कोरोना संक्रमण नियन्त्रणमा जुटौं

२०७८ जेष्ठ २ गते, आईतवार

यतिबेला कोरोना संक्रमणका कारण जनजीवन अस्तव्यस्त बनेको छ । कोरोना संक्रमितहरु उचित स्वाथ्योपचार नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेका छन् । कोरोना संक्रमितको उपचारमा सरकारले उल्लेख्य कार्य गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ । देश र जनता कोरोना संक्रमणबाट आतंकित भइरहँदा देशमा संसद्वादी दलहरु सरकारको छिनाझम्टीमा कम्मर कसेर लागेका थिए, तत्कालको लागि त्यो खेल समाप्त भएको छ । विगतमा संसद्वादी दल र सरकारले जेजस्तो कमजोरी गरेको भए पनि अब सच्चिएर अगाडि बढ्नु देश, जनता, स्वयम् ती राजनीतिक दल र नेताहरुलाईसमेत लाभदायी हुने निश्चित छ । अन्यथा जनआक्रोशले उग्ररुप लिने निश्चित छ ।

देश र जनता कोरोना संक्रमणबाट आतंकित भइरहँदा नेपाल कम्युनिस्ट पार्टीले ठाउँठाउँमा हेल्थ डेस्क स्थापना गरेको छ, सो पार्टी र पार्टीका भ्रातृ संगठनहरु कोरोनाविरुद्ध सचेतना फैलाउने र स्वास्थ्योपचारका सामग्री वितरणमा लागेका छन् भने कतिपय स्थानमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाएको समेत समाचार सार्वजनिक भइरहेका छन् । यो नेपाल कम्युनिस्ट पार्टीको देश र जनताप्रति उत्तरदायी र सह्रानीय कार्य हो । नेकपाको यस किसिमको देश र जनताप्रतिको उत्तरदायीपूर्ण कार्यको संसद्वादी दल र नेताहरुले समेत अनुसरण गर्नुपर्दछ । जसबाट देशमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रणमा लिई जनजीवनलाई सहज बनाउन सकिन्छ ।

तसर्थ, यतिबेला देश र जनतालाई कोरोना आतंकबाट मुक्त पार्न सम्पूर्ण क्रान्तिकारी, प्रगतिशील, लोकतन्त्रवादी, राष्ट्रवादीलगायत संसद्वादी दल र नेताहरुसमेत एकजुट भएर सहकार्यमा लाग्नु अनिवार्य भएको छ भने सरकारले पनि तमाम राजनीतिक दल, नेतालगायत तमाम तह र तप्कासँग हातेमालो गर्दै कोरोना संक्रमणविरुद्ध लाग्नु अनिवार्य भएको छ । अन्यथा कोरोना महामारीले देश र जनतालाई धराशयी बनाउने निश्चित छ । यस्तो अवस्थामा देश र जनताको रक्षार्थ खट्न नसक्ने राजनीतिक दल र नेतालाई जनताले कदापि माफ गर्ने छैनन् । जुन राजनीतिक दल, नेता र सरकार जनताको रक्षा गर्न कम्मर कसेर लाग्छ, उसैलाई जनताले साथ र सहयोग गर्छन् । जनताको साथ र सहयोग नपाएका राजनीतिक दल र नेताहरुको भविष्य कस्तो हुन्छ, आपूmलाई लोकतन्त्रको ठेकेदार ठान्ने र मान्ने राजनीतिक दल र नेताहरुलाई सम्झाइरहनु नपर्ला, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु