अखिल (क्रान्तिकारी) लाई कोरोनाविरुद्ध जनसेवामा लाग्न निर्देशन

२०७८ जेष्ठ ३ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले अखिल (क्रान्तिकारी) लाई कोरोना महामारीका विरुद्ध बृहत् जनपरिचालन अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् । अखिल (क्रान्तिकारी) ले ५७ औँ विद्यार्थी दिवसका अवसरमा आयेजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनले सो संगठनलाई कोरोना महामारीका विरुद्ध बृहत् जनपरिचालन अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । नेता कञ्चनले बृहत् जनपरिचालन अभियान सञ्चलान गर्न जनस्वयम्सेवक गठन गरी सम्पूर्ण क्षेत्रमा स्वयम्सेवकका रूपमा खट्न र खटाउन पनि निर्देशन दिए ।
उक्त जनपरिचालन अभियानमा कोरोना अति प्रभावित क्षेत्रहरूमा एकान्तबास सञ्चालन गर्न प्रयत्न गर्ने, सङ्क्रमित क्षेत्रका सम्पूर्ण जनताको स्वाब परीक्षणका लागि सरकारलाई दबाब दिने, अक्सिजन उत्पादन प्लान्टमा विद्यार्थी स्वयम्सेवकहरू खटाउने र अनियमितता हुनेबारे निगरानी राख्ने, अस्पतालहरूमा स्वयम्सेवक खटाउने र बिरामी र अस्पतालबीचको समन्वयमा मद्दत गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी अभियानमा गाउँ र सहरमा भएका बिरामी पहिचान गरी उनीहरूलाई सेवा पुर्याउन मद्दत गर्ने, सहर र गाउँमा भएका कोरोना सङ्क्रमितको तथ्याङ्क सङ्कलन गरी स्वाब परीक्षणका लागि सरकारसँग माग गर्ने, विश्व स्वास्थ्य सङ्गठन र सरकारले निर्धारण गरेका कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानी अपनाउन सर्वसाधारणलाई मद्दत गर्ने र सामाजिक सद्भाव बढाउँदै भौतिक दूरी कायम गर्न सबैमा सचेतना फैलाउने, स्वयम्सेवकहरूलाई अक्सिजनमा कालोबजारी र औषधीमा हुने भ्रष्टाचार नियन्त्रण गर्न परिचालन गर्ने, कोरोनाबाट स्वस्थ रहन प्रमाणित भएका विधिहरू प्रचार गर्ने र यी कामहरूका लागि स्थानीय सरकार, अस्पताल र सरकारी प्रशासनसँग समन्वय गर्न पनि नेकपा नेता कञ्चनले निर्देशन दिए ।
भर्चुअल बैठकको अध्यक्षता सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले गरेका थिए भने सबै विद्ययार्थी पदाधिकारी र केन्द्रीय सदस्यहरूले सङ्क्षिप्त मन्तव्य राखेका थिए । बैठकमा सङ्गठनका पूर्वअध्यक्षसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरू शरद रसाइली र पूर्णबहादुर सिंहको पनि उपस्थिति थियो ।

प्रतिक्रियाहरु