सञ्चारमाध्यमको कार्यालयमा बम विष्फोट : सर्बत्र निन्दा

२०७८ जेष्ठ २ गते, आईतवार


काठमाडौ । इजरायलले प्यालेष्टाइन नियन्त्रित गाजास्थित सञ्चारमाध्यमहरु रहेको भवनमै बम विष्फोट गराई ध्वस्त गराएकामा वैश्विकस्तरमा निन्दा भएको छ । शनिबार दि एसोसिएटेड प्रेस (एपी) र अल–जजीरा रहेको बहुतल्ले भवनमा इजरायलले क्षेप्यास्त्र प्रहार गरी ध्वस्त बनाएको थियो । उक्त घटनाको एपी र अल–जजीरा दुबैले निन्दा गर्दै गाजामा पत्रकारलाई काम गर्न नदिने खेल अन्तर्गत यो आक्रमण गरिएको जनाएका छन् । मिडियामाथि सेन्सर गर्न खोजेको आरोप पनि इजरायलमाथि लागेको छ ।
एपीले घटना भयावह र आश्चर्य पार्ने खालको भएको जनाएको छ भने अल–जजीराले पत्रकारलाई काम गर्न नदिने यो सब गरिएको भन्दै जघन्य अपराधको संज्ञा दिएको छ । त्यहाँ हमासको कुनै कार्यालय नरहेको र आक्रमण नगर्न इजरायली सेनालाई पटक पटक आग्रह गर्दा पनि नसुनेको एपीले जनाएको छ । १५ वर्षदेखि आफ्नो कार्यालय रहेको उक्त भवनमा हमासको अड्डा रहेको प्रमाण दिन इजरायली सेनालाई भनेको पनि उसले उल्लेख गरेको छ । आफ्ना १२ पत्रकार कार्यालयमा काम गरिरहेकै बेलामा आक्रमण गर्न लागिएको सूचना पाएपछि बल्ल बल्ल उनीहरुले भागेर ज्यान जोगाएको पनि एपीले जनाएको छ । पत्रकार निस्केलगत्तै १२ तल्ले उक्त भवनमा तीन क्षेप्यास्त्र प्रहार गरेर ध्वस्त बनाइएको थियो । आफूले बारम्बार गरिरहेको युद्ध अपराधबारे विश्व जगतले थाहा नपाउन् भन्ने इजरायलले सञ्चारमाध्यममाथि सेन्सर लगाउन खोजेको ए्पीको भनाइ छ ।
इजरायलबाट भएको यस बर्बर घटनाको निन्दा गर्न अल–जजीराले अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेको छ । यस आक्रमणका लागि इजरायलमाथि कार्वाही गरिनुपर्ने माग उसले गरेको छ । गाजाको जनताको पीडा र उनीहरुमाथि गरिएको अत्याचार बाँकी विश्वले थाहा नपाउन् भन्न मिडियामाथि आक्रमण गरिएको तर्क अलजजीराको छ । – एजेन्सी

प्रतिक्रियाहरु