नेकपा सिन्धुपाल्चोक कोरोना महामारीविरुद्ध जनसेवामा क्रियाशील

२०७८ जेष्ठ १ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक कोरोना सङ्क्रमण महामारीविरुद्ध जनसेवामा क्रियाशील भएको छ । सो पार्टीका सेक्रेटरी युगीनले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारीको सामना गर्न जिल्लाका सबै सरोकारवाला निकाय, सङ्घसंस्था, बुद्धिजीवी, राजनीतिक दल, स्वास्थ्यकर्मी र नागरिकसँग समन्वय, सहकार्य गरी कोरोना बिरामीलाई उपचारमा सहजीकरण गर्ने, सचेतना जगाउने काममा सहभागी हुने र जनसेवक टिम निर्माण गरी सहयोग गर्ने जनाएका छन् ।
युगीनले भनेका छन्, ‘अहिले विश्व महामारीका रूपमा रहेको भाइरसले विश्व मानवजाति नै सङ्कटमा परिरहेको सर्वविदितै छ । यो भाइरसको महामारी दलाल पुँजीवादी व्यवस्था र राजनीतिक सङ्कटले निम्त्याएको स्वास्थ्य सङ्कट हो भन्नेमा हामी स्पष्ट रहेका छौँ । कोरोना भाइरसको भयावह स्थितिमा पनि दलाल पुँजीवादी देशहरू मानवताभन्दा आफ्नो नाफामा केन्द्रित भइरहेका छन् ।’
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो परिस्थितिमा कोरोना सङ्क्रमित र कोरोनाबाट आजित नेपाली नागरिकको उपचार व्यवस्थालाई प्रभावकारी, पर्याप्त, सहज र व्यवस्थित बनाउन हाम्रो पार्टी राज्य तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । यसप्रकारको महामारीको सामना गर्न जिल्लाका सबै सरोकारवाला निकाय, सङ्घसंस्था, बुद्धिजीवी, राजनीतिक दल, स्वास्थ्यकर्मी र नागरिकसँग समन्वय, सहकार्य गरी कोरोना बिरामीलाई उपचारमा सहजीकरण गर्ने, सचेतना जगाउने काममा सहभागी हुने र जिल्लाको आवश्यकताअनुसार जनसेवक टिम निर्माण गरी सहयोग गर्ने अवगत गराउन चाहन्छौँ । साथै कोरोना महामारीबाट बच्न सबै नागरिक हतोत्साहित नभएर उच्च मनोबलका साथ एकले अर्कोलाई सहयोग, सल्लाह, सुझाव दिँदै र स्वास्थ्यको मापदण्ड पालना गर्न, सचेत र सुरक्षित रहन अपिल गर्दछौँ ।’

प्रतिक्रियाहरु