ती टोलीको व्यवस्था गरियोस् ।
७) आइसोलेसन सेन्टरहरू आवश्यकता हेरेर वडास्तरमा विस्तार गरी सम्पूर्ण सरकारी र गैरसरकारी स्वास्थ्य क्षेत्रका व्यक्तिहरूलाई परिचालन गरियोस् ।
८) कोरोनाबाहेकका बिरामीहरूको उपचारका लागि निश्चित अस्पतालहरूलाई तोकेर स्वास्थ्य सेवा नियमित गरियोस् ।
९) समग्र आपूर्ति व्यवस्थालाई सुदृढ गर्नुका साथै खाद्यलगायत अत्यावश्यकीय सामग्रीहरूको भण्डारण र बिक्री–वितरणलाई सहज गरियोस् ।
१०) पहिलो चरणको खोप लिइसकेका व्यक्तिहरूलाई दोस्रो चरणको खोप उपलब्ध गर्नुका साथै प्रत्येक नागरिकलाई खोपको अविलम्ब व्यवस्था गरियोस् ।
११) बाँके जिल्लालाई स्वास्थ्य आपत्काल क्षेत्र घोषणा गरी स्वास्थ्यकर्मी, औषधी, स्वास्थ्य उपकरणहरू, अक्सिजन इत्यादिको केन्द्रीकरण गरियोस् ।
अन्त्यमा विज्ञहरूका अनुसार कोभिड १९ अति उत्परिवर्तनीय क्षमता भएको भाइरस भएकाले अझै अरू केही लहरहरूको समेत मानव जातिले सामना गर्नुपर्ने हुनसक्छ । अतः त्यसलाई समेत ध्यानमा राखेर आगामी जनसुरक्षा रणनीति तर्जुमा समेत बेलैमा गर्न नेपाल सरकार र सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ । हाम्रो पार्टी यो सङ्कटमाथि विजय प्राप्त गर्न सबैसँग निरन्तर सहकार्य र सहयोगको प्रतिबद्धता व्यक्त गर्दछ ।”

प्रतिक्रियाहरु