इजरायल र प्यालेष्टाइनबीचको हिंसात्मक गतिविधि उत्कर्षमा

२०७८ बैशाख २९ गते, बुधबार


काठमाडौँ । इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधि उत्कर्षमा पुगेको छ । पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरुलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरिएको बताइएको छ ।
प्यालेष्टाइनी लडाकु समुह हमास र इजरायली सेना बीच जारी हिंसाकै क्रममा भएका रकेट र हवाई आक्रमणमा दुवैतर्फ गरि ३१ जनाको मृत्यु भएको छ । प्यालेष्टाइन तर्फ २८ र इजरायल तर्फ ३ जनाको मृत्यु भएको हो । २ सय बढी घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले सीमा रेखा नाघेका प्रतिक्रिया दिंदै यसको मुल्य चुकाउनुपर्ने चेतावनी दिए । तर हमासले भने इजरायलले जबरजस्ती रुपमा आक्रमण गरेको भन्दै प्रतिकार गर्ने जवाफ दिएको छ । इजरायल र प्यालेस्टाइनबीच पछिल्ला समय जेरुसलममा रहेको प्रख्यात अल अक्सा मस्जिदमाथि दाबीको विषयले हिंसा चुलिएको हो । इजरायलले पनि सो मस्जिद आफुहरुको पवित्र धार्मिक स्थल दाबी गरेपछि यही मस्जिदको बिषयमा दुई देशबीच तनाब बढेको हो । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु